‘बेरोजगारीको समस्या समाधान गरेको हामीले हो’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बेरोजगारीको समस्या समाधान गरेको हामीले हो’

रोहन गुरुङ

काठमाडौँ — देशको बेरोजगारी समस्या समाधान गरेर आफ्नो पेसा व्यवसाय पनि गरिरहेका व्यवसायीलाई मेरो साधुवाद छ । तर तिनै व्यवसायीलाई कतिपयले मानव तस्करको बिल्ला भिराइदिएका छन् । हामी ८ सय ५३ वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन २०६४ अन्तर्गत रहेर कामदार आपूर्ति गरिरहेका छौं ।

विकसित मुलुकमा गैरकानुनी मानव तस्करी गर्ने काममा हाम्रा व्यवसायी साथी आबद्ध छैनन् । राज्यलाई शंका लाग्छ भने कडा किसिमले छानबिन गरोस्, यसमा हाम्रो पूर्ण सहयोग रहन्छ । विशेषगरी खाडी मुलुक र मलेसियामा हामीले बढी कामदार पठाउने गरेका छौं । ती देशमा भारत, बंगलादेश, पाकिस्तान, नेपाल र केही मात्रामा श्रीलंकाबाट पनि कामदार जान्छन् । अलि दक्ष कामदार फिलिपिन्स, इन्डोनेसिया, भियतनामबाट पनि जान्छन् । अफ्रिकाका ५/७ वटा मुलुकबाट पनि कामदार आउँछन् ।

२०७२ साल असार २१ बाट लागू भएको वैदेशिक रोजगार ऐन २०६४ को दफा २४ ले नेपाल सरकारले कुनै मुलुक वा कुनै कम्पनीका लागि अधिकतम सेवा शुल्क तोक्न सक्ने उल्लेख गरेको छ । २०७५ सालबाट वैदेशिक रोजगार ऐन संशोधन भयो ।

२०७१/७२ मा ५ लाख १२ हजार ८ सय ८७ जनाले वैदेशिक रोजगारी प्राप्त गरेका थिए । त्यो संख्या घट्दै आएर २०७४/७५ मा ५४ हजार ८२ जनाले मात्रै रोजगारी प्राप्त गरे । फ्री भिसा, फ्री टिकटले जहाँ फ्री भिसा दिनुपर्दैन, त्यतातिर रोजगारीमा जाने धेरै भए । दोस्रो कुरा, मागपत्र प्रमाणीकरण अनिवार्य गर्ने निर्णय २०७५ सालमा भयो । घटेको संख्या छँदै थियो, त्यसमा पनि २०७५/७६ मा २ लाख ३६ हजार २ सय ११ मा झर्‍यो ।

मागपत्र प्राप्त भएपछि वैदेशिक रोजगार विभागअन्तर्गतको काठमाडौं कार्यालयमा पनि दुई तगारा छन् । एउटा हो, पूर्वस्वीकृतिको तगारो । त्यहाँ पनि ज्यू, हजुर, गुहार/गुहार भन्नुपर्छ । त्यसपछि मात्रै भिसा प्राप्त हुन्छ । अन्तिम स्वीकृत लिँदा पनि हजुर भन्नुपर्छ । अचम्मको कुरा एयरपोर्टमा श्रम कर भनेर राखिएको छ । २०७४ सालअगाडि पासपोर्टको अन्तिम पेजमा कामदारको स्टिकर राख्ने चलन थियो । हामीसँग सफ्टवेयर प्रणाली थिएन । सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि श्रम डेस्कमा छाप लगाउने नाममा अनेक दु:ख दिइन्छ ।

कागज नपुगेको बहानामा अनेक दु:ख दिइन्छ, जुन कागज अनलाइनमा स्पष्ट देखिएको हुन्छ । सहसचिवस्तरको कार्यालय प्रमुखले दिएको स्वीकृति सुब्बाले रोकेको हुन्छ । अन्तिम अवस्थामा तपाईंको यो भएन/त्यो भएन भन्दै म्यानपावर कम्पनीलाई फोन गर्छन् । हामीले गौंडा/गाैंडामा १०/१५/२० हजार रुपैयाँका दरले पैसा तिर्नुपर्छ । यो भ्रष्टाचार हो, यसको अन्त्य हुनैपर्छ । अनि मात्र व्यवसायीले लिने खर्चमा कमी आउँछ ।

हामी व्यवसायीबाट पनि कमीकमजोरी वा त्रुटि भए होलान् । बाध्यात्मक कारणले त्यस्तो भएको हुन सक्छ । त्यसैले नीतिनियम संशोधन गराैं । बेरोजगारीको समस्या समाधान गरेको पनि हामीले नै हो, यसलाई तपाईंहरूले स्विकार्नुपर्छ ।

(नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष गुरुङले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १६, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

‘धेरै बिगारेकै एजेन्ट भनाउँदाहरूले हो’

उदयराज पाण्डे

काठमाडौँ — नेपाली जाने ठूलो संख्या खाडी मुलुक र मलेसिया हो । साउदीमा राजदूत भएर चार र मलेसियामा तीन वर्ष काम गरें । साउदीमा हुँदा ओमन र बहराइन पनि हेरें । त्यहाँको सरकार र ठूूला प्रतिष्ठित व्यापारीहरुको भनाइ छ- श्रमिकलाई आर्थिक भार पर्न दिँदैनौं । मलेसियाले ‘रेस्पोन्सिबल एलाएन्स’ भनेर सिस्टम नै बनायो ।

मानौं, कुनै कामदार जनकपुरबाट काठमाडौं आउँछ । तालिम लिन्छ । जान्छ भने सबै प्रोसेसको ‘रिफन्ड’ गरिन्छ । श्रमिकलाई जुन म्यानपावरले सहजीकरण गर्छ, उसलाई एउटा आकर्षक कमिसन दिइन्छ । बीचमा श्रमिकसँग पैसा लिएको थाहा भयो भने साउदीमा सरकारले कारबाही गर्छ । हिजो यसरी रकम लिएकाहरुले अहिले फिर्ता गरिरहेका उदाहरण पनि छन् ।

तर म्यानपावरका मान्छेले धेरै पैसा भएर कहाँ खर्च गरौं भनेर ठाउँ नपाएर कार्यालय खोलेका होइनन् । व्यवसाय सुरु गरेका पनि होइनन् । उनीहरुलाई पनि पैसा कमाउनुपर्छ । उनीहरु पनि बाँच्नुपर्‍यो । नेपालमा म्यानपावरको व्यवसाय निजी पहलमा सुरु भएको हो । सरकारले खोजेर लगानी गरिदिएको होइन । यसबाट जति पनि नेपाललाई फाइदा पुगेको छ, त्यसको ९० प्रतिशत श्रेय तिनै व्यवसायीले लिनु पर्छ । जसरी मान्छेले दु:ख पाउँदा ९० प्रतिशत त्यसको अपजस पनि उनीहरुमाथि गइरहेको छ । यसमा दुई कुरा मात्र सुधारे हुन्छ । जुनजुन देशसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ, त्यहाँ प्रस्ट रूपमा एक महिनाको पारिश्रमिक म्यानपावर कम्पनीलाई सर्भिस चार्जबापत दिनुपर्छ भन्ने उल्लेख गर्नुपर्छ । केही ठाउँमा यो सुरु भइसकेको छ । व्यवसायी पनि यसमा सहमत छन् ।

अर्को कुरा, बीचका एजेन्टहरुलाई हटाउने कुुरामा सबैले भूमिका खेल्नुपर्छ । धेरै बिगारेको एजेन्ट भनाउँदाहरुले नै हो ।

जुन देशमा श्रमिक दु:खमा परेका छन्, त्यही देशको सरकारसँग पत्राचार गरी वार्ता गरेर त्यहाँको सरकारले त्यो व्यापारीसँग प्रश्न उठाएपछि समस्या समाधान हुन्छ । दुई प्रतिशतजस्तो चाहिँ एउटा अटेर गर्नेहरु र अर्को कहिलेकाहीँ साँच्चिकै कम्पनी समस्यामा पर्छन् । मानौं, कम्पनी टाट पल्टियो, कामदारको तीन महिनाको तलब बाँकी छ, उसले दिन सक्दैन । उसले टाट पल्टिएको घोषणा गरिसकेको हुन्छ । मजदुर त्यही ठाउँमा छ र उसलाई के खाने, कहाँ बस्ने भन्ने समस्या हुन्छ । यस्तो अवस्थामा विभिन्न दातासंस्थासँग गुुहारेर सहयोग गर्न सकिन्छ ।

कोभिड फैलिएपछि मलेसियामा ठूलो समस्या भयो । हामीले १०/१२ हजार दिएर खाने बस्ने प्रबन्ध केही समय गर्नुपर्‍यो । ६/७ सय नेपालीलाई नेपाल ल्याउनुपर्‍यो, जोसँग टिकट किन्ने पैसासमेत थिएन । हामीले त्यो व्यवस्थापन गर्‍यौं । त्यो क्रम अहिले पनि जारी छ । यसमा दुई कारण छन् । एउटा सम्बन्धित कामदार नै आफ्नो कार्यक्षेत्र छाडेर अन्यत्र गएकाले उनीहरु सरकारको अभिलेखमा छैनन् । उसका लागि कसैले बेहोर्दैन ।

(पूर्वराजदूत पाण्डेले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १६, २०७८ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×