‘संसदीय श्रम समितिले महिलालाई विदेश जान तगारो मात्र तेर्स्याउने हो कि नियम पनि बनाउने ?’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संसदीय श्रम समितिले महिलालाई विदेश जान तगारो मात्र तेर्स्याउने हो कि नियम पनि बनाउने ?’

मीना पौडेल

काठमाडौँ — सबैभन्दा पहिला वैदेशिक रोजगारीमा जाने महिलालाई ‘ती महिला पनि नेपाली समाजकै हुन्’ भनेर सम्झनुपर्छ । वैदेशिक रोजगारबाट आएको भन्नेबित्तिकै तिनीहरू अर्को हुन्, अन्तैबाट आएका हुन् वा तिनीहरू विशेष हुन् भनेर बुझ्नु भएन । तिनीहरूका समस्या नै हुँदैनन् या तिनीहरूको समस्या बढी हुन्छ भनेर फरक ढंगले हेर्नु हुँदैन ।

धेरैजसो महिला अनौपचारिक क्षेत्रबाट विदेश जान्छन् र अनौपचारिक क्षेत्रमै काम गर्छन् । मूल रूपमा भारत र भारत हुँदै अन्य मुलुकमा जान्छन् । अनुसन्धान गर्दा धेरैजसो महिला पुरुषको जस्तो कारणले विदेशिएको देखिएको छैन । उनीहरू घरेलु हिंसाबाट पीडित भएर र अरू केही विकल्प नभएर घर छाड्न बाध्य पनि हुन्छन् । अर्को कारण, पैसा कमाउनु त हो नै । किनभने आफूसँगै छोराछोरी पाल्नु पनि पर्‍यो । घरलाई पनि सहयोग गर्नुपर्‍यो । भारत हुँदै तेस्रो मुुलुक लगिने महिलाको ट्राभल डकुमेन्ट हुँदैन । वैदेशिक रोजगार विभाग, नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले दिने डकुमेन्ट हुँदैन ।

त्यसकारण अनुसन्धानले के देखाउँछ भने, महिलाको दृष्टिमा वैदेशिक रोजगार व्यवसायी राज्यबाट लाइसेन्स प्राप्त मानव तस्कर हुन् । ट्राभल डकुमेन्ट नहुने, लुकीछिपी दलालको भर परेर बाँच्नका लागि जसरी भए पनि लगिदेऊ भनेर आत्मसमर्पण गरेपछि दलालले गर्ने शोषण हो ।

महिलाहरू घरबाट निस्किनुअघि नै ब्ल्याकमेलिङ सुरु हुन्छ । महिलाहरू कहाँ जाने अत्तोपत्तो हुँदैन, गन्तव्यसम्म पुग्ने अत्तोपत्तो हुँदैन । दलालले कहाँसम्म पुर्‍याइदिने हो, थाहा हुँदैन । के गर्ने भनेको के गराइदिन्छ । के स्थिति भनेको के हुन्छ, त्यो कल्पना गरेर साध्य नै हुँदैन । अर्को समस्या राज्यले गर्न सक्ने तर नगरेको नीतिगत कुरा हो । संरचनागत रूपमा नेपाली समाजको चरित्रको कुरा गरेकी हुँ मैले । त्यसमा सामाजिक, सांस्कृतिक, आर्थिक, मानवीय थुप्रै कुरा जोडिएका छन् । त्यसलाई वैदेशिक रोजगार व्यवसायी संघले पनि सम्बोधन गर्न सक्दैन । हाम्रो विभाग र मन्त्रालय एक्लैले गर्न सक्ने कुरा पनि होइन । त्यो विशेष राजनीतिक मुद्दा हो ।

संसदन्तर्गत श्रम समितिले सात सर्त तेस्र्याइदिएको छ । त्यो तगारो सुधारका निम्ति नभई महिलाहरूलाई बिचौलियाको जिम्मा लगाउने माध्यम बनिदियो । यो गर्दा पनि हुँदैन, यसो नगरी नपठाऊ, उसो नगरी पनि नपठाऊ भन्ने किसिमको व्यवस्था छ त्यहाँ । महिलाहरूले कस्ता किसिमका समस्या भोगिरहेका छन्, कस्ता किसिमका समस्याबाट उनीहरू गुज्रिरहेका छन् । उनीहरूलाई कस्तो किसिमको सहयोग गर्नुपर्छ भन्नेमा कसैले वास्ता गरेको छैन । धेरैजसो दूतावास यी पक्षलाई सम्बोधन गर्ने पक्षमा छैनन् । हामीले कस्तो किसिमको नीति ल्याउँदै छौं, कस्तो किसिमको नीति प्रस्ताव गरेका छौं, महिला एवम् सीमान्तकृत समुदायले फी तिर्न सक्दैनन् । टिकटको शुल्क तिर्न सक्दैनन् । अनि दलालको पछि लाग्ने बाध्यात्मक अवस्था हुन्छ । लालपुर्जा दलाललाई दिएर जसरी पनि विदेश पुर्‍यादेऊ भन्नुपर्ने अवस्था छ ।

महिलाहरूलाई केन्द्रमा राखेर हेर्दा हामीसँग माइग्रेसन नीति नै छैन । माइग्रेसन नीतिबिनै ३० वर्षदेखि रेमिट्यान्सले देश धानिरहेको छ । अहिले भइरहेको ऐन सिंहदरबारमा मात्रै छ । यस विषयलाई लिएर श्रम र महिला मन्त्रालयबीच छलफल नै हुँदैन । भद्रगोल स्थितिमा महिला श्रमिकलाई कसरी बाटो सजिलो सम्भव गराउन सक्छौं ?

गन्तव्य मुलुकहरूको आर्थिक अवस्था वृद्धि भइरहेको छ । विकास प्रक्रिया अगाडि बढिरहेको छ । उनीहरूले फड्को मारिरहेका छन्, हाम्रो जस्तो श्रमिक अझै चाहिन्छ । महिला श्रमिक पनि चाहिन्छ । सेवामूलक क्षेत्रमा महिला श्रमिक पनि चाहिन्छ । महिला श्रमिकलाई नियन्त्रण गर्न सजिलो हुन्छ । शोषण गर्न सजिलो हुन्छ । कम ज्यालामा काम लगाउन सजिलो हुन्छ । किनभने हामी बाध्यात्मक अवस्थाबाट विदेशिइरहेका छौं । सही बाटो वा औपचारिक बाटोबाट महिलालाई रोजगारीमा पठाउन सकिँदैन । किनभने श्रम समितिले ७ विभिन्न तगारा लगाएर रोक लगाइदिएको छ । मन्त्रालयले गर्न सक्ने हो कि होइन, त्यो पनि प्रस्ट छैन । त्यसपछि मात्र मानव तस्करले महिला तस्करी गर्ने जिम्मा पाएका हुन् ।

श्रम समितिले रोक्ने तर विदेशमा माग बढ्ने अनि यता रोजीरोटीको समस्या बढ्ने अवस्था रह्यो । त्यसपछि मात्र हिंसाबाट बच्न महिलाहरू फेरि पनि ठोकिने भनेकै मानव बेचबिखन तस्करसँग नै हो । जसरी पनि लगिदेऊ भन्नुपर्छ ।म सोध्छु– संसद्ले तगारो मात्रै तेर्स्याउने कि सरकारलाई यस्तो–यस्तो नियम बनाउनुपर्छ भनेर नियमका मस्यौदा पनि बनाउने ?

(आप्रवासनविद् पौडेलले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १६, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

सन् २०२१ : नेपाली पत्रकारिताका लागि चुनौतीपूर्ण वर्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्‌का घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११:०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्‌का घटना भएका छन् । ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।

समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको छ ।

विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका छन् । यो वर्ष सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ । संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको शपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ ।

त्यस्तै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ ।

कोरोना महामारीको बहाना पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ । यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको छ ।

२०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्म भएका प्रेस स्वतन्त्रता हनन्का घटनाहरूः–

घटनाको प्रकृति संख्या पीडित संख्या पुरुष पीडित संख्या महिला संचारमाध्यम

१ गिरफ्तारी ४ ९ १

२ कब्जा/अवरोध १० ३० ५ १

३ धम्की ÷दुव्र्यवहार ३२ ३९ ३ ३

४ आक्रमण ५ ५

५ पेशागत असुरक्षा १० ९१ ७

६ नीतिगत बन्देज १

जम्मा घटना ६२ १७४ १६ ४

जम्मा पीडित १९४ पत्रकार तथा सञ्चारमाध्यम

स्रोत नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखा ।

प्रकाशित : पुस १६, २०७८ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×