कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

चार्जिङ स्टेसन सञ्चालनमा आए पनि चलेनन् विद्युतीय बस

नर्मल चार्जरले ७ किलोवाट क्षमताका सवारीसाधन चार्ज गर्छन् । क्विक चार्जरबाट भने ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका दुईवटा मिनी बस एकै पटक चार्ज गर्न पनि सकिन्छ ।
मनोज पौडेल

लुम्बिनी — लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । स्टेसनबाट परीक्षण उत्पादन सफल भएसँगै स्टेसन सञ्चालन भएको हो । सोलारबाट बिजुली उत्पादन गरेर सञ्चालित विद्युतीय बस चार्जिङ स्टेसन नेपालको सबैभन्दा ठूलो हो । निर्माण पूरा भए पनि कोरोना संक्रमणका कारण रोकिएको चार्जिङ स्टेसन चार जापानी प्राविधिकले एक महिनासम्म निरन्तर काम गरेर सञ्चालनमा ल्याएका हुन् ।

चार्जिङ स्टेसन सञ्चालनमा आए पनि चलेनन् विद्युतीय बस

‘सिस्टम चेकिङ, टेस्टिङ र कमिसनिङ पूर्ण रूपमा सफल भयो,’ जापानको इसाका इलेक्ट्रिक कम्पनीका प्रबन्ध निर्देशक टाडोयोसी ओकासावाराले भने, ‘त्यसपछि सञ्चालनमा ल्याएका हौं ।’ चार्जिङ स्टेसन लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ । जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले कोषका सदस्य–सचिव सानुराजा शाक्य र योजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरे । स्थानीय स्तरमा सञ्चालित इलेक्ट्रिक रिक्सा (टुकटुक) यहाँ चार्ज गर्न आउन थालेका छन् ।

अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र नजिकै पावर हाउस निर्माण गरिएको छ । १ सय ६० मिटर बाई ८० मिटर लम्बाइ चौडाइको क्षेत्रमा पावर हाउस नजिकै कन्ट्रोल रुम (इलेक्ट्रिकल भवन) छ । पावर हाउस र भवनका उपकरणबीच भूमिगत तार बिछ्याएर कनेक्सन जोडिएको छ । कन्ट्रोल रुममा जापानको निचिकोन कम्पनीका ५०/५० केभिएका दुई वटा इन्भर्टर छन् । ६० वटा कोरियन लिथेमाइन ब्याट्री छन् । सबै ब्याट्रीको क्षमता ३ सय ६० किलोवाट पर आवर स्टोरेज क्षमता छ ।

सोलारले उत्पादन गरेको डीसी बिजुलीलाई कन्ट्रोल रुममा रहेको ५०/५० केभीए र एउटा सय केभीए ट्रान्सफर्मरले एसी बिजुली बनाएर चार्जिङ स्टेसनमा पठाउँछ । लुम्बिनी–तौलिहवा सडकखण्डको पूर्वी क्षेत्रतिर निर्माणाधीन अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र नजिकै पावर हाउस छ । चार्जिङ स्टेसन भने उक्त सडक खण्डको २ नम्बर गेटसँगै सटेर उत्तरतिर छ । पावर हाउसदेखि चार्जिङ स्टेसनसम्म ६ सय मिटर भूमिगत तार बिछ्याएर कनेक्सन जोडिएको छ ।

नेपालकै सबैभन्दा ठूलो सौर्य पावर हाउस

२ सय ६० वाटका ४४ वटा सोलार प्यानल जाडेर एउटा प्यानल बनाइएको छ । त्यस्ता प्यानल १२ वटा छन् । त्यस्तै ३२ वटा प्यानलका २ वटा ठूला प्यानल बनाइएको छ । ती सबै प्यानललाई जमिनमा गाडेर आरसीसी ढलानसँग जोडिएको छ । सबै गरेर २ सय ६० वाटका ५ सय ९४ सोलार जडान गरिएको छ । यो पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यो मुलुककै सबैभन्दा ठूलो सोलार चार्जर स्टेसन हो ।

पावर हाउसका लागि सोलार प्यानल जापानबाट, स्ट्रक्चरका सामान चीन र जंसन बक्स (पावर कन्ट्रोल र सप्लाई गर्ने उपकरण) इटालीबाट आयात गरिएको हो । सोलारबाट यो नेपालकै सबैभन्दा धेरै विद्युत् उत्पादन हुने स्टेसन भएको जापानको इसाका इलेक्ट्रिक कम्पनीका इलेक्ट्रिक इन्जिनियर केन्जी नाकाउले बताए । ‘यहाँबाट उत्पादित बिजुली पूरै खपत नभए विद्युत् प्राधिकरणलाई दिइने योजना छ,’ उनले भने, ‘एक वर्षसम्म निःशुल्क दिने प्रावधान छ । त्यसपछि ऊर्जा मन्त्रालयको समन्वयमा सम्झौता गरेर बेच्न सकिन्छ ।’ त्यसका लागि स्टेसनमा २ सय ५० केभीएका ट्रान्सफर्मर लगाइएको छ ।

‘विद्युत् प्राधिकरणको ११ हजार भोल्टको ग्रिडमा कनेक्सन जोडेर परीक्षण गरिसक्यौं,’ नाकाउले भने । त्यहाँ एउटा टीओडी मिटर पनि राखिएको छ । मिटरमा सोलारबाट कति युनिट बिजुली प्राधिकरणलाई दिइयो र सोलार चार्ज नभएका बेला प्राधिकरणबाट कति युनिट बिजुली लिइयो भन्ने रिडिङ देखाउँछ ।

यहाँ १६ वटा गाडी चार्जर स्ट्यान्ड रहेको इलेक्ट्रिकल इन्जिनियर सुमित अधिकारीले बताए । यिनमा १३ वटा नर्मल चार्जर छन्, जसले ७ किलोवाट क्षमताका सवारीसाधन चार्ज गर्छ । ३ वटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका दुईवटा मिनी बस एकैपटक क्विक चार्ज गर्न सकिन्छ । क्विक चार्जबाट फुल चार्ज हुन डेढदेखि दुई घण्टा लाग्छ । त्यही ७५ इलेक्ट्रिक रिक्सा (टुकटुक) चार्ज हुने प्वाइन्ट पनि राखिएका छन् । लुम्बिनी विकास कोष कार्यालयअघि एउटा गाडी चार्जर जोडिएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नौवटा चार्जिङ प्वाइन्ट राखिएको छ । ८० किलोवाट क्षमताका बस र कारका लागि एउटा र ४० किलोवाट क्षमताका सवारीसाधनका लागि ८ चार्जर राखिएको छ ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत चार्जिङ स्टेसन बनाइएको हो । बैंकको सहयोगमा जापानको इसाका इलेक्ट्रिक कम्पनीले पावर हाउस निर्माण गरेको हो । १३ करोड लागत इस्टिमेट गरिएको थियो । तर काममा भएको ढिलाइ र चार्जिङ स्टेसनको ठाउँ परिवर्तन हुँदा लागत बढेको छ ।

‘प्रधानमन्त्री कार्यालयले निर्माणको काम रोक्दा र कोरोना भाइरस संक्रमणले झन्डै एक/डेढ वर्ष ढिलो भयो,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक भट्टराईले भने । सन् २०१८ को डिसेम्बरमा सुरु भई २०१९ को अप्रिलमा निर्माण पूरा गर्ने लक्ष्य थियो । ‘बिजुली चार्जिङ स्टेसनको काम सम्पन्न भयो,’ जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार थापाले भने, ‘अब लुम्बिनीमा बिजुली बस चढ्ने चाहना पूरा हुने भयो ।’

तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारी साधन विस्थापित गर्ने योजनाअनुसार चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘विकासमा वामे सर्दै गरेको लुम्बिनीवासीका लागि यो खुसी कुरा हो,’ लुम्बिनी क्षेत्रबाट निर्वाचित प्रदेश सभासद् फखरुद्दिन खाँले भने, ‘अब भने जनतामा उत्साह थपिएको छ । आयआर्जन र रोगजारी बढाउँछ । बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि सघाउ पुग्ने हुँदा यसको स्थायित्वका लागि लाग्नुपर्ने उनको भनाइ छ ।

लुम्बिनीलाई प्रदूषणरहित बनाउन ल्याइएको बिजुली बस भने चल्न पाएका छैनन् । सुरुमा सम्झौता अनुसारका बस नभएपछि पर्यटन मन्त्रालयले लिन मानेन । त्यसपछि नयाँ ल्याइएका ५ बस र १४ जिप भ्यान एक वर्ष बढीदेखि दुई नम्बर गेटअघि खुला आकाशमुनि थन्किएका छन् । लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी पर्यटकलाई यातायातको सुविधा दिन प्राप्त सवारीसाधन थन्काएर राख्दा नराम्रो सन्देश गइरहेको लुम्बिनी होटल संघ वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए ।

कोषले कार्यविधि बनाएर सवारीसाधान सञ्चालन गर्न तीन महिनाअघि नै टेन्डर गर्ने निर्णय गरे पनि अझै सूचना निकाल्न सकेको छैन । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडको लागतमा ट्याक्सी र बस भित्रिएका हुन् । विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ओसारप्रसार गर्न प्रयोग गरिने बताइएको छ । लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र आवतजावतका लागि सजिलो बनाउन ट्याक्सी र बस सञ्चालन गर्न पठाइएको हो ।

प्रकाशित : पुस १६, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×