कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पोखरा चौबिसै घण्टा खोल्ने तयारी

होटल, रेस्टुरेन्ट बन्द गर्न नजान प्रहरीलाई निर्देशन
दीपक परियार

पोखरा — गृहमन्त्री बालकृष्ण खाँणले पोखराको पर्यटन व्यवसाय चौबिसै घण्टा खोल्ने तयारी गरेको बताएका छन् । २३औं पोखरा सडक महोत्सव उद्घाटन गर्दै बिहीबार उनले देशका अन्य भूभागमा पनि चौबिसै घण्टा व्यवसाय खोल्न दिने आफ्नो चाहना रहेको धारणा राखे ।

पोखरा चौबिसै घण्टा खोल्ने तयारी

‘रेस्टुरेन्टलाई चौबिसै घण्टा खोल्न दिने खालको प्रबन्ध पोखराबाटै होस् भन्ने मेरो चाहना छ । त्यसमा व्यवसायीकै सबैभन्दा ठूलो सहयोग हुन्छ,’ उनले भने, ‘पोखराका व्यवसायीको साथमा सरकार छ । होटल, रेस्टुरेन्ट व्यवसायी, लगानीकर्ता, कर्मचारी मजदूरको साथमा सरकार छ, त्यही कुराको जनाउ दिन म पोखरा आएको हुँ ।’

कहाँ कहाँ २४ घण्टा खुल्ने रेस्टुरेन्ट चलाउने भन्ने व्यवसायीले नै तय गर्नुपर्ने उनको भनाइ छ । नजिकका स्थानीयले अवरोध नगर्ने गरी ठाउँ छुटयाउन उनले व्यवसायीलाई आग्रह गरे । रातभर व्यवसाय खोल्ने वातावरण बनाउन जनप्रतिनिधिले स्थानीयलाई मनाउन भूमिका खेल्नुपर्ने उनले बताए । तत्काल बैठक डाकेर पोखरामा २४ घण्टा रेस्टुरेन्ट खोल्ने ठाउँ तोक्न कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

कहाँकहाँ चौबिसै घण्टा होटल, रेस्टुराँ खोल्न सकिन्छ भन्नेबारे अध्ययन गर्न गृह मन्त्रालयमा सहसचिव फणीन्द्र पोखरेलको संयोजकत्वमा कार्यदल बनेको र त्यसले आफ्नो तयारी गरिरहेको उनले जानकारी दिए । प्रहरी प्रशासनलाई पनि सहयोगी भूमिका निर्वाह गर्न उनले कार्यक्रममार्फत नै निर्देशन दिए ।

‘रेस्टुरेन्ट र होटललाई बन्द गर्न तपाईंहरु जाने होइन,’ उनले भने, ‘त्यहाँको शान्ति सुरक्षा खलल भयो, होटलका मजदुर, कर्मचारी, लगानीकर्तामाथि अभद्र व्यवहार भयो वा उनीहरुको सुरक्षाको आवश्यकता भयो भने पुग्नुहोला ।’ होटल रेस्टुरेन्टमा गएर प्रहरीले व्यवसायीलाई दु:ख दिने या जबर्जस्ती बन्द गराउने काम नगर्न उनले निर्देशन दिए । फेवातालको जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन गम्भीर रुपमा अध्ययन गरेर कार्यान्वयन गर्ने उनको भनाइ छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेको हो । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित शनिबारसम्म गरिने महोत्सव पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुन्छ ।

सहिदचोकदेखि डिहिकोपाटनसम्मको सडकमा यातायात बन्द गरी सडकमै राखिएका रेस्टुरेन्टको मज्जा लिन हजारौं आन्तरिक तथा बाह्य पर्यटक यतिखेर पोखरा आउँछन् ।

प्रकाशित : पुस १५, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?