स्वदेशमै किन अडिँदैनन् युवा ?- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वदेशमै किन अडिँदैनन् युवा ?

विदेशिएका धेरैजसो युवा पैसा कमाएर व्यवसाय, उद्यम गर्ने मानसिकताले फर्किन्छन् तर आफ्नै भूमिमा उनीहरुले सोचेजस्तो सहज हुँदैन । अन्ततः आफैंलाई प्रश्न गर्न थाल्छन्– ‘घरमै बसौं कि फर्की जाऊँ ?’
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘नेपाल आएपछि यहीं केही गर्छु सोचेकी थिएँ । बैंकले विदेशबाट फर्किएकालाई बिनाधितो पैसा दिन्छ भन्ने पनि सुनेकी थिएँ तर दिएनन् । कोटा सकियो भने । विदेशमा कमाएको पैसा सकिएर फेरि ऋण लाग्यो । त्यही ऋण तिर्न भए पनि फेरि विदेश जानैपर्ने भयो ।’

दुबईमा काम गरेर फर्किएकी अरुणा मगर लामाले आफू पुनः विदेशिन बाध्य भएको पीडा सुनाइरहँदा कांग्रेस नेता रमेश लेखक, एमाले उपमहासचिव विष्णु रिमाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन उनीसँगै एउटै मञ्चमा थिए । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘आईएमई माइग्रेसन एन्ड रेमिट समिट–२०२१’ मा बुधबार अरुणाले सुनाएको व्यथा उनको मात्र आवाज थिएन, लाखौं युवाको थियो ।

‘नेपालमा केही गर्न पाए पो, केही गर्ने दिए पो गर्ने ? नपाएपछि फेरि विदेश जानुभन्दा विकल्प भएन,’ आशा मरेको भावमा अरुणाले आफ्नो अनुभव सुनाइरहेकी थिइन् । पहिलो पटक विदेशिँदा काम न म्यानपावर कम्पनीले भनेजस्तो थियो, न उनले सोचेजस्तो सजिलो । ‘तोकिएको भन्दा ४/५ घण्टासम्म थप काम गर्नुपर्थ्यो,’ उनी खुल्दै गइन्, ‘अन्तर्वार्ता लिँदा म्यानपावरले हामीलाई स्कुलमा क्लिनिङको काम भएकाले सजिलै हुन्छ भनेको थियो । हामीले सोचेजस्तो सजिलो कहाँ हुनु ? टायल सफा गर्ने के–के एसिड हुन्थे, त्यसलाई चलाउँदा–चलाउँदा हातमा प्वाल पर्थ्यो ।’


विदेश पुगिसकेपछि गाह्रो काम भए पनि केही पैसा कमाएरै फर्किने सोचिन् उनले । त्यो उनको बाध्यता थियो । ‘आइसकेपछि जस्तो अवस्था भए पनि काम गर्नुपर्थ्यो । काम जानेन भनेर गाली गर्थे, तर बुझेर पनि चुप लाग्थ्यौं,’ उनले थप खुलाइन्, ‘पछि त हामीले आवाज पनि उठायौं तर सुनिएन । काम गर्ने भए गर नत्र निकाल्छौं भन्थे । टर्चर दिन्थे ।’ विदेशिनु नेपाली युवाहरूको रहरभन्दा बढी बाध्यता हो । विदेशिएका धेरैजसो युवा पैसा कमाएर स्वदेशमै व्यवसाय, उद्यम गर्ने मानसकिताले फर्किन्छन् तर आफ्नै भूमिमा उनीहरूले सोचेजस्तो सहज हुँदैन । अन्ततः उनीहरू आफैंलाई प्रश्न गर्न थाल्छन्– ‘घरमै बसौं कि फर्की जाऊँ ?’

अन्तर्राष्ट्रिय श्रम बजारले नेपाली अर्थतन्त्र धानेको सूचकहरू देखाइरहँदा उनीहरूको वास्तविक प्रतिनिधित्व कति हुन्छ भन्ने स्पष्ट छैन । देशको अर्थर्तन्त्र धान्ने आप्रवासी श्रमिकलाई सरकारले कस्तो व्यवहार गरेको छ त ? पूर्वश्रममन्त्रीसमेत रहेका सत्तारूढ कांग्रेस नेता लेखक श्रमिकका मुद्दा कहिल्यै राष्ट्रिय एजेन्डा बन्न नसकेको स्विकार्छन् । ‘सबै राजनीतिक दलले आप्रवासी श्रमिकका मुद्दा राष्ट्रिय एजेन्डाकै रूपमा उठाउनुपर्छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्सले धानेको सत्य हो, तर यो क्षेत्रलाई थप व्यवस्थित गर्न नसके हामी गम्भीर समस्यातर्फ जानेछौं,’ उनले भने ।


एमाले उपमहासचिव रिमाल पनि स्वरोजगार र विदेशी कामदार दुवै विषयमा सरकारका एजेन्डा केन्द्रीकृत हुन नसकेको बताउँछन् । ‘नीतिमा समस्या होइन । कार्यान्वयनमा हुने असमन्वय मुख्य समस्या हो,’ उनले भने, ‘कम ज्याला पाउनु नेपालको समस्या हो । उद्यमशीलता र स्वरोजगार बढाउन सक्यो भने कम आय भएकै कारण विदेशिनु पर्दैन ।’

आप्रवासी कामदारबारे छुटेका विभिन्न विषयलाई वैदेशिक रोजगार ऐन संशोधन गरी समावेश गरिनुपर्नेमा लेखक र रिमाल दुवै नेताले समान धारणा राखे । ‘डेढ दशकअघि बनेको ऐनले अहिलेको श्रम बजारका धेरै कुरा समेट्दैन । यसकारण संशोधन गर्नु आवश्यक छ,’ नेता लेखकले भने, ‘ठीक विषयलाई राखौं । सुधार्न पर्नेलाई सुधारौं । आप्रवासी कामदारले अहिले भोगेका समस्यासँग सम्बन्धित धेरै विषय यो ऐनमा छैनन् ।’

विदेशबाट फर्किसकेपछि श्रमिकलाई नेपालभित्रै बस्ने वातावरण कसरी बनाउने भन्नेबारे सरोकारवाला सबै पक्षको कमजोरी रहेको पनि उनले टिप्पणी गरे । ‘यो सरकार वा अर्को सरकार भन्ने होइन, विदेशबाट फर्किएका कामदारलाई नेपालभित्रै रोक्न हामी सबै सरकार असफल भयौं,’ उनले भने, ‘हामीले सहुलियत ऋण दिने भन्छौं । लाखौंको संख्यामा मान्छे फर्किएका छन्, तर हजारको संख्यामा पनि ऋण दिन सक्दैनौं । उनीहरूले के सीप र कस्तो पुँजी लिएर आए र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी कमजोर छौं ।’


आप्रवासी कामदार र रेमिट्यान्सलाई अर्थतन्त्रको एउटा हिस्साका रूपमा मात्र नभई विभिन्न आयामबाट विश्लेषण गरिनुपर्ने र राष्ट्रिय सरोकारको विषय बनाइनुपर्नेमा उनको जोड थियो ।

यसका उनले तीन उपायसमेत सुझाए । ‘पहिलो, नेपाली श्रमिकलाई सुरक्षित र मर्यादित तरिकाले गन्तव्यमा पुर्‍याउने । दोस्रो, उनीहरूको श्रमको सम्मानको अवस्था सिर्जना गर्ने तथा उचित ज्याला भुक्तानी गर्ने र तेस्रो, फर्किसकेपछि पुनःस्थापना गर्ने वा मर्यादापूर्वक जीवनयापन गर्ने वातावरण बनाउने,’ उनले भने, ‘हामीले श्रमिक पठाउने कुरामा मात्रै जोड दियौं । तर मर्यादित र सुरक्षित रूपमा काम गर्न सकेका छन् वा छैनन् र फर्किसकेपछि कस्तो अवस्थामा जीवनयापन गरिरहेका छन् भन्ने स्पष्ट भएन ।’

नेता रिमालले रोजगारी सिर्जना गर्ने विषय स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम असफल हुनुमा स्थानीय तह जिम्मेवार रहेको उनको भनाइ छ । ‘रोजगारी सिर्जना गर्न स्थानीय सरकार सबैभन्दा नजिकको सरोकारवाला निकाय हो । हामीलाई बढी भएको श्रमिक मात्रै विदेश पठाउने हो,’ उनले भने, ‘हामीलाई सडक बनाउनु छ, तर विदेशी आएर काम गरिरहेका छन् । नेपालका श्रमिक भने विदेश गइरहेका छन् ।’ विदेशमा काम गर्न नेपालमा जस्तो सजिलो नहुने पनि उनले धारणा राखे ।


‘प्रवासमा घरबासमा जस्तै काम पाइन्छ भन्ने सोच्नु हुँदैन । घरमा गरेको काम त्यहाँ गर्ने होइन । त्यसकारण त्यहाँ जानका लागि मानसिक रूपमा पनि तयार हुनुपर्छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले विदेशबाट फर्किएका युवाहरूलाई सजिलैसँग कर्जा उपलब्ध गराउन नसकेको बारे प्रभु बैंकका सीईओ शेरचनले केही सकारात्मक प्रयासहरू भए पनि पर्याप्त नरहेको बताए । ‘उद्यमशीलता विकासका लागि थुप्रै प्रयासहरू भएका छन् । वाणिज्य बैंकहरूले प्रत्येक शाखाबाट कम्तीमा १० वटा सहुलियतपूर्ण कर्जा दिनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘तर यो पर्याप्त छैन ।

प्रकाशित : पुस १५, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

मेडिकल कलेजको दादागिरी : कक्षाबाटै निकालिए विद्यार्थी

‘दोस्रो पिरियडपछि गालीगलौज गर्दै कक्षाबाट निकालियो, अस्पतालको कोठामा राखेर धम्की दिए’
सुदीप कैनी, देवनारायण साह

काठमाडौं, मोरङ — काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई बुधबार कक्षाकोठाबाट निष्कासन गरेर पठनपाठनबाटै वञ्चित गरेका छन् । मुलुकभरका अन्य मेडिकल कलेजमा मंसिर १९ गतेबाटै कक्षा सञ्चालन भए पनि शुल्क विवादका कारण यी दुई कलेजमा शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन ।

नोबेलले बुधबार दोस्रो कक्षापछि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालेको एक विद्यार्थीले जानकारी दिए । ‘अतिरिक्त शुल्क नबुझाए पढ्न दिँदैनौं भनेर कलेज प्रशासनबाट धम्की आइरहेको थियो,’ उनले भने, ‘दोस्रो पिरियडपछि गालीगलौज गर्दै कक्षाबाट निकालियो, अस्पतालको कोठामा राखेर धम्की दिए ।’

विद्यार्थीका अनुसार पुस ११ गतेबाट कक्षा सुरु गरे पनि कलेजले १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा छिर्न पाउने व्यवस्था गरेको थियो । अभिभावकको आग्रहमा तीन दिन पढ्न दिएको कलेजले बुधबारबाट अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठनमै रोक लगाएको हो ।

नोबेलमा एमबीबीएसमा एक सय सिट तोकिएको छ । तीमध्ये ८१ जना चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा अध्ययन गर्ने विद्यार्थी छन् । उनीहरूसँग बढी रकम मागिएको हो । अतिरिक्त शुल्क बुझाएका ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जनालाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालेको र आफूहरूको पठनपाठनमा रोक लगाएको पीडित विद्यार्थीले गुनासो गरे । ‘सुरुमा कलेज प्रशासन फाँटका कर्मचारीले अतिरिक्त शुल्क नबुझाए पठनपाठन हुँदैन भन्नुभयो,’ विद्यार्थीहरूले भने, ‘सम्बन्धन नै खारेज गरिदिए एमबीबीएस पठाउन बन्द गर्ने तर अतिरिक्त शुल्कबिना नपढाउने उहाँहरूको भनाइ थियो ।’ प्रिन्सिपल रामहरि घिमिरेले अतिरिक्त शुल्क नबुझाउनेलाई पढाउन नसक्ने जानकारी गराएर पठनपाठनमा रोक लगाएको विद्यार्थीको भनाइ छ । ‘होस्टल अनिवार्य गरिएको छ, कोठा, बिजुली, इन्टरनेट, खानाको चर्को शुल्क तोकिएको छ,’ एक विद्यार्थीले भने ।

केएमसीले माग्यो २० लाख बढी शुल्क

आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनील शर्मा अतिरिक्त २० लाख बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् । कलेजका प्रिन्सिपल घिमिरे र जनसम्पर्क अधिकृत नारायण दाहाल सम्पर्कमा आउन चाहेनन् ।

बढी शुल्क मागेपछि दुवै मेडिकल कलेजका विद्यार्थीले यसअघि मोरङ र काठमाडौं जिल्ला प्रशासनमा उजुरी दिएका थिए । आयोगले तोकेभन्दा ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै न्यायका लागि अपिल गरेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुस ६ गते कलेज प्रशासन र विद्यार्थी तथा अभिभावकलाई राखेर छलफल गरेका थिए ।

छलफलपछि दाहालले कलेजलाई एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र ११ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए । आयोग र मेडिकल काउन्सिलले अनुगमन गरेर विद्यार्थीको समस्या समाधान गर्नुपर्ने प्रजिअ दाहालको भनाइ छ । ‘अतिरिक्त शुल्क लिएको बिलसहित उजुरी लिएर आए कलेज सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्छौं,’ उनले प्रतिबद्धता जनाए ।

थरीथरी शुल्क असुल्दै केयूका मेडिकल कलेज

काठमाडौं मेडिकल कलेजले पनि बीडीएसका छात्रछात्रालाई कक्षाबाट निकालेर पठनपाठन बन्द गरेको छ । कलेजमा शुल्क विवादको कारण एमबीबीएसको कक्षा सुरु नै भएको छैन । ‘हामीलाई बढी शुल्क नबुझाए कक्षामा छिर्न दिँदैनौं भनिएको छ, पैसा तिर्नेमात्र कक्षाकोठामा पस्न पाउँछन्,’ उनले भने । एक सय जनामध्ये ५ जना विद्यार्थीले मात्र अतिरिक्त शुल्क बुझाएका छन् । अन्य विद्यार्थी आन्दोलनमा छन् । ‘बढी शुल्क बुझाएपछि कलेजको परिचयपत्र दिने रहेछ, त्यो देखाएमात्र गार्डले कक्षामा जान दिन्छन्,’ उनले भने, ‘गार्डबिनै कक्षाकोठामा जान खोजे, कलेज सञ्चालक नै आएर धम्की दिन्छन् ।’

दुवै मेडिकल कलेजका सञ्चालक सुनील शर्मा हुन् । उनी सत्तारूढ कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले विद्यार्थीलाई खुलआम धम्कीसमेत दिँदै आएका छन् । विद्यार्थीले कान्तिपुरलाई उपलब्ध गराएको एक भिडियोमा उनले विश्वविद्यालय, आयोग र जिल्ला प्रशासनको निर्देशन कलेजलाई मान्य नहुने बताएका छन् ।

आयोग र काठमाडौं विश्वविद्यालयले पनि बढी रकम नमाग्न यी कलेजलाई पटक–पटक पत्राचार गरेका छन् । कलेजले अटेरी गरेपछि काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सेज डिन कार्यालयले आयोगलाई पत्राचार गरेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

डिन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश माकाजुले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने अधिकार आयोगलाई भएकाले कारबाहीको सिफारिस गर्न पत्राचार गरिएको बताए । तोकेभन्दा बढी शुल्क लिए वा आयोगको निर्देशन उल्लंघन गरे कलेजलाई सम्बन्धन खारेजीको कारबाही गर्न सकिने व्यवस्था चिकित्सा शिक्षा ऐनमा छ । शुल्क विवादका कारण पठनपाठन सुरु हुन नसकेका कलेजलाई कारबाही हुनुपर्ने विद्यार्थीको माग छ । काठमाडौं विश्वविद्यालयले पनि कारबाही थाल्न आयोगलाई आग्रह गरेको हो ।

प्रकाशित : पुस १५, २०७८ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×