कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तंग्रिँदै धुलिखेलको पर्यटन

पर्यटकको चापले उत्साहित व्यवसायी कोही सेवा थप्दै, कोही लगानी

काभ्रे — कोरोना महामारी केही मत्थर भएपछि धुलिखेलको पर्यटन व्यवसाय तंग्रिँदै गएको छ । पर्यटकको चाप बढेपछि उत्साही व्यवसायीले सेवा र लगानी थप्दै गएका छन् । कोरोना संक्रमणका कारण केही कमी आएको पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको हिमालय दृश्य रिसोर्टका प्रबन्ध निर्देशक श्यामकाजी महतले जानकारी दिए । ‘कोरोनाका कारण एक वर्ष त व्यापार ठप्पै भयो, अहिले फेरि तंग्रिँदै छ,’ महतले भने, ‘आन्तरिक पर्यटकको चाप पनि उत्तिकै छ, गोष्ठी, सेमिनार पनि भइरहेका छन्, अहिले कुनै दिन खाली बस्नुपरेको छैन ।’

तंग्रिँदै धुलिखेलको पर्यटन

महतसहितको समूहले २० रोपनी जग्गामा ४० करोड लगानीमा उक्त होटल सञ्चालनमा ल्याएको हो । दुई सुइट, ४१ डिलक्ससहित ४३ कोठा, दई सेमिनार हल, स्विमिङ पुलसहितका अन्य सुविधा यहाँ उपलब्ध छन् । ४५ जनाले रोजगारी पाएका छन् । २०७४ सालमा निर्माण सुरु भएको होटल २०७७ फागुनबाट सञ्चालनमा आए पनि कोरोना महामारीका कारण केही समय बन्द भएको थियो । २०७८ साउन १ देखि होटलले नियमित सेवा दिइरहेको छ । क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्षसमेत रहेका धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकजू पनि पछिल्लो समय पर्यटकको चाप भएको बताउँछन् । ‘विस्तारै राम्रो हुँदै गएको छ,’ माकजूले भने, ‘पछिल्लो समय होटल थपिँदै पनि गएका छन्, भएका होटलले पनि पूर्वाधार र सेवा थप्दै लगेका छन् ।’

धुलिखेल लज रिसोर्टले नै १५ करोड लगानी थप गरेर १६ वटा सुइट रुम बनाएको छ भने स्पा, ज्याकुजी, स्टिम, सोनालगायत सेवा थपेको छ । पर्यटकीय गतिविधि बढ्दै गएपछि उत्साही व्यवसायीले लगानी पनि थप्दै गएका छन् । चार वर्षदेखि धुलिखेलमा बुटिक होटल सञ्चालन गर्दै आएका सुशील व्याञ्जु र अञ्जना माकजू व्याञ्जु दम्पतीले नमोबुद्ध २ मा ३० रोपनी क्षेत्रफलमा अर्ग्यानिक बेला फार्म (रिसोर्ट) सञ्चालनमा ल्याएका छन् । एक करोड रुपैयाँ लगानीमा सुरु भएको रिसोर्टमा तत्कालका लागि चार कोठा छन् । लगानी थपेर २० कोठा पुर्‍याउने लक्ष्य रहेको व्याञ्जुले बताए ।

उपत्यकाबाट नजिक, सहज पहुँच र प्राकृतिक रूपमा सुन्दर धुलिखेलमा पर्यटकको चाप बढेसँगै होटल पनि खुल्ने क्रममा छन् । पछिल्लो समय हिमालय दृश्य, आगन्तुक, सारथि जस्ता होटल सञ्चालनमा आएका छन् । साना लगानीका अरू होटल पनि थपिने क्रममा छन् । धुलिखेलमा साना–ठूला गरी ६० भन्दा धेरै होटल रहेको क्षेत्रीय होटल संघ, धुलिखेलले जनाएको छ । सूर्योदय र हिमशृंखला हेर्न पर्यटक यहाँ आउने गरेका छन् । बिदा मनाउन शुक्रबार र शनिबार पुग्ने आन्तरिक पर्यटक र विभिन्न संघसंस्थाका सेमिनार, गोष्ठीलगायत कार्यक्रमका कारण यहाँका पर्यटन व्यवसायी बेफुर्सदी बनेका छन् ।

अन्तर्राष्ट्रियस्तरको रिसोर्ट पनि सञ्चालनको अन्तिम तयारीमा छ । थाई होटल दूषित थानीको व्यवस्थापनमा सञ्चालन हुने रिसोर्ट पर्यटन वर्ष २०२० लाई लक्ष्य गरेर निर्माण थालिए पनि कोरोना महामारीका कारण केही ढिलाइ भएको हो । ५८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट धुलिखेल र नमोबुद्ध नगरपालिकाको सिमानामा पर्छ । बीपी राजमार्गबाट काभ्रेभन्ज्याङ हुँदै नमोबुद्ध–दाप्चा सडकबाट रिसोर्ट पुग्न सकिन्छ ।

प्रकाशित : पुस ११, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?