कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सले १० वर्षमा एक लाख कृषि फार्म गुमायो

विस्थापन हुनबाट बचेका फार्म भने तीव्र व्यवसाय विस्तारमा
ददि सापकोटा

फ्रान्स — फ्रान्सले सन् २०१० देखि २०२० सम्म करिब एक लाख कृषि फार्म गुमाएको छ । फ्रान्समा १० वर्षयता प्रत्येक दिन २७ भन्दा बढी फार्म विस्थापित हुने गरेका छन् । फ्रान्समा खेती किसानी गर्नेको संख्या प्रत्येक दिन कम हुँदै गएको छ, जसकारण बाँझो खेत बढ्ने तर कृषि फार्म घट्ने क्रम वृद्धि भइरहेको छ ।

फ्रान्सले १० वर्षमा एक लाख कृषि फार्म गुमायो

विस्थापन हुनबाट बचेका कृषि फार्मले भने राम्रै गरी व्यवसाय विस्तार गरिरहेको डिसेम्बर १० मा सार्वजनिक कृषि जनगणनाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२० को कृषि जनगणनाले बनाएको यो तथ्यांक शुक्रबार फ्रान्सका कृषिमन्त्री जुलियन डेनोरमान्डीले सार्वजनिक गरे । युरोपेली संघको निर्देशनअनुसार हरेक १० वर्षमा गरिने यस सर्वेक्षणको अन्तिम नतिजा अप्रिल २०२२ मा उपलब्ध हुनेछ । यससँगै फ्रान्समा किसानको संख्या पनि घटेको छ । सन् २०१० मा कृषिमा छ लाख चार हजार सक्रिय प्रबन्धक, सहकारी र सहयोगी थिए । तिनीहरूको संख्या २०२० मा १८ प्रतिशत घटेर चार लाख ९६ हजारमा झर्‍यो । कृषि कामदारहरूको संख्या २०१० मा सात लाख ४० हजारबाट सन् २०२० मा ११ प्रतिशत घटेर सन् ६ लाख ५९ हजारमा साँघुरिएको छ । कृषिमा यस्तो अवस्था आउनुको मुख्य कारण कृषिमन्त्रीले नै बताउन सकेका छैनन् । ‘किनभने जीवनको प्रत्येक पाठ्यक्रम विशिष्ट छ । यो उमेरको उतारचढाव हुन सक्छ,’ जुलियन डेनोरमान्डीले अनुमान गरेका छन् ।

कृषि क्षेत्रमा बसोबास गर्नेभन्दा निवृत्त हुनेहरूको संख्या फ्रान्समा धेरै छ । ४० वर्षमुनिका किसानको संख्या स्थिर र ५० देखि ६० वर्षभन्दा बढीको संख्या बढ्दै गएको छ । पत्रकार सम्मेलनमा कृषिमन्त्री डेनोरमान्डीले पुस्ता परिवर्तनले कृषिमा धेरै अवरोध सिर्जना गर्ने उल्लेख गरे । सुविधा र तलब कम, जलवायु परिवर्तनको परिणाम अनि किसानहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन मिलाउन भएको कठिनाइले किसानको संख्या घट्दै गएको उनको भनाइ छ ।

गएको एक दशकमा पशुधन र साना फार्म विशेष पीडित भएको बताइएको छ । पशुपालनमा विशेषज्ञता भएका फार्मको हिस्सा सन् २०१० मा ५५ बाट सन् २०२० मा ४८ प्रतिशतमा झरेको छ । १० वर्षमा ६४ हजार फार्म घटेका छन् । अर्थात् ३१ प्रतिशत कमी आएको छ । यो कमी दूध र मासु उत्पादन गर्ने गाईबस्तु फार्महरूमा अझ उच्च छ । तिनमा ४१ प्रतिशतले कमी आएको तथ्यांक छ ।

फ्रान्समा माइक्रो–फार्महरूको संख्या पनि घटिरहेको छ । औसतमा १२ हेक्टर जमिनमा फैलिएको र प्रतिवर्ष कुल उत्पादनको २५ हजार युरोभन्दा कम भएकोलाई माइक्रो फार्ममा गनिन्छ । सन् २०१० मा एक लाख ५६ हजार यस्ता फार्म रहेकामा सन् २०२० मा ३१ प्रतिशत घटेर एक लाख आठमा झरेको छ । यसको विपरीत उपयोगी कृषि क्षेत्र दुई करोड ६७ लाख हेक्टरमा स्थिर छ । यो राष्ट्रिय क्षेत्रको लगभग आधा हो ।

यस क्षेत्रमा महिलाहरूलाई आकर्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । अहिले महिला किसानको संख्या फ्रान्समा जम्मा २७ प्रतिशत छ । त्यसमा पनि विद्यार्थीहरूले आधा प्रतिनिधित्व गर्छन् । कृषि उच्च शिक्षा भएका व्यक्तिले अधिकांश श्रमशक्तिको प्रतिनिधित्व गर्छन् । यो संख्या पनि आगामी दिनमा घट्न सक्ने औंल्याइएको छ । सन् २०२० को कृषि जनगणनाबाट धेरैजसो कृषि फार्मले जैविक खेती, गुणस्तर लेबल र छोटो क्षेत्रलाई मात्रै लक्ष्य गरेर बजारीकरणको नीति अपनाइरहेको देखिएको छ । १० वर्षमा, अर्ग्यानिक खेतीको हिस्सा तीन गुणा बढेको छ ।

सन् २०१४ मा कृषि क्षेत्रको गुणस्तर बढाउन भन्दै फ्रान्सले उच्च वातावरणीय मूल्य (हाई इन्भाइरोन्मेन्टल भ्यालु) सिर्जना गरेको थियो । रासायनिक पदार्थ, कीटनाशक औषधिलगायतको प्रयोग कम गरेर प्राकृतिक खेती उत्पादन गर्ने र त्यसलाई उच्च मूल्यमा बिक्री गर्न सकिने प्रावधान फ्रान्सले नीतिगत रूपमै ल्याएको थियो । यो पद्धति दुई हजार पाँच सयभन्दा बढी फार्मले अपनाएको कृषि मन्त्रालयले उल्लेख गरेको छ । तर यसमा किसानको उत्साह कम देखिएको कृषिमन्त्री डेनोरमान्डीको भनाइ छ ।

प्रकाशित : पुस ९, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?