कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना

देवनारायण साह

मोरङ — सप्तकोसी डेभलपमेन्ट बैंकमा कर्मचारीलगायतको मिलेमतोमा १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा उक्त रकम हिनामिना भएको हो । बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई यसबारे अनुसन्धान गरिरहेको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना

बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेकोबारे उजुरी गरेका थिए । राष्ट्र बैंकले उक्त आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेपछि जानकारी पाएको बैंकका सञ्चालक समितिका अध्यक्ष अर्जुन बरालले बताए । ‘नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि तत्काल आन्तरिक छानबिन गर्दा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईको आर्थिक हिनामिनामा संलग्नता देखिएपछि राष्ट्र बैंक र जिल्ला प्रहरी मोरङमा उजुरी दियौं,’ उनले भने, ‘अहिले प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकले छानबिन गरिरहेकाले छानबिनपछि मात्रै के कति रकम कसरी हिनामिना भएको हो, वास्तविकता बाहिर आउँछ ।’

बैंकले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मंसिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र अनुसन्धानपछि बैंकिङ कसुर मुद्दा दर्ता गरेर कारबाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । विभागको टोलीले बुधबार बैंकको सुपरिवेक्षण गर्नुका साथै अनुसन्धानका लागि आवश्यक जानकारी लिएको हो । पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुख रहेको अध्यक्ष बरालले बताए । भट्टराईको एकल प्रयासमा यति ठूलो रकम हिनामिना हुन नसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । प्रमुख भट्टराई, बैंकका सीईओ नवीन सुवेदीका फुपूका छोरा हुन् ।

बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई हटाएर मंसिर १ देखि स्वतन्त्र सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिएको छ । रकम हिनामिनामा बैंकका अध्यक्ष निरौला र सीईओ सुवेदीको समेत संलग्नता हुन सक्ने प्रहरी अधिकृतले बताए । राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय रहेको बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले बताए । आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुलउपर गरेपछि त्यो परिपूर्ति हुने उनको दाबी छ ।

प्रकाशित : पुस ९, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×