१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

धान उत्पादन बढ्यो

बेमौसमी वर्षा र हावाहुरीको बाबजुद यस वर्ष २ लाख ३३ हजार मेट्रिक टन उत्पादन
शंकर आचार्य

पर्सा — फड्के कीराको प्रकोप, बाली भित्र्याउने बेलामा बेमौसमी वर्षा र हावाहुरीको बाबजुद यो वर्ष पर्सामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा धानको उत्पादन थोरै भए पनि बढेको हो ।

धान उत्पादन बढ्यो

केन्द्रका बागबानी विकास अधिकृत श्यामकिशोर प्रसादले यस वर्ष ४७ हजार १ सय ३७ हेक्टरमा धान खेती गरिएकोमा २ लाख ३३ हजार १ सय ३५ मेट्रिक टन उत्पादन भएको बताए । जिल्लामा चैते, भदैया र वर्षे गरी ३ प्रकारका धान उक्त परिमाणमा उत्पादन भएको हो । गतवर्ष जिल्लामा ४७ हजार ५० हेक्टरमा २ लाख २८ हजार ५ सय २८ मेट्रिक टन धान उत्पादन भएको थियो । उनले यस वर्ष धान खेती केही बढी गरिएको र फड्के कीरा तथा बाली पाक्ने बेलामा असोज/कात्तिकमा अप्रत्यासित आएको बाढी र हावाहुरीको बाबजुद उत्पादन बढ्नु उत्साहप्रद रहेको बताए ।

पर्साका किसानले डेढ दशकयता निरन्तर सोना मन्सुली जातको धान बढी लगाउँदै आएका छन् । सरकारले हालसम्म सूचीकृत नगरेको यो जातको धान लगाउँदा बढी उत्पादन हुन्छ । तर, यही धान बालीमा बर्सेनि फड्के कीराको प्रकोप देखिन्छ । अधिकृत प्रसाद पनि जिल्लामा हुने कुल धान खेतीमध्ये करिब ७० प्रतिशत सोना मन्सुलीकै हुने गरेको बताउँछन् । ‘किसानमा यो जातको धानप्रति आकर्षण छ,’ उनले भने, ‘तर, कीराको प्रकोपकै कारण सरकारले सूचीकृत नगरेको होला ।’ खेतीको लागि आधिकारिकता नपाए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्दै आएको छ । यस वर्ष पनि यो जातको धान खरिद गर्ने निर्णय सरकारले गरिसकेको छ ।

वैज्ञानिक नाम सोना मन्सुली एटियु ७०२९ रहेको धान बालीलाई हालसम्म भारत सरकारले पनि सूचीकृत गरेको छैन । बढी उत्पादन हुने भनेर सीमावर्ती भारत बिहार राज्यका किसानले लगाएको धान नेपालका किसानले पनि धमाधम लगाउन थालेका हुन् । प्रसादले सोना मन्सुलीसरहकै उत्पादन हुने सरकारले सिफारिस गरेको ‘सुवर्णसव १’ जातको धान बाली किसानले लगाउन सक्ने बताउँछन् । ‘सुवर्णसव १ सोना मन्सुलीलाई प्रतिस्थापन गर्न सक्षम छ,’ उनले भने, ‘तर किसान अझै पनि यो जातको धानप्रति आकर्षित हुन सकेका छैनन्, जब कि यसमा फड्के कीराको प्रकोपको समस्या पनि हुँदैन ।’ किसानले निरन्तर एकै जातको धान बाली लगाउँदा त्यसले माटोको उवर्राशक्ति घट्ने, बालीमा रोग कीराको प्रकोप बढ्नेजस्ता समस्या देखिन थाल्छन् । सोना मन्सुली धानलाई विस्थापनका लागि सरकारले सुवर्णसव १, हर्दिनाथ १, लल्का बासमती १, चैते २, सामा मसुलीसव १ धान सिफारिस गरेको छ ।

धान खरिदको निर्णय अझै भएन

वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने निर्णय अझै गर्न सकेको छैन । केन्द्रबाट स्वीकृति पाएको एक साता बित्दा पनि निर्णय नहुनु दुःखद भएको किसान संघ पर्साका अध्यक्ष असर्फी साहको भनाइ छ । ‘अहिले बजारमा सोना मन्सुलीको चलेको खरिद मूल्यभन्दा खाद्यको खरिद मूल्य करिब ५ सय रुपैयाँले बढी छ,’ उनले भने, ‘तर किसानको धान खाद्यले समयमा खरिद गरिदिएन । सरकारले नकिन्दा हामी सस्तोमा निजी क्षेत्रलाई बेच्न बाध्य छौं । धान बेचेरै हामीले गहुँ बालीका लागि रासायनिक मलको जोहो गर्ने हो ।’ उनका अनुसार सोना मन्सुलीको हाल बजार मूल्य प्रतिक्विन्टल २ हजार ४ सय रुपैयाँ छ । खाद्यले प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँमा खरिद गर्ने घोषणा गरेको छ ।

कम्पनीका सूचना अधिकृत मुनिलाल कुशवाहाले स्थानीय प्राथमिक खरिद समितिले जिरा मसिनो धानको खरिद मूल्य निर्धारण गरेपछि खरिद सुरु गर्ने जानकारी दिए । ‘जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकाल बिदामा रहेकाले समितिको बैठक बस्न सकेको छैन । अब बैठक बसेर निर्णय हुन्छ,’ उनले भने । केन्द्रले वीरगन्ज शाखालाई यस वर्ष सोना मन्सुली १५ हजार र जिरा मसिनो ३ हजार गरी १८ हजार क्विन्टल खरिदको कोटा निर्धारण गरेको उनले बताए ।

प्रकाशित : पुस ५, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?