कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ऋणको ब्याजदर अझै बढ्दै

माघदेखि कम्तीमा एक प्रतिशत ब्याजदर बढ्ने, औसत ब्याजदर ११ प्रतिशत हाराहारी पुग्ने बैंकहरुको दाबी
यज्ञ बञ्जाडे

काठमाडौँ — बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले बताएका छन् ।

ऋणको ब्याजदर अझै बढ्दै

पुसमा बैंकहरूले निक्षेपको ब्याजदर नबढाए पनि कात्तिक र मंसिरमा बढिसकेको छ । यसले आधार दर बढ्ने भएकाले आउँदो माघदेखि कर्जाको ब्याजदर कम्तीमा १ प्रतिशत बिन्दुले बढ्ने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालको भनाइ छ । ‘बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर बढाए माघदेखि कर्जाको ब्याजदर एक प्रतिशतभन्दा धेरै बढ्ने निश्चित छ,’ उनले भने, ‘पुसमा पनि मंसिर सरर नै निक्षेपको ब्याजदर कायम रहे पनि औसतमा एक प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर बढ्न सक्छ ।’ माघपछि कर्जाको ब्याजदर एकल अंकबाट माथि जाने पनि दाहालले बताए । ‘हिजोआज बैंकहरूद्वारा प्रवाह भइरहेको नयाँ कर्जाको ब्याजदर दोहोरो अंकमा रहेको हुनुपर्छ । अब बढ्दा झन् माथि पुग्छ,’ उनले थपे, ‘यस अवधिमा सरकारी खर्च धेरै भयो र बजारमा तरलता पर्याप्त भएको अवस्थामा भने अनुमान गरिएअनुसार कर्जाको ब्याजदर नबढ्न सक्छ ।’

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा आधार दर गणना गर्नुपर्छ । यसरी त्रैमासिक रूपमा आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको (नयाँ पुराना सबै) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । चालु आर्थिक वर्षमा बैंकहरूले गत असोजमा आधार दर गणना गरेका थिए । अब पुसमा पुनः गणना गर्छन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले पुसमा आधार दर बढ्ने निश्चित छ । आधार दर बढेपछि बैंकहरूले कर्जाको ब्याजदर पनि बढाउँछन् । यसकारण पनि माघदेखि करिब एक प्रतिशत हाराहारीमा कर्जाको ब्याजदर बढ्ने बैकर्स संघका उपाध्यक्ष सुनील केसीले बताए । ‘पुसमा निक्षेपको ब्याजदर बढाउने/नबढाउने भन्नेबारे छलफल गरिरहेका छौं,’ उनले भने, ‘पुसमा ब्याजदर नबढे पनि गएका महिनामा बढेकाले कर्जाको ब्याजदर बढ्ने निश्चित जस्तै छ ।’

राष्ट्र बैंक स्रोतका अनुसार गत मंसिर दोस्रो सातासम्म बैंकहरूको कर्जाको औसत ब्याजदर ९.९९ प्रतिशत छ । अब माघदेखि १ प्रतिशत बिन्दुले मात्र पनि कर्जाको ब्याजदर बढे औसत १०.९९ प्रतिशत पुग्ने बैंकरहरूको अनुमान छ । ‘माघदेखि कर्जाको ब्याजदर औसतमा ११ प्रतिशत हाराहारी पुग्ने देखिन्छ,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘ब्याजदर बढाए पनि बैंकमा निक्षेप नथपिएपछि पुसमा ब्याजदर परिवर्तन नहुने सम्भावना छ ।’ गत असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.५७ प्रतिशत छ । २०७७ असोजमा यस्तो दर ७.७३ प्रतिशत थियो । ‘२०७८ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.४३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः ५.४५ प्रतिशत र ९.८३ प्रतिशत थिए ।’ अघिल्लो महिनाको तुलनामा १० प्रतिशतका दरले ब्याजदर बढाउन पाइने भए पनि पुसमा बैंकहरू ब्याज नबढाउने पक्षमा छन् । ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने तर लागत बढ्ने भएकाले आउँदो महिनाका लागि ब्याजदर नबढाउने धारणा धेरै बैंकको रहेको बैंकर्स संघले जनाएको छ । समसामयिक विषयमा गत साता बसेको संघको बैठकमा बैंकहरूबाट यस्तो धारणा आएपछि आफूहरू थप छलफलमा जुटेको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए ।

‘एक पटक विकास बैंक र फाइनान्स कम्पनीहरूसँग पनि छलफल गरेर निर्णय गर्ने कुरा साथीहरूबाट आयो,’ उनले भने, ‘सोमबार विकास बैंक र फाइनान्स कम्पनीका साथीहरूसँग छलफल गर्दै छौं ।’ विकास बैंक र फाइनान्स कम्पनीबाट पनि निक्षेपको ब्याजदर नबढाउने भएपछि आफूहरूले पनि नबढाउने उपाध्यायले जानकारी दिए । ‘उनीहरूले ब्याजदर बढाउने भएपछि त हामीले नबढाउने भन्ने कुरा हुँदैन,’ उनले थपे, ‘यसकारण पुसका लागि ब्याजदर बढाउने/नबढाउने भन्ने कुरा विकास बैंक र फाइनान्स कम्पनीहरूसँगको छलफलपछि टुंगो लाग्छ ।’ छलफल गरेअनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि ब्याजदर नबढाए पुसका लागि वाणिज्य बैंकहरूले मंसिर महिनाकै बराबर ब्याजदर प्रकाशन गर्नेछन् । ब्याजदर बढाएर मात्र निक्षेप नआउने भएपछि बैंकहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।

गत कात्तिकदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अघिल्लो महिनामा आफ्नो वर्गका सबै बैंकको औसत ब्याजदरको अधिकमत १० प्रतिशतसम्म मात्र बढाउन पाउने व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार मंसिरका लागि अधिकांश बैंकले एकवर्षे मुद्दती निक्षेपमा १०.०५ र साधारण बचतमा ५.०५ प्रतिशत ब्याजदर प्रकाशन गरेका थिए ।

गत असोजमा राष्ट्र बैंकले बैंकहरूलाई अघिल्लो महिनाको तुलनामा १० प्रतिशत बिन्दुले मात्र ब्याजदर बढाउन पाउने निर्देशन दिएको थियो । कात्तिकमा त्यसमा परिमार्जन गरेर अघिल्लो महिनामा आफ्नो वर्गका सबै वित्तीय संस्थाको औसत ब्याजदरका आधारमा १० प्रतिशत बिन्दुले मात्र ब्याजदर बढाउन पाउने व्यवस्था ल्याएको छ । उक्त व्यवस्थापछि घुमाउरो पाराले राष्ट्र बैंकले निक्षेपको ब्याजदर तोकिदिएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ब्याजदर बढाएका छैनन् भने आफूहरूबीचमा पनि सहमतिका आधारमा ब्याजदर प्रकाशन गरिरहेका छन् ।

...

नेप्से ११ महिनायताकै न्यून बिन्दुमा

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ८८.७० अंक घटेर २ हजार ३ सय २१.२७ बिन्दुमा ओर्लिएको छ । यो करिब ११ महिनायताकै न्यून हो । यसअघि २०७७ माघ ७ मा नेप्से परिसूचक २ हजार ३ सय ६१.६९ बिन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से गत भदौमा करिब ३ हजार २ सयको उच्च बिन्दुमा पुगेको थियो । त्यहाँबाट फर्किन थालेको नेप्से आइतबार २४ सयभन्दा तल ओर्लिएको हो । उक्त दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले घटेपछि समग्र नेप्से भारी अंकमा घटेको हो ।

पछिल्ला दिनमा निरन्तर घटेको सेयर बजारमा आइतबार पनि भारी अंकको गिरावट आएको हो । बजारमा तरलता संकट बढिरहेको, सरकारी खर्च अपेक्षित रुपमा नभएकाले तत्काल सेयर बजार बढिहाल्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । सेयर बजारमा नेप्से परिसूचकमा भारी गिरावट आएपछि कारोबार रकममा अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ । आइतबार बजारमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजार निरन्तर घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्तालाई ‘मार्जिन कल’ आउन थालेको छ । न्यूनतम ‘मार्जिन’ कायम गर्नकै लागि पनि लगानीकर्ताले सेयर बाध्य भएर सेयर विक्री गर्न थालेका छन् । यसले बजारमा सेयरको बिक्री चाप बढाएको ब्रोकरहरूले बताएका छन् ।

परिसूचक घटेपछि सयेर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३३ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । गत बिहीबार कुल बजार पुँजीकरण ३४ खर्ब ४४ अर्ब रुपैयाँ थियो । सेयर बजारको लगानी अनुत्पादनक रहेको नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । यसले पनि आइतबार सेयर बजार प्रभावित भएको रुपमा विश्लेषण गरिएको छ । शनिबार प्रदेशहरूको सम्मेलनको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो धारणा राखेका हुन् । विगतमा पुँजीको लगानी उद्योगहरूमा हुन्थ्यो । त्यहाँबाट आएको नाफा पुँजीपति वर्गले लिने गर्थे । अहिले त्यसको संरचना परिवर्तन भएर सेयर बजार र अन्य सट्टाबाजी वित्तीय उपकरणहरूमा लगानी भइरहेको उनले बताए ।

‘तपाईं हामीलाई लाग्न सक्छ, धितोपत्र बजार, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंकलगायत संघसंस्था पैसा यताउता गर्छन् । यथार्थमा त्यसो होइन । यी साम्राज्यवादका विकसित रूप हुन्,’ दाहालले भने, ‘तिनका उद्देश्य भनेकै वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, विस्तार गर्ने र नाफा एकीकृत गर्ने र संसारका सीमिति पुँजीपतिका हातमा संसारकै धन एकीकृत गर्ने हो ।’

प्रकाशित : मंसिर २७, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×