कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चक्रपथबारे अध्ययन गर्न आयो चिनियाँ टोली

संयुक्त रुपमा सर्वेक्षण गरेर टोलीले प्रतिवेदन तयार पार्ने, त्यसपछि डिजाइनको काम अघि बढाइने
विमल खतिवडा

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ । विस्तार हुने कलंकीदेखि महाराजगन्ज खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गर्न आएको हो । 

चक्रपथबारे अध्ययन गर्न आयो चिनियाँ टोली

सोमबार आएको टोलीले साइटबारे अनौपाचारिक रूपमा बुझ्ने काम थालेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ । आगामी आइतबारबाट भने संयुक्त रूपमा साइट भिजिट गरिने आयोजना प्रमुख कुवेर नेपालीले बताए । ‘अब समस्या केही छैन,’ उनले भने, ‘प्राविधिक टोलीले केही कुरा उठाएको अवस्थामा फिल्डमै प्रस्ट्याएर अघि बढ्छौं ।’ यता अर्थ मन्त्रालयमा चाइना डेस्क हेर्दै आएका उपसचिव

डीबी क्षेत्रीले भने कम्पनीका प्राविधिकले हेरेर ठीक छ भन्ने प्रतिवेदन चीन सरकारलाई दिएपछि काम अघि बढ्ने जनाए । त्यसपछि डिजाइन र कन्स्ट्रक्सन टोली चीन सरकारले पठाउने उनको भनाइ छ ।

‘पहिलो फेज (कोटेश्वर–कलंकी) को आयोजना कार्यान्वन गर्दा लामो समय लाग्यो, समयमै साइट क्लियर हुन सकेन,’ उपसचिव क्षेत्रीले भने, ‘समयमै काम नसकेको हुनाले चिनियाँ पक्षबाट नेपाल सरकारप्रति गुनासो रह्यो, दोस्रो फेजको काम गर्ने भनेर त्यही बेला सम्झौता भएको थियो ।’ अहिले कलंकीदेखि महाराजगन्जसम्म ८.२ किमि सडक विस्तार गर्न लागिएको हो । चीन सरकारको अनुदान सहायतामा विस्तार हुन लागेको सडकअन्तर्गत महाराजगन्जको २ सय ४४ मिटर खण्डमा मात्र समस्या छ । अन्यत्र कतै समस्या नभएको आयोजनाले जनाएको छ ।

‘समस्या भएका ठाउँमा पछि काम गर्ने गरी अन्यत्रको डिजाइन अघि बढाउन आग्रह गरिसकेका छौं,’ क्षेत्रीले भने, ‘महाराजगन्ज चोकको बाँकी रहेको र तीनकुनेसम्मको विस्तार तेस्रो फेजमा गर्ने गरी चीन सरकारसँग कुराकानी भएको छ ।’ दोस्रो खण्डको काम सुरु भएपछि तेस्रो खण्डको प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

सुरुमा नेपाल सरकारले चीनसँग गोपीकृष्ण पुलसम्म ११.६ किमि सडक विस्तार गर्न आग्रह गरेको थियो । तर चीन सरकारले यसलाई तेस्रो खण्डमा विस्तार गर्ने योजना रहेको बताएको थियो । पहिलो खण्ड विस्तार गर्ने बेला चीन सरकारसँग सबै साइट क्लियर गरिसकेपछि मात्र चिनियाँ टोली काम गर्न आउने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । ‘सहमतिअनुसार साइट क्लियर नै गर्छौं भनेका थियौं, विविध समस्याले गर्दा क्लियर हुनै तीन वर्ष लाग्यो,’ क्षेत्रीले भने, ‘बिजुली र टेलिफोनको पोल सार्न बढी समय लाग्यो, अहिले केही समस्या छैन, अर्थको टोली पनि गएर स्थलगत निरीक्षण गरिसकेको छ ।’ महाराजगन्ज खण्डमा मात्र मुआब्जाको समस्या छ ।

साइट क्लियर भएको रिपोर्ट आयोजनाले हेनानलाई मंसिर ८ मै पठाएको थियो । रिपोर्ट पठाएपछि टोली हेर्न आएको हो । चीन सरकारकै ठेकेदारबाट सडक विस्तारको काम सम्पन्न हुनेछ । ड्रइङ, डिजाइनदेखि निर्माण सबै काम सम्पन्न गरेर चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । ‘कति लागत लाग्छ, चीनले नै निर्णय गर्नेछ, अहिले यसबारे भन्न सकिन्न,’ क्षेत्रीले भने ।

स्वयम्भूको स्तूप भएको ४०/५० मिटर ठाउँले समस्या नगर्ने आयोजनाले जनाएको छ । चक्रपथ पहिलो खण्ड विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यसपटक चिनियाँ टोलीले साइट पूर्ण रूपमा क्लियर गरेपछि मात्र आउने बताउँदै आएको थियो । यसअघि पनि चीनकै अनुदान सहायतामा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भइसकेको छ । जसको दूरी १०.३९ किमि छ ।

प्रकाशित : मंसिर २४, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×