कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ताे रेस्टुराँ, जहाँ दृष्टिविहीनले सेवा दिन्छन्

काठमाडौँ — रेस्टुराँ व्यवसायमा फरक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेस्टुराँमा सेवाग्राहीले समेत फरक अनुभव गर्नेछन् ।  बिहीबारदेखि सञ्चालनमा आएको यस्तो रेस्टुराँ नेपालमा पहिलो भएको र एसियामा पनि दुबई र भारतको हैदरावादमा मात्र सञ्चालनमा रहेको सञ्चालकको भनाइ छ । 

यस्ताे रेस्टुराँ, जहाँ दृष्टिविहीनले सेवा दिन्छन्

‘डाइनिङ् इन द डार्क रुम’ नाम दिइएको यो सेवामा निश्चित मेन्यु रहनेछ र उक्त मेन्युमा भएका खानेकुरा अँध्यारो कोठामा राखिएका टेबलमा बसेर लिनुपर्नेछ । रेष्टुरेन्टले दृष्टिविहीनहरूले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभई जिब्रोले कसरी लिने भन्ने अभ्यास गराउने रेस्टुराँका सञ्चालक सुरेश महर्जनले बताए । ‘हामीले रेस्टुराँ व्यवसायमा केही पृथक अभ्यास गरौं भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका छौं,’ महर्जनले भने ‘दृष्टिविहीनले कसरी जीवन जिएका छन् र खानेकुराको स्वाद कसरी लिइरहेका छन् भन्ने महसुस अरुले पनि गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो ।’

ललितपुरको कुपन्डोलस्थित डायमन्ड गल्लीमा अवस्थित अ फाइन डाइन इन रेष्टुरेन्टमा अँध्यारो कोठाको बीचमा केही टेबल कुर्सी रहेनछ भने यसभित्र मोबाइल र अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ । रेस्टुराँमा रहेका अँध्यारा कोठामा जानुपूर्व त्यहाँको जानकारी सेवाग्राहीलाई गराइन्छ । अनि दृष्टिविहीन कर्मचारीको काँधमा हात राखेर सेवाग्राहीलाई त्यही अन्धकार कोठामा लगेर टेबलमा बस्न सहयोग पुर्‍याइन्छ ।

रेष्टुरेन्टका सञ्चालकहरुका अनुसार कोभिड संक्रमणका कारण धेरैको रोजगारी गुमेपछि दृष्टिविहीनको अवस्थाबारे आफूहरूलाई चिन्ता लागेकै कारण जोखिम मोलेर यसमा लगानी गरिएको हो । थोरै संख्यामा भए पनि दृष्टिविहीनलाई रोजगारी दिनकै लागि यो रेष्टुरेन्ट खोलिएको हो । हाल यहाँ दस जना दृष्टिविहीनले रोजगारी पाएका छन् । उनीहरूलाई यसअघि तीन महिनाको तालिम पनि दिइएको छ । अन्य शाखाहरूमा पनि दृष्टिविहीनलाई नै रोजगारी दिने योजना सञ्चालकको छ ।

सुरुमा बुकिङ गरेर मात्र प्रवेश गर्न सकिने यो रेस्टुराँमा सेवाग्राहीले रातो, नीलो अथवा हरियो नाममा मात्र खाना मगाउन सक्नेछन् । अँध्यारोमा खाँदा कुनै समस्या नहोस् भनेर त्यस्तै किसिमको खाना छनोट गरिएको र साना–साना आकारमा मात्र परिकार बनाइने सञ्चालक महर्जनले बताए । करिब डेढ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको यो रेष्टुरेन्टमा शान्त वातावरणमा कफी हाउस, बार लगायतका अन्य सुविधा पनि उपलब्ध छन् ।


प्रकाशित : मंसिर २३, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?