कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय समितिमा जनार्दन शर्मा र सुरेन्द्र पाण्डेबीच घोचपेच 

पाण्डेले भने - अर्थमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले बोल्दा संयमित भएर बोल्नुपर्यो

काठमाडौँ — संघीय संसदको अर्थ समितिमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेबीच घोचपेच चलेको छ । देशको अर्थतन्त्रको विषयलाई लिएर एकले अर्कोमाथि निसाना साँधेका हुन् । समिति सभापति कृष्णप्रसाद दाहालले मुलुकको अर्थतन्त्र, वर्तमान आर्थिक परिदृश्य र अर्थ मन्त्रालयका काम कारबाही तथा योजनाबारे पहिले मन्त्री शर्मालाई बोल्ने समय दिएका थिए । 

संसदीय समितिमा जनार्दन शर्मा र सुरेन्द्र पाण्डेबीच घोचपेच 

शर्माले आफ्नो भनाइ राख्ने क्रमको सुरूवात नै घुमाउरो ढंगले पाण्डेमाथि निसाना साँधे । आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए । अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति कारण रहेको पनि उनले बताए । 'अहिलेको अर्थतन्त्रको अवस्था हिजोको अर्थनीति र योजनाको परिणाम हो । हामीले आजै, अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ', अर्थमन्त्री शर्माले भने ।

अर्थमन्त्री यतिमै रोकिएनन् । उनले पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफूलाई लक्षित गर्दै 'अर्थतन्त्र नबुझेको र हिसाब गर्न नजान्ने अर्थमन्त्री' भनेर बाहिर कतै बोलेको विषय कोट्याए । उनले भने 'को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ। मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै सुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ । यो बेला भएका आलोचनालाई पनि म स्वभाविक रुपमा लिन्छु ।' आफ्नो भनाइ राखेपछि मन्त्री शर्मा समिति बैठकबाट बाहिरिए ।

जब समिति सभापति दाहालले पूर्व अर्थमन्त्री पाण्डेलाई बोल्ने समय दिए, 'के अर्थमन्त्री हिँडिसक्नुभयो ?' भन्दै पाण्डेले प्रश्न गरे । सभापति दाहालले त्यसको उत्तर फर्काउँदै जरुरी काम परेकाले अर्थमन्त्री बैठकबाट चाँडै निस्केको बताए । त्यसपछि पाण्डेले अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिले बोल्दा ध्यान दिएर र संयमित भएर बोल्नुपर्ने बताए ।

'उहाँले मलाई नै लक्षित गरेर बोलेर जानुभयो । अर्थतन्त्र सम्हाल्न डर लाग्दैन पनि भन्नुभयो । म पनि मन्त्री हुँदा त्यस्तै लाग्थ्यो । तर मैले अर्थतन्त्र कता जाँदैछ भनेर आवश्यक तयारी गर्थें । ट्रेण्ड एनालाईसिस गर्थे,' पाण्डेले भने, ‘तर अहिले त्यस्तो तयारी र विश्लेषण भएको छैन । मन्त्रीले बोल्दा ध्यान दिएर बोल्नु पर्यो । मासिक १० प्रतिशत बजेट खर्च गर्ने भनेर बोलिहाल्नु भयो, तर त्यो सम्भव थिएन ।' पूर्व अर्थमन्त्री पाण्डेले अहिले नेपालको अर्थतन्त्र समस्याले हल्लिरहेको अनुभूति आफूलाई भएको बताए । ‘महामारीको अर्को लहरले विश्व अर्थतन्त्रलाई हान्दा हामी पनि क्र्यास हुन सक्छौं । यसमा बेलैमा सचेत हुन जरुरी छ’ पाण्डेले भने।

प्रकाशित : मंसिर २३, २०७८ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?