कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थलसँगै धमाधम तारे होटल

कोरोनाका कारण लगानीमा ढिलाइ गरिरहेका व्यवसायी पनि होटल निर्माणतिर, केही होटल सञ्चालनमा, केही आउने तयारीमा
सन्जु पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस आपसपासका क्षेत्रमा स्तरीय तारे होटल सञ्चालनमा आएका छन् । कोरोनाका कारण लगानीमा ढिलाइ गरिरहेका केही व्यवसायी पनि अहिले होटल निर्माणमा अग्रसर देखिएका छन् । कोरोना महामारीका कारण करिब दुई वर्ष मुलुकभर उत्पादन र लगानीका क्षेत्र प्रभावित भए । उद्योग र कलकारखानाले उत्पादन कटौती गरे । बिक्री ठप्पजस्तै भयो । बजारमा कारोबार थामिएको थियो । यही अवधिमा सेवामूलक होटल व्यवसायमा भने लगानी ओइरिएको हो ।

गौतम बुद्ध विमानस्थलसँगै धमाधम तारे होटल

रूपन्देहीको बेलहिया स्थलमार्ग हुँदै मुलुकमै धेरै पर्यटक भित्रिने नाका हो । यो नाका खुलेपछि यहाँका पर्यटन व्यवसायी हौसिएका छन् । सीमावर्ती भारतीय आउन थालेपछि होटलले सेवा थप गरिरहेका छन् । जिल्लामा साना रेस्टुराँ र लजसँगै दुईदेखि पाँचतारेसम्मका होटल सञ्चालनमा छन् । विशेषगरी भैरहवा, बुटवल र लुम्बिनीमा तारे होटलमा लगानी गर्ने व्यवसायीको इच्छा तीव्र देखिन्छ ।

लुम्बिनीस्थित पाँचतारे होटल पवन प्यालेसमा हिजोआज चहलपहल छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महजिदियामा साढे ३ बिघा क्षेत्रफलमा निर्मित यस होटलमा पवन हलुवाई र राजीव बेरिवालको ३ अर्ब रुपैयाँ लगानी छ । साततले भवनसहित अन्य संरचना ४ वर्षमा तयार भएका हुन् । १४७ कोठा रहेको पवन प्यालेसका अहिले ७० कोठा र एउटा रेस्टुरेन्ट प्रयोगमा रहेको सञ्चालक हलुवाईले जानकारी दिए । ‘स्विमिङ पुल पनि सञ्चालनमा छ,’ उनले भने, ‘लगानी थप्दै जाने र लुम्बिनी आउने पर्यटकको आगमनको गन्तव्य बनाउँदै छौं ।’ होटलमा ६ देखि १० हजार रुपैयाँसम्मका कोठा छन् । ती कोठामा बस्ने पाहुनाले बिहानी खाजा निःशुल्क पाउँछन् । विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटकसमेत आउने विश्वास उनलाई छ ।


रूपन्देहीको मायादेवी गाउँपालिका–८ अञ्चलपुरमा निर्माणाधीन सिद्धार्थ इन्टरनेसनल होटल । तस्बिर : सन्जु/कान्तिपुर

रूपन्देहीको मायादेवी गाउँपालिका–८ अञ्चलपुरमा नेपाली नयाँ वर्षबाट सञ्चालन सुरु गर्ने गरी होटल सिद्धार्थ इन्टरनेसनल निर्माणको अन्तिम चरणमा छ । अहिलेसम्म २ अर्ब रुपैयाँ लगानी पुगेको होटलका रिजनल म्यानेजर महेन्द्र न्यौपानेले बताए । होटलमा एक क्यासिनोसहित हेल्थ क्लब, कन्फ्रेन्स हल र कोठा रहने उनले जनाए । रूपन्देहीमा बाह्य पर्यटकको आगमन बाक्लिने निश्चित भएकाले पहिलेदेखि बुटवलमा परिचित सिद्धार्थ ग्रुपलाई थप सुविधायुक्त होटलमा लगानी गर्न पर्यटकीय वातावरणले सघाएको उनको भनाइ छ । होटल साढे २ बिघा क्षेत्रफलमा फैलिएको छ ।

तिलोत्तमामा वैदेशिक लगानीमा सञ्चालनमा आएको टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहितको पाँचतारे होटल हो । अहिले उक्त होटल बन्द रहे पनि सञ्चालन हुँदाताका भारतीय र नेपालीका साथै विदेशी पाहुनाको बाक्लो उपस्थिति हुने गर्थ्यो । होटलसम्बन्धी केही विवाद भएकाले उक्त होटल बन्द छ । देशकै ठूलो क्यासिनो रहेको प्यालेस पुनः सञ्चालनमा आउने तयारीमा छ । होटलमा साढे ३ अर्बभन्दा बढीको लगानी रहेको बताइन्छ ।

लुम्बिनीमा २०५७ मा ५ करोड रुपैयाँ लागतमा खुलेको चारतारे होटल बुद्धमाया गार्डेन्स पनि आन्तरिक र बाह्य पर्यटकका लागि सुविधासम्पन्न होटल हो । केजीएच ग्रुपअन्तर्गत कर्ण शाक्यको लगानीमा सञ्चालित उक्त होटलमा ७६ वटा डिलक्स रुमसहित साउना, स्टिम बाथ, जिम सेन्टरसमेत उपलब्ध रहेको होटलका वित्तीय प्रबन्धक श्यामकाजी थापाले बताए । पाँच एकड जमिनमा फैलिएको यो होटल लुम्बिनी आउने बुद्ध अनुयायीका लागि पर्याप्त सुविधासहितको रहेको उनको दाबी छ ।

जिल्लाका परिचित व्यवसायी बालकृष्ण भुसालको लगानीमा होटल मेगाका नाममा भैरहवामा पाँचतारे र बुटवलमा चारतारे होटल निर्माण भइरहेको छ । यसमध्ये भैरहवाको होटल मेगा डेढ वर्षपछि सञ्चालन गर्ने योजना लगानीकर्ताको छ । यो होटल १ लाख ३५ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ । यसको क्यासिनो मात्रै ११ हजार वर्गफिटमा बन्ने भुसालले जानकारी दिए । दुई वर्षमा निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण केही समय बढी लाग्ने देखिएको उनको भनाइ छ । होटलमा ११७ कोठा रहनेछन् । बुटवलमा निर्माण हुने चारतारे होटल मेगा तेस्रो एडिसन हो, जुन होटल ५५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । यसमा ६१ कोठा हुनेछन् भने ३ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।

तिलोत्तमास्थित चारतारे होटल ड्रिमल्यान्डमा कोरोना महामारी सुरु हुनुअघिसम्म विदेशी पाहुनाकै आगमन बाक्लो हुने गरेको सञ्चालक गोपाल राना बताउँछन् । अहिलेलाई भने आन्तरिक पर्यटकले धानिरहेको उनको भनाइ छ । १ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको रिसोर्टमा १ हजार ५ सय पाहुना अटाउने अन्तर्राष्ट्रिय कन्फ्रेन्स हलसँगै ५ अन्य हल र सुविधायुक्त कोठा छन् । ‘चारतारे भएकाले होटलमा सबै सुविधा छन्,’ उनले भने, ‘बिस्तारै लयमा फर्कंदै छ । तर बाह्य पर्यटकको आगमन जरुरी छ ।’ सिद्धार्थनगरस्थित नान्स चारतारे होटल हो । उक्त होटलमा १ अर्ब २५ करोड रुपैयाँ लगानी रहेको सञ्चालक तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताए । होटलमा ६१ कोठा छन् भने आगन्तुकका लागि स्टिम बाथ, साउना बाथ, स्विमिङ पुल, जिम हाउस, हल, लाउन्ज, रेस्टुराँका साथै क्यासिनोको समेत व्यवस्था छ । ‘पछिल्लो दुई महिना भारतीय र नेपाली अतिथिको उपस्थिति ३० प्रतिशत पुगेको छ,’ श्रेष्ठले भने, ‘अब बाह्य पर्यटकको पर्खाइ छ ।’ कोरोना महामारीपछि सञ्चालनमा आएको होटल व्यवसायले गति लिएको र यो गति नरोकिए अर्थतन्त्रमा सुधार आउने दाबी गरे ।

भैरहवामै रहेको चारतारे होटल निर्वाणामा ६० कोठा छन् । होटलमा अतिथि आउने विशेषताका रूपमा ओरियन्टल खानाका परिकार रहेको जनरल म्यानेजर पवन गोयलले बताए । भारतीय र चिनियाँ खानाको सम्मिश्रणलाई एउटै परिकारमा जोडेकाले पाहुनालाई उक्त खानाले लोभ्याउने गरेको उनको अनुभव छ । होटलमा ५ जनाको १६ करोड लगानी छ । सिद्धार्थनगरमा रहेको चारतारे होटल बोधी रेडसनले पनि राम्रै पहिचान बनाएको छ ।

विवाह र अन्य व्यावसायिक कार्यक्रमका लागि हल बुकिङ भइरहेको छ । १ अर्ब लगानी रहेको होटलमा १ सय ५ वटा आवासीय कोठा छन् । तीमध्ये ६ वटा सुइट रुम रहेको प्रमुख कार्यकारी अधिकृत अमृत खनालको भनाइ छ । ‘कोरोनापछि भारतीयबाहेक विदेशी पर्यटक आएकै छैनन्,’ उनले भने, ‘फनपार्क मुख्य आकर्षणका रूपमा रहेकाले आन्तरिक पर्यटकको भने आगमन राम्रै छ ।’ ५० करोड लगानीमा भैरहवामा सञ्चालनमा रहेको चारतारे होटल मौर्यालाई पश्चिमाञ्चलमै अत्याधुनिक सेवासुविधासहितको होटल बनाउने लक्ष्य रहेको सञ्चालक रामबहादुर कोइरी बताउँछन् । ६ तले होटलमा १० सुइट र ४३ वटा सुपर डिलक्स गरी ५३ कोठा छन् । ‘पर्यटकलाई पिक एन्ड ड्रपको सुविधासहित पर्खिरहेका छौं,’ उनले भने, ‘पहिलेको तुलनामा पर्यटक आगमन केही मौलाएको छ ।’

लुम्बिनीस्थित तीनतारे लुम्बिनी होटल कासाई ४ बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । होटलमा रहेका ६० मध्ये ४ वटा सुइट रुम हुन् । यहाँ जापानी, थाई र कोरियाली पर्यटक बढी आउने गरेको होटलका सेफ गीत घलेले बताए । नवौं कासाई (टोकुसिन) को लगानी रहेको होटल जापानी, चिनियाँ र थाई पर्यटकका लागि लक्षित छ । होटलमा जापानी खाना विशेषताका रूपमा रहेको घलेले जानकारी दिए ।

सिद्धार्थनगरमा तीनतारे होटल गौतम बुद्ध एयरपोर्ट प्रालि पनि सञ्चालनमा आउँदै छ । उक्त होटलमा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेसहितको लगानी छ । होटलमा स्विमिङ पुलसहित हेल्थ क्लबलगायत सुविधा उपलब्ध छन् । होटलमा करिब ६० करोड रुपैयाँ लगानी रहेको लामिछानेले जानकारी दिए ।

बुटवलको गोलपार्कमा रहेको होटल एभिन्युमा सरस्वती न्यौपाने र भीमलाल न्यौपानेको २५ करोड रुपैयाँ लगानी छ । होटलमा ४२ वटा कोठा रहेकामा ३ वटा सुइट रुम छन् । उक्त होटलको बाल्कोनीबाट बुटवलको दृश्य देख्न सकिने सञ्चालक भीमलाल न्यौपानेले बताए । होटलमा ५ ब्यांक्वेट हल, २ रेस्टुराँ र २ सय गाडी अट्ने पार्किङस्थल छ । बुटवलको योगीकुटीमा तीनतारे होटल द फ्लामिंगो सञ्चालनमा आएको छ । १० कट्ठा क्षेत्रफलमा फैलिएको होटलमा युवा व्यवसायी दिलीप गौचन र श्याम शेरचनको २० करोड रुपैयाँ लगानी छ । होटलका ५२ मध्ये ३९ कोठा, २ रेस्टुरेन्ट र स्विमिङ पुल पुनः सञ्चालन भएको सञ्चालक गौचनले जानकारी दिए । जिम हाउस, स्पा सेन्टर र स्विमिङ पुलले पर्यटकलाई सजिलै तान्ने भन्दै उनले ग्राहकलाई दिइने राम्रो रुम सर्भिस र परिकारले बजार ओगट्न सक्ने क्षमता आफूहरूमा भएको दाबी गरे । होटलमा ४ सय अट्ने बैंक्वेट हल तथा सय र ३० जना क्षमताका २ वटा कन्फ्रेन्स हल, साउना, स्टिम बाथ, बुटवलको दृश्य अवलोकन गर्न सकिने, रुफटप बारलगायत सेवा उपलब्ध रहेको जनरल म्यानेजर काशीराम अधिकारीले जानकारी दिए । होटलमा थकाली संस्कृति झल्काउने विशेषता र परिकार पनि रहेको उनले बताए ।

फरक विशेषतासहित ग्राहकलाई तान्न भैरहवा–बुटवलको केन्द्र भलवारीमा होटल हिँड्न प्यालेस सञ्चालनमा आएको छ । भारतीय पर्यटक र अन्तर्राष्ट्रिय विमानस्थललाई दृष्टिगत गरी १७ करोड रुपैयाँ लगानीमा हल, रेस्टुरेन्टसहितको होटल सञ्चालनमा ल्याइएको सञ्चालक भुवन शर्मा खनालले बताए । ‘३४ वटा सुविधासम्पन्न कोठा छन्, त्यसमा २ वटा डिलक्स जुनियर सुइट, ९ वटा क्विन बेड र २३ वटा ट्वीन बेड हुन्,’ उनले भने, ‘अल डे डाइनिङ रेस्टुरेन्ट, सेमिनार हल, ३६० भ्यु बार हाउस डोम, ब्यांक्वेट हल, स्विमिङ पुल, बेकरीसहितको सुविधालाई प्रयोग गर्न पाउँदा पाहुनाको राम्रै आगमन भएको छ ।’ पर्यटकको बसाइ लम्ब्याउने सूचीको एक अंश आवास भएको लुम्बिनी विकास कोषका जनसम्पर्क प्रमुख डा. हरिध्वज राईको भनाइ छ ।

प्रकाशित : मंसिर २१, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?