कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनशक्ति थप गरी संसद भवन निर्माण समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन 

काठमाडौँ — सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद् भवनको आइतबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले तोकिएकै समयमा निर्माण सक्न निर्देशन दिएकी छन् । मन्त्री झाँक्रीले निर्माणमा कुनै समस्या रहे मन्त्रालयबाट समाधान गर्न सकिने भन्दै ढिलाई नगर्न निर्देशन दिइन् । 

जनशक्ति थप गरी संसद भवन निर्माण समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन 

मन्त्रीको भनाई उद्धृत गर्दै मन्त्रालयका सहसचिव दीलीपशेखर श्रेष्ठले भने, ‘जनशक्ति अभाव भएमा थपेर तोकिएकै समयभित्र निर्माण सम्पन्न हुनु पर्छ ।’ २०७६ असोज १६ मा निर्माण थालिएको भवनको अहिले सम्म भौतिक प्रगति जम्मा ३५ प्रतिशत छ । जसको निर्माण २०७९ असोज १६ भित्र सक्नुपर्नेछ । भवन निर्माणको ठेक्का टुन्दी/सेक जेभीले ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको हो । अहिले निर्माणमा साढे ३ सय कामदार परिचालित छन् ।

विशेष भवन निर्माण आयोजना प्रमुख समेत रहेका सहसचिव श्रेष्ठले ७ सय जनशक्ति खटाउनेगरी निर्माण व्यवसायीसँग छलफल भइरहेको बताए । ‘यसको काम केही कम भएको छ, प्रगति बढाउनेगरी निर्माण व्यवसायीसँग दुई सिफ्टमा काम गर्नेबारे कुरा भइरहेको छ,’ उनले भने, ‘सहमति भए बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने छ ।’ १ सय ५१ रोपनी क्षेत्रफलमा ११ वटा ब्लक बन्नेछन् ।

प्रतिनिधिसभा भवन भुइँतलामा चार सय र बाल्कोनीमा तीन सय गरी सात सय जना अटाउने क्षमताको हुनेछ । राष्ट्रिय सभा भवनमा भुइँ तलामा सय र बाल्कोनीमा दुई सय गरी तीन सय जना अट्नेछन् । सबै पार्टीको संसदीय दल कार्यालय यही बन्ने श्रेष्ठले बताए ।


प्रकाशित : मंसिर १९, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?