लघु, घरेलु तथा साना उद्योग दर्ता ७० प्रतिशत बढ्यो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — दोस्रो लहरको कोरोना संक्रमण मत्थर भएसँगै लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको छ । जसअनुसार एक खर्ब ८५ अर्ब २० करोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![लघु, घरेलु तथा साना उद्योग दर्ता ७० प्रतिशत बढ्यो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/uddyog-1282020034104-05122021032402-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
हाल अर्थतन्त्र लयमा आउँदै गरेकाले साना उद्योग दर्ता गर्नेहरू बढेको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । ‘लकडाउनले धेरै उद्योग बन्द रहे । यसले अर्थतन्त्रमा पनि असर पर्यो,’ उनले भने, ‘यसबीचमा सरकारले उद्योगहरूका लागि राहतका प्याकेज ल्यायो, जसले गर्दा साना उद्योगमा लगानी बढ्न गयो ।’ सरकारले लिएका कार्यक्रम उद्योगमैत्री भएकाले उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । प्रदेश सरकारहरूले पनि उद्योगलाई छुट सुविधा दिएकाले साना उद्योगमा लगानीको आकर्षण बढेको उनको भनाइ छ ।
‘उद्योगले आफ्नो जग्गा दर्ता गर्दा वाग्मती सरकारले ५० प्रतिशत राजस्व छुट सुविधा ल्यायो । त्यसैले दर्ताको क्रम बढेको हो,’ उनले भने, ‘प्रदेश र स्यानीय तहमा औद्योगिक क्षेत्र स्थापना पनि भइरहेका छन् । यसमा पानी, बिजुली, ठाउँ, बाटोलगायत सुविधा पाइने भएकाले आकर्षण बढेको हो ।’ आर्थिक वर्ष २०७६/७७ मा २१ हजार १ सय ६२ जना महिला र ३० हजार ७ सय पुरुष उद्यमी रहेको विभागकै तथ्यांक छ, जहाँ यी उद्यमीले एक लाख ६९ हजार ७ सय ७१ जनालाई रोजगार प्रस्ताव गरेका छन् । त्यस्तै २०७७/७८ मा ४३ हजार ५ सय ६६ जना महिला र ४६ हजार ३ सय ५८ जना पुरुष उद्यमी छन्, जसले ३ लाख ११ हजार ६ सय ९३ जनालाई रोजगारी प्रस्ताव गरेका छन् ।
विभागले आठ वर्गीकरणमा राखेर लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको पाइन्छ । जसमा उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वनजन्य, खनिज, पर्यटन, सेवामूलक, निर्माण र सूचना तथा प्रविधि उद्योग छन् । यसमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७६/७७ मा २२ हजार ९७ र २०७७/७८ मा ४८ हजार ८ सय ५२ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएको विभागको तथ्यांक छ । त्यसपछि सेवामूलक, उत्पादनमूलक र पर्यटन उद्योग छन् । आर्थिक वर्ष २०५१/५२ देखि हालसम्म ५ लाख २२ हजार ७ सय ३३ वटा यस्ता उद्योग दर्ता भएका छन् ।
औद्योगिक व्यवसाय ऐन २०४९ ले ३० लाख रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग भनी पारिभाषित गरेको थियो । यो खारेज भएर ‘औद्योगिक व्यवसाय ऐन २०७६’ लागू भयो । यो ऐनले लघु उद्यम र घरेलु उद्योगबाहेकको १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योगलाई साना उद्योगको वर्गीकरणमा राखेको छ । घरजग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पुँजी रहेका उद्योगलाई लघु, परम्परागत सीप र प्रविधिमा आधारित हुनेलाई घरेलु उद्योगमा वर्गीकरण गरेको छ ।
‘उद्योगीले उद्योग दर्ता गरेपछि कुन वर्गमा राख्ने भनेर सरकारले सीमा छुट्याएको हो,’ उनले भने, ‘सरकारको उद्योग दर्तालाई सरलीकृत गर्ने योजना हो । रकमको सीमाले भने यसमा खासै प्रभाव गर्दैन ।’
प्रकाशित : मंसिर १९, २०७८ ०८:०४