कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइलको आयातमा कडाइ नगरिने

वितरक संघको अध्यक्षमा चुल्यांद्यो

काठमाडौँ — सरकारले बिलासिता वस्तु आयातमा कडाइ गर्ने नीति लिने बताइरहँदा वितरक र आयातकर्ताले मोबाइल अतिआवश्यक भन्दै यसमा कडाइ नगर्न अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्तामा व्यवसायीले कुनै पनि प्रकारका मोबाइल आयातमा कडाइ नगर्न भनेका हुन् ।

मोबाइलको आयातमा कडाइ नगरिने

‘मन्त्रीज्युलाई भेट्न जाँदा उहाँले महँगा खालका मोबाइल फोन त रोक्नुपर्ला नि भन्नुभयो,’ व्यवसायी दीपक मल्होत्राले भने, ‘विश्वमा सुन, हिरा जडान गरिएका भर्टु ब्रान्ड जस्ता लक्जरी फोन छन् । तर, नेपालमा आएका कुनै पनि मोबाइल फोन लक्जरी होइनन् ।’

वैदेशिक मुद्रा सञ्चिति घटेपछि सरकारले आयातित बिलासिताका बस्तुमा कडाइ गर्न खोजेको छ । त्यसमा मोबाइल नपरोस् भनेर व्यवसायीले अर्थमन्त्री जर्नादन शर्मालाई अनुरोध गरेका छन् । मन्त्री शर्माले मोबाइल अत्यावश्यक बस्तु भएकाले यसमा सरकारले कडाइ नगर्ने स्पष्ट पारे । बुधबार मोबाइल वितरक संघको कार्यक्रममा उनले हाल जसरी आयात भइरहेको छ, त्यसलाई नै निरन्तरता दिने बताए । ‘बिलासिताको वस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन ढुक्क हुुनुस्,’ उनले भने ।

मन्त्री शर्माले मोबाइल मानिसको क्षमताभन्दा पनि अघि बढिसकेको बताउँदै प्रविधिसँगै मानिसको क्षमता पनि वृद्धि गर्नुपर्ने बताए । उनले भने, ‘मोबाइल फोनले हाम्रो आवश्यकताअनुसार चल्न सहज भएको छ । यसमा कनेक्टिभिटी, सञ्चार, मनोरञ्जन, सूचना सबै चीज अटाएको छ । यो अत्यावश्यक बस्तु भएको छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए । ‘हवाइजहाज र मोबाइलले संसारलाई एउटा घर बनाइदिएको छ,’ गोल्छाले भने, ‘त्यसका कारण मोबाइल फोनलाई बिलासिता भन्नु नै गलत हो ।’

उनले अहिले मोबाइल फोन अबैध रूपमा आयात भइरहेको बताउँदै अर्थतन्त्रलाई व्यवस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि अबैध आयात रोक्नैपर्ने बताए । मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले मोबाइल बजारलाई व्यवस्थित गर्दे माथि उठाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । ‘मोबाइल फोन अत्यावश्यक हुँदाहुँदै पनि महँगो भइरहेको छ,’ उनले भने, ‘यसलाई कम गर्न करका दरमा हेरफेर गरिदिनुपर्छ ।’

विभिन्न देशबाट अबैध रूपमा आयात हुने मोबाइल फोनलाई रोक्न मन्त्री शर्माले तत्काल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने घोषणा पनि गरे । उनले विदेशबाट वैधानिक रूपमै दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए । ‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं, विदेशमा दु:ख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ,’ उनले भने, ‘ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अलि समस्या छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’

विभिन्न देशबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रूपमा आयात भई बिक्री बितरण भइरहेको स्वीकार गर्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मोबाइल वितरक संघको अध्यक्षमा चुल्यांद्यो

नेपाल मोबाइल बितरक संघको बुधबार भएको दोस्रो महाधिवेशनले आगामी कार्यकालका लागि २३ सदस्यीय नयाँ नेतृत्व छानेको छ । वर्तमान अध्यक्ष दिनेश चुल्यांद्योको नेतृत्वमा नै नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शिवराज पहारी, उपाध्यक्षमा साहेबलाल साह, महासचिवमा गृहनाथ(रघु) त्रिपाठी, सचिवमा बालनरसिंह कुँवर, कोषाध्यक्षमा अर्जुन गोपाल धौभदेल, सह कोषाध्यक्षमा प्रनव तोदी चयन भएका छन् ।

सदस्यहरूमा शिवराज (नविन) बास्तोला, पुरुषोत्तम श्रेष्ठ, मिठ्ठाराम बास्तोला, आकास अग्रवाल, दीपक कोइराला, रामचन्द्र श्रेष्ठ, खगेन्द्र नेपाल, अरुण कुमार श्रेष्ठ, तुल्सीराम शर्मा, रोहित अग्रवाल, दामोदर खरेल, पवन सिक्का, विकास पोदार, अनिल ठाकुर तथा अनिश बिष्ट रहेका छन् ।


प्रकाशित : मंसिर १६, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?