कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिचौलियालाई सस्तोमा धान बेच्दै किसान

सरकारी दरभन्दा प्रतिक्विन्टल ५ देखि ८ सय रुपैयाँ कम मूल्यमा बेच्न बाध्य
रुपा गहतराज

नेपालगन्ज — भित्र्याउन ठिक्क पारेको धान अविरल वर्षाका कारण भिजेर हैरानी ब्यहोरेका यहाँका किसानलाई त्यही धान काटेर बिक्री गरी वर्षभरिको खर्च जोहो गर्नुपर्ने बाध्यता छ । तर, त्यो धान अझै बेच्न पाएका छैनन् ।

बिचौलियालाई सस्तोमा धान बेच्दै किसान

सरकारले किसानको धान खरिद गर्ने प्रक्रिया सुरु नगर्दा र व्यापारीले उचित मूल्य नदिँदा किसान थप समस्यामा परेका हुन् । ‘वर्षाले धानबालीमा भएको क्षतिले पीडित छौं, सरकारी राहतको आशा नै रहेन । बचेको धान पनि बेच्न पाएनौं,’ जानकी गाउँपालिका–२ भैयापुरका गोरख सुनारले भने, ‘सरकारले राहत दिनु त कता हो कता, वर्षाले बचेको धानबाली बेच्ने वातावरणसमेत बनाइदिएन ।’

जिल्लामा कम्तीमा पनि ३० प्रतिशत धान बालीमा वर्षाले पूर्ण रूपमा क्षति पुगेको थियो । व्यापारीले धान सस्तो मूल्यमा खरिद गर्न लागेपछि किसानको लगानीसमेत नउठ्ने भएको हो । सरकारले तोकेको मूल्य व्यापारीले नदिने र सरकार आफैंले खरिद नगर्ने भएकाले किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य छन् । अहिले सरकारले धान खरिद प्रक्रिया अघि नबढाउँदा व्यापारीले मनोमानी तरिकाले धान खरिद गरिरहेका छन् ।

अखिल नेपाल किसान महासंघको केन्द्रीय सचिव खडक खड्काले खाद्य संस्थानले बेलैमा धान खरिद नगर्दा किसानले सस्तोमा व्यापारीलाई धान बेचिरहेको बताए । अहिले सरकारले धान खरिद प्रक्रिया अघि नबढाउँदा व्यापारीले मनोमानी तरिकाले धान खरिद गरिरहेका छन् । व्यापारीले अहिले प्रतिक्विन्टल ८ सयदेखि १ हजार ८ सय रुपैयाँमा धान खरिद गरिरहेका छन् ।

‘व्यापारीहरू सरकारले तोकेको मूल्यमा किन्दैनन् । किसान सस्तैमा धान बेच्न बाध्य छन्,’ उनले भने, ‘समयमा बीउ र मल नपाएका किसान खेती लगाउँदा लिएको ऋण तिर्न पनि अहिले सस्तोमा धान बेच्न बाध्य छन् ।’ संस्थानले समयमा धान खरिद नगरे तालाबन्दी गरेर देशभर आन्दोलन गर्ने योजना उनले सुनाए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष किसानको धान खरिद गर्दै आएको छ । तर, यस वर्ष धान खरिदको कोटासमेत निर्धारण गरेको छैन । सरकारले धान खरिदको प्रक्रिया अघि नबढाउँदा व्यापारीले न्यूनतम् समर्थन मूल्य दिन पनि मानेका छैनन् । सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मसिनो धान २ हजार ९ सय रुपैयाँ कायम गरेको छ । तर, पश्चिम तराईका किसान भने सरकारी दरभन्दा प्रतिक्विन्टल ५ देखि ८ सय रुपैयाँ कम मूल्यमा धान बिक्री गर्न बाध्य छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका शाखा प्रमुख रामबहादुर विष्टले धान खरिदका लागि कुनै परिपत्र नआएको बताए । ‘माथिबाट नै परिपत्र नआएकाले हामी रोकिएका हौं,’ उनले भने, ‘कति धान खरिद गर्ने, कसरी खरिद गर्ने भन्नेबारे कुनै परिपत्र आएको छैन ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँके, बर्दिया, कैलालीसहित तराईका ८ शाखामार्फत धान खरिद गर्दै आएको छ । गत वर्ष नेपालगन्ज शाखाले मात्र ४८ हजार ८ सय २ क्विन्टल धान खरिद गरेको थियो ।

यस वर्ष कुनै सुरसार नै गरेको छैन । सरकारले कोटा निर्धारण गरेर धान खरिद गरेपछि व्यापारीहरूले त्यही अनुसार प्रतिस्पर्धा गरेर धान खरिद गर्ने गरेका थिए । यसो गर्दा किसानले राम्रो मूल्य पाउँथे । बेच्न तयार पारिएको धान कतिपयले खेतमै थुप्रो बनाएका छन् । घर आँगनमा थुपारेका छन् । दसैंअगाडि र लगत्तै बाँकेसहित तराईका जिल्लाका साना तथा ठूला किसानले धान काट्न सुरु गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?