१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

राराको पर्यटन, स्थानीयलाई आकाशको फल

रारामा वर्षेनी पर्यटन व्यवसाय फस्टाउँदै गइरहेको भए पनि आसपासमा सदियौंदेखि गरिबी र अभाव झेल्दै आएका बस्तीहरुले प्रत्यक्ष लाभ लिन पाएका छैनन् ।
विद्या राई

रारा, मुगु — मुर्मा गाउँका ३२ वर्षीय जीवन रोकायाको परिवारलाई बिहान उठेदेखि घाम नडुबेसम्म पाखोबारीमा घोटिए पनि वर्षभरी खान पुग्दैन । पाँच जनाको परिवारको लालनपालन र छोराछोरीको पढाइ खर्च भरथेग गर्न मुस्किल हुन थालेपछि यिनले खेतीपातीको अलावा घोडा व्यवसाय गर्ने सोच बनाए ।

राराको पर्यटन, स्थानीयलाई आकाशको फल

ऋण गरेर जुटाएको ८० हजार रुपैयाँमा घोडा किने । घोडा किनेपछि परिवारको आर्थिक हैसियत उकासिनेमा उनी आशावादी थिए । रारा घुम्न आएका पर्यटकलाई घोडा सफारी गराउन थाले । रोकाया घरदेखि साढे तीन किलोमिटर टाढा रारादेखि मुर्मा टप, सल्लेरी, ताल्चासम्म घोडा चढाउन पुग्छन् । तर, खेतीको विकल्पमा सुरु गरेको घोडचढी व्यवसायले पनि जीविका चलाउन धौधौ पर्छ ।

घोडा व्यवसाय गर्ने उनी एक्लो होइनन् । रारा आसपास गाउँहरु मुर्मा, झ्यारी, घुइर, सिगारीलगायतका करिब दुई सय जतिले घोडा व्यवसाय गर्छन् । सबैले दिनहुँ घोडा चढ्ने मान्छे पाउँदैनन् । जीवनको कमाई भएको बेला दैनिक पाँच सयदेखि सिजनमा चार हजारसम्म पुग्छ । यो नियमित कमाई भने होइन । घोडा चढ्ने नपाए अबेर साँझ रित्तो हातै घर फर्कनुपर्छ ।

घुमफिरको सिजन असोजदेखि मंसिर–पुस रारामा पर्यटकको बाक्लै चहलपहल हुन्छ । रारा राष्ट्रिय निकुञ्जका वार्डेन बद्रीविनोद दाहालका अनुसार दैनिक सय हाराहारी पर्यटक हुन्छन् । बाँकी छ महिना चहलपहल घट्छ । छ महिनाभरको कमाइले वर्षदिन जीविका चलाउन मुस्किल पर्छ । ‘कमाइ भए पनि नभए पनि घोडालाई दाना खुवाउनुपर्छ, दिनमा पाँच/आठ सयको दाना खान्छ, घोडा दौडाउन्जेल आफूले खाना खाजा खानुपर्‍यो, कत्ति नि बच्दैन,’ जीवनले सुनाए । घोडा चढाउने मान्छे नपाएको सिजनमा ढुंगा, बालुवा बोक्ने, गिटी कुट्ने, घर/भवन बनाउने कडा शारीरिक परिश्रम लाग्ने मजदुरी गरेर पेट पाल्नुपर्छ ।


अस्थायी जीविकाको सट्टामा यिनी नियमित आयको बाटो खोजिरहेका छन् । बाहिरबाट रारा घुम्न आएकाहरुले फर्कने बेला मार्सी चामल, सिमिको दाल, स्याउ, मह, जडिबुटी चियाजस्ता अर्गानिक, रैथाने उत्पादन कोसेली लैजान खोज्छन् । घोडा चढाएर मुर्मा टप जाँदा होस् या ताल्चा विमानस्थल पुग्दा, यस्ता रैथाने उत्पादन किन्ने ठाउँ सोधिखोजी गर्छन् ।

यसबाट रैथाने उत्पादनको तयारी कोसेली पसल खोलेर व्यापारका लागि प्रेरित भएका छन् । हुन पनि यहाँ ताल्चा विमानस्थलमाथि ‘रारा कोसेली होम’ बाहेक अन्यत्र यस्ता पसल छैनन् । यिनी मुर्मा गाउँसम्म आइपुगेकालाई फर्कने बेला यहीबाट कोसेली उपलब्ध गराउने व्यवसाय गरेर रारामा फस्टाउँदै गरेको पर्यटन व्यवसायको सम्भावनामा जोडिन चाहन्छन् ।

तर चाहेजस्तो सजिलो कहाँ छ र यिनलाई । पसल थाप्न लगानी चाहिन्छ । लगानीको ल्याकत पुग्दैन । ‘मन भएर के गर्नु, लगानी गर्न धन छैन,’ यिनले भने । यिनको भनाइमा साथमा पाँच लाख नगद भएको मानिसलाई धन भएको मानिन्छ । ‘पसल राख्न पाए, घुम्न आएकाहरुले फर्किँदा राराको चिनो लिएर जानेथिए, मलाई दुई/चार पैसा आम्दानी हुन्थ्यो, मान्छे पाइयोस्/नपाइयोस् घोडा दौडाएर ओहोरदोहोर, उकालो-ओरालो झन्झट गर्नुपर्दैन थियो,’ खुइय्या गर्दै भने ।

पछिल्ला वर्षहरुमा राराको पर्यटनले उचाइ लिइरहेको छ । रारा राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट राजकुमार न्यौपानेका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा रारामा ११ हजार छ सय ६९ स्वदेशी र चार सय ६० विदेशी घुम्न आएका थिए । आव ०७६/०७७ मा नौ हजार सात सय ७० स्वदेशी र दुई सय ६६ विदेशी तथा आव ०७७/०७८ मा १० हजार दुई सय १७ स्वदेशी र २२ जना विदेशी घुम्न आएको निकुञ्जको अभिलेख छ । पछिल्ला दुई वर्षमा कोरोना महामारीको प्रभावले पर्यटक आगमन घटेको भए पनि समग्रमा रारामा पर्यटन चहलपहल बढिरहेको छायाँनाथ रारा नगरपालिका–९ का वडाध्यक्ष मणिचन्द्र रोकायाले भने ।


तर रारा वरिपरि गाउँका जीवन रोकायाजस्ता स्थानीयले यहाँको पर्यटन व्यवसायको बढ्दो गतिविधिबाट प्रत्यक्ष लाभ उठाउन पाएका छैनन् । समुदायस्तरबाट जति संलग्न छन्, अधिकांश घोडा व्यवसायमा छन् । एकै व्यवसाय चाप भएपछि कमाइ पर्दैन । थोरै कमाइले घोडाको दाना किन्न पनि नपुग्ने स्थिति आइपर्ने अर्का घोडा व्यवसायी सिपाज रोकायाले दुखेसो पोखे । पर्यटन व्यवसायको विविधिकरणअनुरुप काम पाए जीविका चलाउन टेवा पुग्ने जीवन र सिपाजजस्ता स्थानीयको अपेक्षा भए पनि उनीहरुलाई प्रत्यक्ष लाभ पुर्‍याउने काम भएको छैन ।

केही वर्षयता रारा ताल छेउको डाँफे होटलसहित निकुञ्जको मध्यवर्ती आसपासमा होटल, घरबास (होमस्टे) खुल्न थालेका छन् । तालछेउबाट चार किमि उकालो चढेपछि मुर्मा टप पुगिन्छ । यो समुद्र सतहदेखि ३ हजार ७२६ मिटरको उचाईमा अवस्थित छ । यहाँबाट रारा तालको पुरा आकृति देखिन्छ । अपि–सैपाल, छायाँनाथ, कान्जिरोवालगायत हिमशृंखला देख्न सकिन्छ  ।

स्थानीयले मुर्मा टपलाई पोखराको सराङकोटको संज्ञा दिने गरेका छन् । मुर्मा टपबाट झण्डै दुई किमि मुनि झरेपछि मुर्मा गाउँ पुगिन्छ । रारादेखि सबैभन्दा नजिकको गाउँमा पर्यटकीय गतिविधि जति मात्रामा बढी हुनुपर्ने हो, त्यो हुन सकेको छैन । मुर्मावासीले सामुदायिक होमस्टे पनि खोलेका छन् । केही परिवारलाई होमस्टे तालिम पनि लिए । गत वर्ष कर्णाली प्रदेश सरकारले ‘नमुना मुर्मा गाउँ विकास’ अन्तर्गत एक घर, एक होमस्टे कार्यक्रमका लागि दुई करोड रुपैयाँ विनियोजन पनि गरेको थियो । सोही कार्यक्रमअन्तर्गत पाएको अनुदानबाट मुर्माका ७६ परिवारले निलो जस्ता हालेर छानो फेरे । घर मर्मतका लागि काठ सहयोग भएको थियो ।

तर राराबाट एकदेखि डेढघण्टा हिँडेर पुगिने यहाँ पर्यटक भित्र्याउन स्वागत, सत्कार, प्रचारप्रचार तथा प्रवर्द्धनजस्ता पर्यटन व्यवसायको ज्ञान उनीहरुसित पर्याप्त छैन । जसले गर्दा पाहुना नियमित आइपुग्दैनन् । यी केही उदाहरणहरु मात्रै हुन् । मुर्मा, झ्यारी, घुइर, सिगारीलगायत रारा वरिपरिका बस्तीलाई पर्यटनमा जोड्ने काम भएको छैन । जो रारा वरिपरीका गाउँ भए पनि पुस्तौंंदेखि गरिबी र भोकको सामना गर्दै आएका छन् ।

‘सबै मान्छे रारा छेउछाउ नै बस्ने भए, चिल्लो पिरो खानेहरु सबै उतै, होटलमा खचाखच भएर दु:ख पाउँछन्, अब फर्केर रारा आइँदैन भन्दै जान्छन्, यो त हाम्रो लागि घाटा हो नि, सजिलो गरी बस्न, सस्तो, अर्गानिक खान गाउँ आउनु पर्‍यो नि आइपुग्दैनन्,’ मुर्माकी २२ वर्षीया सविना रावलले भनिन् ।


बरु रारामा पर्यटन व्यवसायको फाइदा लिनेमा राजनीतिक पहुँच भएका र व्यापारीक घरानाका सीमित व्यक्तिहरु पर्छन् । काठमाडौं, पोखराका व्यवसायीदेखि गैरआवासीय नेपालीले समेत होटलका लागि यहाँ जमिन किन्न थालेका छन् । मुर्मा टप सामुदायिक विकास केन्द्र अध्यक्ष विर्ख रोकायाका अनुसार घर खर्चको आपत् परिरहेका मुर्मावासीले सस्तो मूल्यमा नै जग्गा बेच्न थालेका छन् । स्थानीयलाई राराको पर्यटनसँग जोड्न नसकिए उनीहरु निकट भविष्यमै झन सिमान्तकृत अवस्थामा पुग्नसक्ने बताउँछन् ।

उनको भनाइमा सरकार र सरोकारवालाले स्थानीयलाई ‘टुरिस्ट गाइड’, भरियाको तालिम दिने, काम दिने, स्वागत, सत्कार सिकाउने, प्रचारप्रसारमा सघाउने, रैथाने बाली र खानाको प्रवर्द्धन गर्ने जस्ता स–साना काममा सहयोग गरिदिए पुग्छ । ‘कोहीले कमाउने, कोहीले नकमाउने हुनुहुँदैन, समान अवसर हुनुपर्‍यो,’ घोडा व्यवसायको उदाहरण जोड्दै उनले भने, ‘घोडसवारीमा पनि ट्राभल एजेन्सी, ठूलाबडाको ‘सिन्डिकेट’ छ, एजेन्सीहरुको सम्पर्कका घोडावालले घोडा चढ्ने मान्छे पाइरहने भो, सम्पर्क नहुनेको पाउनै गाह्रो छ ।’


रारा राष्ट्रिय निकुञ्जका वार्डेन बद्रीविनोद दाहालको भनाइ उनको भन्दा फरक छैन । यहाँको मानिसहरु पहिल्यैदेखि पूर्ण रुपमा कृषि गर्दै आएका छन् । उर्वरा कम हुने भएकाले खानाको अभावै छ । केही वर्षयता जलवायु परिवर्तनको प्रभावले उब्जनी झन् घटिरहेको छ । उनी भन्छन्, ‘स्थानीयहरु जीविका चलाउने वैकल्पिक पेसाको खोजीमा छन्, पर्यटनको प्रचूर सम्भावना बोकेको राराको पर्यटन व्यवसायमा उनीहरुलाई जोड्न सकिएको छैन, फाइदा लिन पाइरहेका छैनन् ।’

यता छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले नगरवासीलाई रैथाने बाली र खाद्यान्न बिक्रिवितरणका लागि हौसला दिँदै आएको र थप गतिविधिहरुमा सहभागिता बढाउँदै जाने बताए । ‘राराको सौन्दर्य नगरपालिकाकै अर्थोपार्जनको केन्द्र भएकाले समुदायका धेरै भन्दा धेरै मानिसलाई, विशेषगरी कमजोर, पछाडि परेकालाई प्रत्यक्ष फाइदा पुर्‍याउने खालका पर्यटन गतिविधिमा निरन्तर जोड्दै जानेगरी प्याकेजहरु ल्याउनुपर्ने भएको छ, त्यो खालको योजनाको तयारी पनि भइरहेको छ,’ उनले भने ।

प्रकाशित : मंसिर १५, २०७८ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?