कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मन्त्री नै ठगिएपछि सुरु भयो विमानस्थलमा सटल बस 

काठमाडौँ — विमानस्थलका ट्याक्सी मिटरमा जानै मान्दैनन् । यात्रुसँग मोलमोलाइमा जाने नै भए पनि दुई/तीन ठाउँका यात्रु राखेर मात्रै हिँड्ने समस्या अन्त्य नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा बुधबारदेखि सटल बस सेवा सुरु गरिएको छ । 

मन्त्री नै ठगिएपछि सुरु भयो विमानस्थलमा सटल बस 

नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार बिहान ती बसको उद्घाटन पर्यटनमन्त्री प्रेमबहादुर आलेले गरे । उनले सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक विमानस्थल प्रहरीलाई ट्याक्सीको ठगी नियन्त्रण गर्न निर्देशन दिएका थिए । तर पनि यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको थालनी गर्नुपरेको बताए ।

‘काठमाडौंमा पढ्ने विद्यार्थीहरु घर बिदाबाट फर्किंदा रासनपानी बोकेर आएका छन् । जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन्,’ उनले भने, ‘मै पनि विगतमा कोटेश्वरसम्म जाँदा डेढ/दुई हजार तिर्न बाध्य भएको थिए । यही लुट अन्त्य गर्न सटल बसको थालनी गर्नुपरेको हो ।’

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार, अब हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बस सित्तैमा सञ्चालन हुनेछन् । तीनले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् । ‘अब आन्तरिक यात्रुले आरोलामा ट्रली गुडाउँदै बसको चिन्ता गर्नुपर्दैन । सटल बसले खुला सडकसम्म पुर्‍याइदिने छ । त्यहाँबाट यात्रुले क्षमता अनुसार ट्याक्सी वा बस चढ्न सक्ने छन् ।’

हवाई यात्रुले विमानस्थल सेवा प्रयोग गरेबापत २ सय रुपैयाँ सेवा शुल्क अनिवार्य टिकटमै तिरेका हुन्छन् । यो सुविधा यसैअन्र्तगत नि:शुल्क राखिएको छ । यसैबीच श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ । पर्यटन मन्त्री आलेले यस्को उद्घाटन गर्दै गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए ।

यसअघि श्रमिकहरु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता थियो । अहिले सञ्चालनमा ल्याइएको विश्राम घरमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्जर, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालय/विमानस्थलको हटलाइन नम्बर राखिएको छ ।

वैदेशिक रोजगारमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्न सक्नेछन् । अहिले २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले बताए । यसैबीच मन्त्री आलेकै निर्देशनका विमानस्थलमा रहेका कफी पसलले पनि १५ प्रतिशत मूल्य घटाएका छन् ।


प्रकाशित : मंसिर १५, २०७८ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?