कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीले अझै रेल सञ्चालन मिति तोक्न सकिनन्

ठ्याक्कै यही मितिमा रेल चल्छ भन्न सकिन्न तर यस वर्षभित्रै सञ्चालनमा आउँछ– रेणुकुमारी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री

धनुषा — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यसै वर्षभित्र रेल सञ्चालन गर्ने तयारी भए पनि मिति तोक्न नसकिने बताएकी छिन् । जनकपुरमा नेपाल रेलवेका भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री यादवले मंगलबार रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको दाबी गरिन् ।

मन्त्रीले अझै रेल सञ्चालन मिति तोक्न सकिनन्

‘ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न सक्ने अवस्था त छैन,’ उनले भनिन्, ‘तर यस वर्षभित्रै रेल सञ्चालनमा आउँछ । आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । रेलवे सञ्चालन गर्न अध्यादेश निर्माण गरिएको छ ।’ सरकारले अध्यादेशमार्फत रेलवे कानुन ल्याउने तयारी गरेको पनि उनले बताइन् । कानुन, बजेट र प्राविधिक अभावमा रेल सञ्चालनमा ढिलाइ भएको उनले स्विकारिन् । ‘अध्यादेशमार्फत रेलवे कानुन बनाउन सरकारले तयारी गरेको छ,’ उनले भने, ‘आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेशमार्फत रेलसम्बन्धी कानुन ल्याउन प्रस्ताव पेस गरेकी छु । एक साताभित्र कानुनी प्रक्रिया पूरा हुन्छ ।’ रेलवे सञ्चालनका लागि कर्मचारी भर्ना पनि छिट्टै सुरु हुने उनको दाबी छ ।

रेल सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको र भारतीय केआरसीएल कम्पनीसँग दुईपक्षीय जीटूजी सम्झौताअन्तर्गत पहिलो किस्ता बुझाइसकिएको यादवले बताइन् । कर्मचारी, बजेट र भाडा दर तोक्न प्रक्रिया अगाडि बढाउने क्रममा रहेको उनको भनाइ छ । मन्त्रीसँगै निरीक्षणमा रहेका रेल विभागका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनसम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानुन र भाडादर निर्धारण गर्ने काम अगाडि बढन नसकेको बताए ।

‘भारतीय कम्पनी केआरसीएललाई इनर्वामा राखिएका रेल सेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकिएको छ,’ उनले भने, ‘उसले प्राविधिक रिपोर्ट तयार पारी जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मिति तोक्छौं ।’ गत वर्ष नेपाल सरकारले खरिद गरेका दुई सेट रेल धनुषाको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?