कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन विमानस्थलबाट एकै दिन २१ केजी सुन बरामद 

काठमाडौँ — एकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ केजी सुन बरामद भएको छ । सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए ।

त्रिभुवन विमानस्थलबाट एकै दिन २१ केजी सुन बरामद 

‘सोमबार भएको घटना हो । ४ सय १५ जना यात्रुबाट प्रतिव्यक्ति ५०–६० ग्रामसम्म काँचो सुन सिस्टमले पहिचान गर्‍यो,’ उनले भने, ‘यसलाई हामीले नियन्त्रणमा लिएका छौं, भन्सार राजस्व तिर्न लगाएका हौं । जफत गरेका होइनौँ ।’ उनका अनुसार ४ सय १५ जनामध्ये १ सय ९५ यात्रुले भन्सार महशुल तिरेर आफ्नो सुन लगिसकेका छन् । ती यात्रुबाट १० केजी काँचो सुनको भन्सार जाँचपास गरेर करिब ९४ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

‘बाँकी यात्रुले भन्सारकै लकरमा राखेका छन् । हामीले लकरमा राखे बापत एउटा स्लिप दिन्छौँ,’ उनले भने, ‘त्यसको ६० दिनभित्र आफूले तिर्नुपर्ने भन्सार रकम तिरेर लैजान सक्छन् । सोमबार नतिरेकाले आज (मंगलबार) बुझाएर लगिरहेका छन् ।’ उनका अनुसार एक व्यक्तिले सुन आयात गर्दा अधिकतम ५० ग्रामसम्म ल्याउन पाउँछ । यो व्यवस्थाअन्तर्गत प्रति १० ग्राम सुनको ९ हजार ५ सय र त्यो भन्दा माथिको प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार राजस्व तिर्नुपर्ने हुन्छ ।


प्रकाशित : मंसिर १४, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?