कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोदोको रक्सीलाई ब्राण्ड बनाउने तयारीमा गण्डकी विश्वविद्यालय 

पाँच जिल्लाबाट संकलित कोदो, मर्चा र रक्सी नमुना परीक्षण गरिँदै 
प्रतीक्षा काफ्ले

कास्की — गाउँघरमा बनाइने कोदोको रक्सीले बजार पाएको छैन । सरकारले कानुनी मान्यता नदिएकाले यस्तो रक्सी उत्पादन तथा बेचविखनलाई समेत अवैधानिक मानिँदै आएको छ । प्रहरीले पनि घरेलु रक्सी जफत गरी नष्ट गर्दै आएको छ । जसले गर्दा शहरी क्षेत्रको बजार विदेशी रक्सीले नै तताएको छ । 

कोदोको रक्सीलाई ब्राण्ड बनाउने तयारीमा गण्डकी विश्वविद्यालय 

यस्तो अवस्थामा गण्डकी विश्वविद्यालय भने कोदोको रक्सीका लागि ब्राण्ड बनाउने तयारीमा लागेको छ । स्याङ्जा, नवलपुर, कास्की, म्याग्दी र लमजुङ जिल्लाबाट एक/एक किलो कोदो, कोदोको रक्सी, रक्सी बनाउन प्रयोग गरिने मर्चाका ४२५ नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले बताए ।

‘दक्षिण कोरियामा स्थानीय रक्सी सुजु नामको आफ्नै ब्राण्ड छ’ तिमिल्सिना भन्छन् ‘नेपालमा पनि कोदोको ब्राण्ड किन नबनाउने ? घरेलु उत्पादनलाई प्राथमिकता दिन र विदेशी रक्सीको आयात कम गर्नको लागि कोदोको ब्राण्ड खोजी गर्न लागिएको हो ।’ उनले नमुना संकलन गरी परीक्षणको लागि पठाइसकिएको बताए । ‘विदेशी रक्सीको आयात कम गर्न खोजेका हौं’ उनले थपे, ‘स्थानीय रक्सीको कारोबार हुन थाल्यो भने ठूलो आर्थिक कारोबार नेपालमा नै हुने थियो ।’

ब्राण्डेड रक्सीको लागि करोडौं रुपैयाँ विदेशिने गरेको उनले बताए । घरेलु मदिराको प्रयोग गर्दा बिरामी भएका, मृत्यु भएका घटना पनि निम्तिने गरेका छन् । विश्वविद्यालयले कोदोको रक्सीमा मिसाइने तत्व, यसको हानी नोक्सानी तथा फाइदाका विषयमा समेत अनुसन्धान थालिएको जनाएको छ । कोदो, मर्चा र रक्सीको गुणस्तर मापन गर्न चितवनस्थित खाद्य विभागको प्रयोगशाला कृषि विश्वविद्यालय पठाइएको हो ।

परीक्षणका लागि पठाइएको रक्सीमा खाद्य विभागको विश्लेषणबाट इथानेल, मिथानेल, आर्सेनिक, लिड, मर्करी लगायतका तत्वको मात्रा पत्ता लाग्ने उनको भनाइ छ । उनले साँस्कृतिक र स्वास्थ्य दुवै पक्षलाई मध्यनजर गर्दै अध्ययन गरिने बताए । कोदोको रक्सी कति समयसम्म राख्न मिल्छ, गर्मी वा चिसो कुन मौसममा राखिन्छ ? कसरी गुणस्तर कायम गर्न सकिन्छ ? भन्ने विषयमा पनि बहस चलेको छ ।

विभागको नतिजापछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रक्सीको गुणस्तर छ या छैन भनेर सम्बन्धित विज्ञसँग अध्ययन गराइने विश्वविद्यालयले जनाएको छ । कसरी व्यवस्थापन गर्ने भनेर संघीय सरकारसँगै छलफल गर्ने तिमिल्सिनाले बताए । ‘हामीले आर्थिक पक्षलाई पनि हेर्नुपर्छ’ उनले थपे, ‘कानुनी रुपमा मान्यता दिने हो भने कोदोकै रक्सीबाट ठूलो मात्रामा आर्थिक कारोबार हुन्छ । विदेशी रक्सी भन्दा स्वदेशी रक्सीकै ब्राण्ड बन्छ र माग बढ्छ ।’


प्रकाशित : मंसिर १४, २०७८ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?