कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च अदालतको आदेशले अब महँगोमै खाद्यान्न ढुवानी

प्रतिकिलो ४२ रूपैयाँ महँगो ठेक्का रोक्न माग गरिएको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
राजु चौधरी

काठमाडौँ — पाटन उच्च अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता र अन्तरिम आदेश नदिएपछि हुम्लामा प्रतिकिलो ४२ रुपैयाँ महँगोमै खाद्यान्न ढुवानी गर्ने बाटो खुला भएको छ । किलोमै ४२ रुपैयाँ महँगो कबुल्ने श्रीर्मिका कार्गोलाई ढुवानी अनुमति दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको निर्णयविरुद्ध समिट एयरले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

उच्च अदालतको आदेशले अब महँगोमै खाद्यान्न ढुवानी

अदालतले आइतबार सुनुवाइ गर्दै यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिइरहनु नपर्ने र निवेदकको मागबमोजिम अन्तरिम आदेशसमेत दिनु नपर्ने निर्णय सुनाएपछि महँगोमै ठेक्का प्रक्रियाको बाटो खुला भएको हो ।

‘निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण हुन उपयुक्त हुने देखिएकाले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन,’ आइतबारको आदेशमा भनिएको छ, ‘मंसिर २ गते जारी आपत्कालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । नियमानुसार गर्नू ।’ न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । उनीहरूको आदेशसँगै महँगो मूल्यमा श्रीर्मिकाले ढुवानी गर्ने बाटो खुलेको छ ।

खाद्य कम्पनीले हवाईमार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन बोलपत्र आह्वान गरेपछि ४ कम्पनीले आवेदन दिए । तर किलोमै ४२ रुपैयाँ महँगो कबुल्नेलाई अनुमति दिन खोज्दा विवाद भइरहेको छ । खाद्यले हुम्लामा नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न गरेको बोलपत्र आह्वानमा श्रीर्मिकाले नेपालगन्जदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपैयाँ र सुर्खेतबाट सिमकोटसम्म १ सय ५ रुपैयाँ कबोल गरेको थियो ।

बोलकबोलका क्रममा सीता एयरले सुर्खेत–सिमकोटका लागि प्रतिकिलो ६३ रुपैयाँ र नेपालगन्ज–सिमिकोटका लागि प्रतिकिलो ७८ रुपैयाँ कबुलेको थियो । त्यस्तै समिट एयरले सुर्खेत–सिमकोट प्रतिकिलो ९७ रुपैयाँ र नेपालगन्ज–सिमकोट प्रतिकिलो ८९ रुपैयाँ कबोल गरेको थियो । तारा एयरले प्रतिकिलो सुर्खेतबाट ७८.९० र नेपालगन्जबाट १ सय १० रुपैयाँमा ढुवानी गर्न सक्ने प्रस्ताव गरेको थियो । खाद्य कम्पनीको यस्तो निर्णयले १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्दा राज्यको ढुकुटीबाट ३ करोड ८८ लाख बढी खर्च हुन्छ ।

हेलिकोप्टर बिग्रिएपछि लिमीमा ७८ क्विन्टल मात्रै खाद्यान्न ढुवानी

सेनाको हेलिकोप्टर बिग्रिएपछि हुम्लाको लिमीमा सोमबार ७८ क्विन्टलमात्रै खाद्यान्न ढुवानी भएको छ । सोमबार बिहान ७ देखि ढुवानी सुरु भएको थियो । तर हेलिकोप्टरमा प्राविधिक समस्या आएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । सिमिकोटबाट २ ट्रिपमा २१ क्विन्टल ढुवानी भएको छ । सिमिकोट र लिमीको हवाई दूरी करिब आधा घण्टाको हो । सिमीकोटबाट चामल लिमीमा खसालेर हेलिकोप्टर चामल लिन हिल्सा पुगेको आचार्यले बताए ।

‘हिल्साबाट भने लिमीमा ५७ क्विन्टल ढुवानी भयो । प्राविधिक कारण एक बजेपछि ढुवानी गर्न सकेनौं । सुर्खेतमा प्राविधिक जाँच भइरहेको छ । हेलिकोप्टरमा समस्या आएन भने मंगलबार पुनः ढुवानी गर्छौं,’ आचार्यले भने । चीनको सीमानाका हिल्सामा ५ क्विन्टल चामल र ४६१.५ क्विन्टल मात्र पीठो छ । हिउँका कारण ढुवानी हुन नसक्दा नाम्खा गाउँपालिकामा खाद्य संकट परिरहेको छ ।

हुम्लामा खाद्यान्न संकट चुलिएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ काठमाडौंमा आएर अर्थ र गृहमन्त्रीलाई भेटेका थिए । उनले आफूहरूका समस्याबारे गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर पनि गुनासो पोखेका थिए । पाण्डेले गत बुधबारदेखि ढुवानी गरिदिने आश्वासन दिए पनि चार दिनपछि मात्रै ढुवानी भयो । हुम्लामा ६० हजार जनाको बसोबास छ । जिल्लामा २७ हजार ९ सय क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको छ । तर ४ महिनादेखि यहाँ खाद्यान्न पुगेको थिएन ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?