कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिलिमे-त्रिशूली थ्रीबी प्रसारण लाइनको काम छिटो सक्न कुलमानको निर्देशन 

समयमै प्रसारणलाइन नबनेमा तीन आयोजनाको विद्युत खेर जाने 

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन तथा सबस्टेसनको काम छिटो सक्न निर्देशन दिएका छन् ।  रसुवा तथा नुवाकोटमा बन्ने आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यो प्रसारण लाइन महत्वपूर्ण रहेको भन्दै उनले आगामी साउनभित्र काम सक्न निर्देशन दिए ।

चिलिमे-त्रिशूली थ्रीबी प्रसारण लाइनको काम छिटो सक्न कुलमानको निर्देशन 

घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरेको हो । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर तीब्रता दिन आग्रह गरेको छ ।

‘यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, यो या त्यो बहाना बनाएर ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिँड्नुहोस्,’ घिसिङले भने । नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन प्राधिकरणले सक्दो सहयोग गर्ने उनले आश्वासन दिए ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ । प्रसारण लाइन अभावमा आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको समग्र निर्माण ६० प्रतिशत सकिएको आयोजनाले दावी गरेको छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे र त्रिशुली थ्रीबी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै, चिलिमे–त्रिशूली थ्रीबी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

दुबै सबस्टेसनमा सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको दावी छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआइएसलगायतका महत्वपूर्ण उपकरणको उपलव्धता ६५ प्रतिशत भइसकेको छ । आयोजनाका अनुसार प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशुली थ्रीबी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरको बनावट र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी लगायत आवश्यक बस्तु खच्चड वा मान्छेबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी ‘पिङगाओ ग्रुप अफ कम्पनीज’ हो भने परामर्शदाता भारतको पावर ग्रिड हो ।

प्रकाशित : मंसिर १२, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?