कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अर्थतन्त्र पुनरुत्थान उन्मुख : राष्ट्र बैंक

कोरोनाको दोस्रो लहरपछि उत्पादन, कारोबार र रोजगारीमा उल्लेख्य सुधार भएको निष्कर्ष

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहरपछि अर्थतन्त्र चलायमान भई पुनरुत्थान उन्मुख रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योग/व्यवसायहरूको उत्पादन एवम् कारोबारको अवस्था र रोजगारीमा उल्लेख्य सुधार आएको सार्वजनिक ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ को निष्कर्ष छ ।

अर्थतन्त्र पुनरुत्थान उन्मुख : राष्ट्र बैंक

गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसायहरू सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग/व्यवसायहरू मात्र सञ्चालन हुन नसकेको पाइएको छ । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरूले कोरोना महामारीका कारण बजारमा माग घटेको, चालु खर्च धान्न समस्या रहेको र श्रमिकसँग सम्बन्धित समस्याको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उनीहरूमध्ये केहीले उद्योग/व्यवसाय बिक्री गरेको बताएका छन् भने केहीले निकट भविष्यमा पुन: सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् ।

कोरोनाको दोस्रो लहरपछि करिब ८७ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको प्रतिवेदनले औंल्याएको छ । ‘सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ ।’ सो अवधिमा रोजगारीको अवस्थामा समेत सुधार आई ९७.२ प्रतिशत पुगेको छ । दोस्रो लहरअघि रोजगारीको अवस्था ७७.५ प्रतिशत थियो ।

सर्वेक्षणअनुसार खानी तथा उत्खनन, विद्युत्, ग्यास, पानीलगायत उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएका छन् भने खुद्रा तथा व्यापार, स्वास्थ्य तथा सामाजिक कार्य सम्बन्धित उद्योगहरू ९० प्रतिशतभन्दा धेरै क्षमतामा सञ्चालन भएका छन् । १०.४ प्रतिशत उद्योगहरू आंशिक क्षमतामा सञ्चालनमा छन् भने २.३ प्रतिशत मात्र सञ्चालन हुन सकेका छैनन् । ‘२०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरूको उत्पादन/कारोबार बढेको पाइएको छ तर होटल तथा रेस्टुरेन्ट क्षेत्रको सुधार तुलनात्मक रूपमा कम रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरूले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भई कोरोना महामारी सुरु हुनुभन्दा अघिको अवस्था नजिक पुगेको प्रतिवेदनको ठहर छ । रोजगारीको अवस्था ठूला उद्योगहरूको तुलनामा साना उद्योगमा धेरै सुधार भएको पाइएको प्रतिवेदनले औंल्याएको छ । जसअनुसार लघु उद्यम तथा खुद्रा व्यापारमा रोजगारीको अवस्था ९९.८ प्रतिशत र घरेलु उद्योगमा ९८ प्रतिशत छ । सोही अवधिमा ठूला उद्योगहरूमा रोजगारीको अवस्था ८६.४ प्रतिशत, मध्यममा ८९.४ र साना उद्योगमा ९४.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘उद्योग/व्यवसायहरूले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ । कोरोना महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा ९६.१ प्रतिशत पुगेको छ । तर खानी तथा उत्खनन र विद्युत्, ग्यास तथा पानीलगायत क्षेत्रका उद्योग/व्यवसायको औसत तलब–ज्याला खर्च महामारीअगाडिकै अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ । दोस्रो लहरपछि ठूला उद्योगहरूको ज्याला–खर्च १०१.८ प्रतिशत छ भने मध्यम खालका उद्योगको ९६.८ प्रतिशत छ । २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार सबैको औसत तलब–ज्याला खर्चमा उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

तर उद्योग/व्यवसायहरूले बजार माग नबढ्नाले कारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकाले कठिनाइ भएको जस्ता समस्याहरूलाई प्राथमिकतामा राखेका छन् । राष्ट्र बैंकले व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे २०७७ असार, २०७७ मंसिर र २०७८ वैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरूबाट पुन: तथ्यांक संकलन गरी २०७८ कात्तिक ७–१७ सम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण गरेको हो ।


प्रकाशित : मंसिर ९, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×