कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार महिनामा ६१.५७ प्रतिशतले बढ्यो आयात

व्यापार घाटा ५ अर्ब ६८ अर्ब नाघ्यो, वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको ११.२१ प्रतिशत

काठमाडौँ — चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकमा नेपालले गरेको वस्तु आयात ६१.५७ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा यसवर्ष २ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ बराबरले आयात बढेको छ ।

चार महिनामा ६१.५७ प्रतिशतले बढ्यो आयात

गत साउन १ देखि कात्तिक मसान्तसम्ममा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यही अवधिमा निर्यात भने ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको छ । यो गत वर्षको यही अवधिको तुलनामा १०४ प्रतिशतले बढी हो । चार महिनामा कुल ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।

यद्यपि, पहिलो चौमासिकमा आयात–निर्यात अनुपात भने गत वर्षको तुलनामा घटेको छ । गत वर्ष कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.९२ प्रतिशत र निर्यातको हिस्सा ९.०८ प्रतिशत थियो । तर चालु आर्थिक वर्षको यही अवधिमा यस्तो अनुपात क्रमशः ८८.७९ र ११.२१ प्रतिशत छ । कुल वैदेशिक व्यापारमा गत वर्षको तुलनामा आयात अनुपात २.३४ प्रतिशतले घटेको छ भने निर्यात अनुपात २३.४८ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपालले भारतबाट मात्र ३ खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ बराबरको सामान भित्र्याएको छ भने ६६ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । भारतसँगको मात्र व्यापार घाटा ३ खर्ब १९ अर्ब १ करोड ३१ लाख रुपैयाँ देखिन्छ । त्यस्तै, चीनबाट नेपालले ९४ अर्ब ३० करोड १५ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ३१ करोड १२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । जसअनुसार चीनसँग मात्रै भोगेको व्यापार घाटा ९३ अर्ब ९९ करोड रुपैयाँ छ । त्यसैगरी, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा त्यहाँ १ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अर्जेन्टिनासँग १९ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबरको आयात र ३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ । संयुक्त अरब इमिरेट्स (यूएई) सँग १८ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात गर्दा १७ करोड ६२ लाख रुपैयाँ बराबर मात्रै निर्यात भएको छ ।

मुलुकभरका भन्सारमध्ये सबैभन्दा धेरै वीरगन्ज नाकाबाट २ खर्ब २३ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने भैरहवा नाकाबाट १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, निर्यातमा वीरगन्ज, विराटनगर र त्रिभुवन विमानस्थल भन्सारबाट क्रमशः ३९ अर्ब ५६ करोड, २२ अर्ब ५१ करोड र ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले विदेश पठाएको छ ।

यो अवधिमा नेपालले सबैभन्दा धेरै २६ अर्ब ४० करोड ११ लाख रुपैयाँ बराबर भटमास (सोयाबिन) को तेल निर्यात गरेको छ । कच्चा सोयाबिन तेलको आयात पनि उच्च छ । विभागका अनुसार कात्तिक मसान्तसम्ममा २७ अर्ब २२ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । त्यस्तै, १८ अर्ब रुपैयाँ बराबरको पाम आयल, १ अर्ब ६० करोड रुपैयाँ बराबरको अलैंची र २ अर्ब ३ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको छ ।

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयातको अवस्था हेर्दा ३४ अर्ब ३३ करोड रुपैयाँ बराबरको डिजेल, १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोल र १७ अर्ब ४३ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास भित्रिएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?