१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चार महिनामै व्यापार घाटा ५ खर्ब ६८ अर्ब

अर्थमन्त्री भन्छन् : बलपूर्वक आयात घटाउनुपर्ने हुन सक्छ

काठमाडौँ — चार महिनामै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । स्वदेशमै उत्पादन गर्न सकिने बस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा उच्च दरले बढेको भन्सार विभागको तथ्यांक छ ।  गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब रुपैयाँ थियो ।

चार महिनामै व्यापार घाटा ५ खर्ब ६८ अर्ब

विभागको तथ्यांक अनुसार यस आर्थिक वर्षको चार महिनाको अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु आयात भएको छ ।

आयात परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१.५७ प्रतिशतले बढी हो । यद्यपि निर्यात पनि १ सय ४ प्रतिशतले बढेको छ । निर्यातको आकार निकै सानो हुँदा शत प्रतिशतले बढ्दा पनि व्यापार घाटामा त्यसको प्रभाव देखिन सकेको छैन । गत वर्ष चार महिनामा ४० अर्ब २० करोड रुपैयाँको बस्तु निर्यात भएकोमा अहिले बढेर ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । पाम र भटमासको कच्चा तेल आयात हुने र नेपालमा प्रशोधन गरी फेरि निर्यात हुने भएकाले निर्यातको वृद्धिदर उच्च देखिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पनि बढेको आयातप्रति असन्तुष्ट जनाएका छन् । बुधबार अर्थ मन्त्रालयमा बसेको यस आवको प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि जनाए । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँदै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

सो बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए । उनले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको दावी गरे ।


प्रकाशित : मंसिर ८, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?