कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मुन्दुम ट्रेल मोहनी

पदमार्गअन्तर्गत सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ 
डम्बरसिं राई

खोटाङ — खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या बढ्न थालेको छ । पदमार्गअन्तर्गत सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक पर्यटकले ४५ हिमशृंखला पनि हेर्न पाउनेछन् । यहाँ मासिक एक–डेढ सय पदयात्रीले ट्रेल छिचोलेको पर्यटन व्यवसायीहरूले बताएका छन् । 

मुन्दुम ट्रेल मोहनी

तराईका भूभागसमेत अवलोकन गर्न सकिने भएकाले यो ट्रेलमा पदयात्रीको रुचि बढ्दै गएको मैयु टेम्के सालपा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताए । पदमार्ग आसपास किराती समुदायको बसोबास छ । ‘किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले यस पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो,’ उनले भने ।

ठूला घाँसेमैदान, फराकिला चौंरीखर्क तथा भेडीगोठको बीचबाट डाँडा छिचोल्दै विभिन्न प्रजातिका गुराँस, जडीबुटी अवलोकन गर्न पाइन्छ । यो यात्रामा मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न चराचुरुंगी, लोपोन्मुख रेडपान्डा, भीर माहुरी, सालक, कालोभालुलगायतका जंगली जनावर पनि देख्न सकिन्छ । सगरमाथा शिखरमा पहिलो पाइला टेकेका तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा रुट प्रयोग गरेको अध्यक्ष राईको दाबी छ । ‘मध्यपहाडी लोकमार्ग आसपास भएकाले अझ सहज छ । यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ,’ उनले भने, ‘यसले किराती समुदायको विकासमा पनि मद्दत पुर्‍याउने अपेक्षा गरेका छौं ।’

स्थानीयले मुन्दुम पदमार्गमा पर्यटनका नयाँ आयामसमेत थप गरेका छन् । गोठस्टे विकासका लागि अन्तरक्रिया थालिएको छ भने दुर्गाधन राईको अध्यक्षतामा मुन्दुम गोठस्टे समिति नै गठन गरिएको छ । गोठ परम्परालाई विश्वसामु परिचित गराउँन गोठस्टेको परिकल्पना गरिएको पूर्वसांसद टंक राईले बताए । मुन्दुम पदयात्रामा किराती स्वादको परिकार अर्को विशेषता हो । फापर, कोदो तथा गहुँको रोटी, ढिँडो, मकैको ठेप्ला, सिस्नोको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटीलगायतका परिकार पाइन्छन् । यसबाहेक कालिज तथा रैथाने कुखुराको मासु उपलब्ध छ । चौरीको दूध, घ्यू, जडीबुटीयुक्त भीर माहुरीको महले यात्रा थप स्वादिलो बनाउने व्यवसायीको भनाइ छ ।

यो पदमार्ग सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको प्रदेशसभा सदस्य रामकुमार राई बताउँछन् । पदमार्ग विकासका लागि प्रदेश र स्थानीय सरकार तथा स्विस सरकारले लगानी गरेका छन् । प्रदेश र स्विस सरकारको ३५–३५ प्रतिशत र विभिन्न पालिकाको ३० प्रतिशत लगानीले मुन्दुम ट्रेल विकासको काम भइरहेको हो । यसमध्ये खोटाङको साकेला गाउँपालिका, भोजपुरको भोजपुर नगरपालिकामा पर्ने क्षेत्रको काम लगभग सकिएको छ । भोजपुरको षडानन्द नगरपालिका र टेम्के मैयु गाउँपालिका क्षेत्रको ६० प्रतिशत तथा खोटाङको केपिलासगढी गाउँपालिका क्षेत्रमा ४० प्रतिशत काम सम्पन्न भएको छ । करिब १२ दिनको रुट तय गरिएको पदयात्रामा आफ्नै व्यवस्थापनमा जाने हो भने २०–२५ हजार खर्च लाग्ने मैयु टेम्के सालपा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष राईले बताए ।

कसरी जाने पदयात्रा ?

काठमाडौंबाट २ सय २३ किलोमिटर पार गरेपछि दूधकोसी नदी (जयरामघाट) हुँदै हलेसी पुगिन्छ । काठमाडौंबाट करिब २५ मिनेटको हवाई यात्रापछि लामीडाँडा विमानस्थल अवतरण गर्न पनि सकिन्छ । मुन्दुम ट्रेलको अर्को आकर्षणचाहिँ किरात ऐतिहासिक थलो तुवाचुङ जायमुम पनि हो । हलेसीभन्दा केहीमाथि तुवाचुङ छ । पहिलो दिन दिक्तेलमा बसेपछि अर्को दिन पर्यापर्यटनको केन्द्रबिन्दु रूपाकोटमा विभिन्न जैविक विविधता, जनावरलगायतको अवलोकन गर्दै ३ हजार १ सय ६५ मिटर अग्लो टेम्केडाँडाको फेद चखेवा पुगिन्छ । तेस्रो दिन विभिन्न हिमशृंखला, गुराँस दृश्यावलोकन गर्दै भोजपुर र खोटाङको केपिलासगढी गाउँपालिकाको बीचमा पर्ने धोद्रे देउराली पुगिन्छ । यहाँ स्थानीय खाना र रुचि हुनेका लागि स्थानीय मदिरा पनि उपलब्ध हुन्छ । बासका लागि भने आफ्नै टेन्ट उपयोग गर्नु उपयुक्त हुन्छ ।

चौथो दिन भेडीगोठ, चौंरीगोठ, विभिन्न हिमशृंखलाको अवलोकन गर्दै ३ हजार ३ सय ५० मिटर अग्लो मैयु डाडाँको हाँसपोखरीसम्म पुगिन्छ । यहाँ चौरीको दूध, मही, दही, घ्यूलगायतका स्थानीय परिकार पाइन्छन् । बासका लागि पदयात्री आफैंले जोहो गर्नुपर्ने हुन्छ । हाँसपोखरीबाट खोटाङको केपिलासगढी गाउँपालिकाको लौरेडाँडा आसपासमा पर्ने रावाढाप पुग्दा पाँचौं दिन बित्छ । यहाँ लोपोन्मुख रेडपान्डा, भीर माहुरी अवलोकन गर्न सकिन्छ । रावाढापबाट हिँडेको दिन ३ हजार ७ सय ५० मिटर अग्लो सालपा पोखरीको बेसक्याम्प पुग्दा छैटौं दिनको बास हुन्छ ।

सातौं दिन सालपा बेसक्याम्पबाट २० मिनेटमाथि सालपा पोखरी पुगिन्छ । त्यसमाथि ४ हजार १ सय ५५ मिटर अग्लो सिलिचुङडाँडा पुगिन्छ । त्यहाँबाट रमणीय हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । आठौं दिन केपिलासगढीको ह्याकुलेडाँडामा बास बस्न सकिन्छ भने अर्को दिन मैयुडाँडा हाँसपोखरी र दसौं दिन भोजपुरको सावागाउँ तिम्माको मुन्दुम होमस्टे पुगिन्छ । एघारौं दिन भोजपुरको टक्सार, भोजपुरा बजार, सुन्तलेडाँडालगायतका रमणीय स्थलको अवलोकन गर्न सकिन्छ । बाह्रौं दिन पदमार्गको चरण समाप्त हुन्छ ।

प्रकाशित : मंसिर ८, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?