सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घट्यो

रासस

काठमाडौँ — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रकाशित : मंसिर ७, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

कसले धान्ला किसुनजीको विरासत ?

गुटबन्दी र भागबन्डाले जर्जर कांग्रेसमा किसुनजीले जस्तो त्याग गर्न कोही तयार छैनन्
लोकतन्त्रका लागि पारिवारिक विरासत घातक हो, गणतन्त्रमा त यसको कल्पना पनि गर्न सकिँदैन ।-पुरञ्जन आचार्य,राजनीतिक विश्लेषक
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेस राजनीतिमा पारिवारिक विरासत झाँगिइरहँदा संस्थापक नेता कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासतको स्वामित्व कसले लिने भन्ने अलमल देखिन्छ । उनको आदर्शबाट प्रभावित भई राजनीतिमा स्थापित केही नेताले राजनीतिक विरासत सम्हाल्ने प्रयास गरे पनि आगामी महाधिवेशनमा छुट्टै समूहले आकार लिने अवस्था छैन । 

कांग्रेस स्थापनामा महत्त्वपूर्ण योगदान गर्नुका साथै करिब २२ वर्ष (पञ्चायतकालमा कार्यवाहकसमेत) पार्टीको नेतृत्व गरेका भट्टराई जीवनभर अविवाहित रहे । ८६ वर्षको उमेरमा २०६७ फागुन २० मा उनको निधन भयो । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव उनका भतिजा विनोद भट्टराई विशेष गरी किसुनजीले नेपाली समाजमा सुशासन, लोकतन्त्रप्रतिको अटुट आस्था र सरलता गरी तीन वटा आदर्श छोडेर गएका बताउँछन् । ‘अहिले पनि कांग्रेसमा किसुनजीलाई आदर्श मान्ने नेता–कार्यकर्ताको कमी छैन तर तिनीहरू विभिन्न गुट–उपगुटमा विभाजित भए,’ उनले भने, ‘उहाँको राजनीतिक आदर्शलाई संगठित रूपमा प्रचार–प्रसार गर्ने र विचारलाई प्रवाह गर्ने नेतृत्वको अभाव देखिन्छ ।’

कांग्रेसमा पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय, रामहरि खतिवडालगायत नेताहरू भट्टराईलाई आदर्श मान्ने र उनको प्रेरणाबाट स्थापित हुनेमा पर्छन् । तर उनीहरूले भट्टराईको आदर्शलाई विचार समूहका रूपमा संगठित गर्ने प्रयास गरेका छैनन् । पार्टी महामन्त्री खड्का बेलाबखत भट्टराई आश्रम बाँडेगाउँ पुग्छन् ।

बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम । फाइल तस्बिर

पछिल्लोपटक ५ साउनमा बाँडेगाउँ पुगेका उनले त्यहाँबाट भने, ‘मेरो राजनीति र जीवन दर्शनका गुरु किसुनजीको आश्रममा, जसको प्रेरणाले यसपटक संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता मिल्यो ।’ खड्कासँगै बाँडेगाउँ पुगेका खतिवडाले उक्त दिनको आश्रम भ्रमण राजनीतिक रूपमा अर्थपूर्ण रहेको बताए । भट्टराईको राजनीतिक उत्तराधिकारीको नेतृत्व खड्काले गरिरहेको उनको भनाइ छ । ‘किसुनजीको आदर्शलाई हामीले कतिसम्म अनुशरण गर्न सक्यौं, त्यो समीक्षाको विषय हुन सक्ला,’ खतिवडाले भने, ‘तर उहाँको भौतिक शरीर नरहे पनि आदर्श र विचार बोक्ने नेता–कार्यकर्ताको कमी छैन ।’

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष दीपकुमार उपाध्याय भने भट्टराईका हजारौं अनुयायी नेता–कार्यकर्ता भए पनि त्यसलाई संयोजन गर्ने नेतृत्वको अभाव रहेको बताउँछन् । ‘गुटबन्दी र भागबन्डाले पार्टी जर्जर बनेको छ, किसुनजीले जस्तो त्याग गर्न कोही पनि तयार छैनन्,’ उनले भने, ‘त्यसैले यसपालिको महाधिवेशनमा मैले कुनै व्यक्तिको गुटको कांग्रेस बन्न चाहन्न भन्दै प्रतिस्पर्धा नगर्ने घोषणा गरेको छु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई नेपाली राजनीतिमा आदर्शका धरोहर भए पनि उनी कांग्रेसमा स्थापनाकालदेखि नै हुर्केको गुटगत राजनीतिक प्रभावबाट टाढा भने हुन सकेनन् । २०१७ साल अगाडिसम्म कांग्रेसभित्र बलियो गुट कमै थिए । राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गर्दै शासन सत्ता हातमा लिएपछि कसरी अगाडि बढ्ने भन्नेमा बीपी र सुवर्णशमशेरबीच मनमुटाव देखियो ।

दुवै नेताको निधनपछि पञ्चायतकालमा दुई धार अन्तरसंघर्ष भयो । गणेशमान सिंह र भट्टराई सत्याग्रहको लाइनमा अडिग रहे भने गिरिजाप्रसाद कोइरालाले व्यवहारवादी राजनीतिका नाममा पञ्चायती चुनावलाई उपयोग गर्ने नीति लिए । २०४६ सालको परिवर्तनपछि कांग्रेसमा गुटगत प्रतिस्पर्धा चरम रूपमा अघि बढ्यो । २०५१ मा पुग्दा बहत्तरे र छत्तिसे समूह खडा भए । छत्तिसे समूहलाई संरक्षण दिने काम भट्टराईले गरे । ‘पार्टीभित्र अन्तरसंघर्ष गर्नुका साथै जीवनको उत्तरार्धमा आफैंले जन्माएको पार्टी छोड्नुपर्ने अवस्था नआएको होइन,’ प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, ‘तर उहाँले आफूले अँगालेका आदर्शलाई कहिल्यै पनि छोड्नु भएन ।’

कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले आ–आफ्नो समूह सक्रिय बनाइरहेका छन् । विशेषगरी कोइराला, सिंह र निधि समूहले पारिवारिक विरासतलाई बलियो बन्ने आधार बनाएका छन् । सभापति शेरबहादुर देउवाले पदमा छँदै पारिवारिक विरासत विस्तारको प्रयास गरिरहेका छन् । प्रकाशमान सिंह पुत्र प्रभासमान सोमबार सम्पन्न काठमाडौं–७ को क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट भए । यस्तो अवस्थामा भट्टराईको पारिवारिक विरासत बोक्ने उत्तराधिकारी नभए पनि राजनीतिक विरासत बोक्न सक्ने नेताले आसन्न महाधिवेशनमा पर्याप्त लाभ लिन सक्ने अवस्था छ ।

भट्टराईलाई आफ्नो जीवन र राजनीतिको आदर्श गुरु ठान्ने महामन्त्री खड्का वर्तमान सत्ता गठबन्धनका महत्त्वपूर्ण सारथि छन् । २०४८ मा भट्टराईका प्रमुख स्वकीय सचिव भएका ज्ञानेन्द्रबहादुर कार्की, २०५६ मा प्रमुख राजनीतिक सल्लाहकार भएका नारायण खड्का र २०४४ मा भट्टराईले नेविसंघ अध्यक्ष बनाएका बालकृष्ण खाँण मन्त्री छन् । प्रतिष्ठानका महासचिव विनोद भट्टराईले केही नेताले किसुनजीको आदर्शलाई पछ्याएर हिँड्ने प्रयास गरेका भए पनि उनको विचारलाई कार्यकर्ता तहसम्म प्रशिक्षित गर्ने काम नभएको बताए । ‘मैले किसुनजीको भतिजा भए पनि कहिल्यै पारिवारिक विरासतको लाभ लिने प्रयास गरिनँ, उहाँले जीवित छँदा पनि विरासत हस्तान्तरणको सोच राख्नुभएन,’ उनले भने, ‘अब भावनात्मक रूपमा भट्टराईलाई आदर्श मान्ने जनमत आकर्षित गर्न महाधिवेशनको मुखमा बाँडेगाउँ जाने लहर चल्न सक्छ ।’

२०४६ सालपछि सक्रिय राजनीतिमा आएकी सुजाता कोइरालालाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र विवाद हुँदाहुँदै उपप्रधानमन्त्री बनाएका थिए । त्यसपछि उनी राष्ट्रिय राजनीतिमा स्थापित भइन् । पछिल्लो समय कांग्रेसमा पारिवारिक विरासतको लाभ लिने नेतामा महामन्त्री शशांक कोइरालाको नाम पनि आउने गर्छ । सरकारी चिकित्सकबाट सेवानिवृत्त भएपछि राजनीतिमा आएका कोइराला २०६२ मा पार्टीको ११ औं महाधिवेशनबाट एकैपटक केन्द्रीय सदस्य भए । १३ औं महाधिवेशनमा महामन्त्री भए ।

विद्यार्थी राजनीतिबाट संघर्ष गरेर स्थापित भएका विमलेन्द्र निधि र प्रकाशमान सिंहको राजनीतिक जीवनमा पनि पारिवारिक विरासत जोडिन छोडेको छैन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोइराला परिवारको विरासत कांग्रेस राजनीतिमा सबैभन्दा बढी प्रथाका रूपमा स्थापित भएको बताउँछन् । आचार्यको विचारमा दक्षिण एसिया र नेपालमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरेका नेतालाई ‘स्यालुट’ गर्ने चलन कायम छ । संघर्षमा होमिएको परिवारलाई आन्दोलनको संस्थाकै रूपमा लिने गरिन्छ । ‘लोकतन्त्रका लागि पारिवारिक विरासत घातक हो, गणतन्त्रमा त यसको कल्पना पनि गर्न सकिँदैन,’ उनी भन्छन्, ‘तर जन्मका आधारमा भाग्य निर्धारण हुने हाम्रो समाजमा यसले गहिरो जरा गाडेको छ ।’

पछिल्लो समय सभापति देउवाले श्रीमती आरजु र पुत्र जयवीरसिंहलाई राजनीतिमा अघि बढाउन खोजेका छन् । आरजु २०७० को संविधानसभा निर्वाचनमा डडेलधुराबाट सिफारिस भई समानुपातिक सभासद भएकी थिइन् भने २०७४ को निर्वाचनमा कैलाली–४ बाट प्रतिनिधिसभा निर्वाचन लडेकी थिइन् ।

प्रकाशित : मंसिर ७, २०७८ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×