कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमिसनको खेलमा हुम्लामा खाद्यान्‍न अभाव

 विवाह, व्रतबन्ध, काजकिरियालगायत काम उम्काउन पनि चामल भएन 
चामल ल्याउन काठमाडौं आएका प्रमुख जिल्ला अधिकारी रित्तो हात फर्किए 
राजु चौधरी

काठमाडौँ — दुर्गममा खाद्यान्न ढुवानीमा कमिसनको खेल चलिरहँदा हुम्लामा भने खाद्यान्न अभाव चुलिएको छ । भौगोलिक रूपमा विकट हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । खाद्यले चालु आर्थिक वर्षमा हुम्लामा २७ हजार ९ सय क्विन्टल चामल ढुवानी गर्ने भनेको छ । तर ढुवानीमा हुने कमिसनको खेलले चार महिना बित्दासमेत उसले ढुवानी गरेको छैन ।

कमिसनको खेलमा हुम्लामा खाद्यान्‍न अभाव

‘खाद्यले जेठमा एकपटक ढुवानी गर्‍यो, त्यो चामल साउनमै सकियो । त्यसपछि ढुवानी भएको छैन । साउनमा ढुवानी गर्नुपर्ने अहिलेसम्म यत्तिकै अड्किएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘हुम्लामा बेहाल भयो, विवाह, व्रतबन्ध, काजकिरियालगायत काम उम्काउन पनि चामल नपाइएर बिजोग छ ।’

जिल्लामा चामल अभाव भएपछि चामल उपलब्ध गराइदिन भन्दै खाद्यलाई दुईपटक पत्र पठाइएको उनले बताए । ‘तर खाद्यले छिट्टै पठाउने आश्वासन मात्रै दियो, चामल पठाउन ढिलाइ गरिदियो,’ उनले भने । त्यसैले उनी आफैं कात्तिक २३ मा काठमाडौं आएका थिए । ‘खाद्यका प्रतिनिधिसँग टेलिफोनमा कुरा हुँदा कात्तिकबाट ढुवानी हुन्छ भनिएको थियो । पठाउँछु भनेका थिए । तर पठाएनन्,’ आचार्यले भने, ‘त्यही भएर काठमाडौं नै आएँ ।’

खाद्यले हुम्लामा हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न गत साउन १५ मा बोलपत्र आह्वान गरेको थियो । नेपालगन्ज हवाई मैदानदेखि हुम्लाको सिमकोट हवाई मैदान र सुर्खेत हवाई मैदानदेखि हुम्लाको सिमकोट हवाई मैदानसम्म खाद्यान्न ढुवानी गर्न गरिएको उक्त बोलपत्रमा वायु सेवा सञ्चालक संघले बिचौलियासँग साँठगाँठ भएको आरोप लगााएको थियो । मूल्य अभिवृद्धि करमा दर्ता हुनु नपर्ने हवाईजहाज कम्पनीलाई पाखा लगाउन मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने प्रावधान राखेर बिचौलियालाई प्रोत्साहन गर्न खोजिएको संघका महासचिव मनोज कार्कीको भनाइ थियो ।

संघको विरोध हुँदाहुँदै खाद्यले किलोमै ४२ रुपैयाँ महँगो कबुल्नेलाई दुर्गममा खाद्यान्न ढुवानी जिम्मा दिने निर्णय गरेपछि थप विवाद चर्किएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले ढुवानी ठेक्का अनधिकृत ठहर गर्दै कात्तिक ४ मा बदर गरेको थियो । समितिले हुम्लामा खाद्य ढुवानी प्रक्रिया पुनः मूल्यांकन गरेर अघि बढाउनसमेत भनेको थियो ।

महँगो प्रस्ताव गर्ने श्रीर्मिका एयर काग्रो सर्भिसलाई १० हजार क्विन्टलको ठेक्का दिन कम्पनीले कात्तिक २९ मा पुनः सूचना निकालेपछि कानुनविपरीत भन्दै समिट एयर प्रालिका तर्फबाट प्रवीण खरेलले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले ढुवानी रोक्न आदेश जारी गरेपछि अहिले त्यो पुनः रोकिएको छ । ‘कमिसनको चक्करले श्रीर्मिकालाई नै ढुवानी जिम्मा दिन जोख्दा हुम्लाका जनताले दुःख पाउने भए,’ कम्पनीका एक अधिकारीले भने ।

प्रक्रिया नमिलेको भए नियामक निकायले अन्य विकल्पबाट भए पनि चामल पठाउनुपर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । ‘खाद्यका कार्यकारी निर्देशक मोहन चन्दसँग भेट हुँदा उजुरी परेकाले ढिलाइ भइरहेको जानकारी गराउनुभयो,’ आचार्यले भने, ‘प्रक्रिया मिलेको छैन भने हेर्ने निकायले छानबिन गर्नुपर्‍यो । तर खाद्यान्न तत्काल चाहिन्छ । चामल लिन आएको थिएँ, रित्तो हात फर्किनुपर्‍यो ।’

हुम्लामा केही समस्या नै देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले पनि स्विकारिन् । ‘त्यहाँ चामल न्यून छ । तत्कालका लागि विकल्ल्प हवाईमार्ग नै हो । तर अदातलबाट ‘स्टे अर्डर’ आएको छ,’ उनले भनिन्, ‘हवाईबाहेक चिनियाँ नाकाबाट पनि ढुवानी हुन्थ्यो । त्यही पनि कोभिडले सीमा बन्द हुँदा त्यहाँबाट पनि ढुवानी हुन सकेन ।’

खाद्यको सिमकोट शाखा कार्यालयमा २३७ र श्रीनगर डिपोमा १५० क्विन्टलमात्र चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय हुम्लाका शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । अन्य डिपोमा चामल छैन । कर्मचारी पनि छैनन् ।

‘चामलको माग बर्सेनि हुन्छ । सहर बजार जस्तै छैन, गाडी जाँदैन । ढुवानीका लागि जहाजबाहेक अन्य विकल्प पनि छैन,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘एक किलो चामलको मूल्य १३० रुपैयाँ पर्छ । तर पनि भनेको समयमा पाइन्न ।’ खाद्यले निश्चित समयका लागि सूचना निकालेर बाँड्छ । दसैंअघि एकपटक वितरण भएको थियो । त्यसपछि वितरण ठप्प छ ।

प्रकाशित : मंसिर ४, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?