कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइला प्रयोग कटौतीबारे चीन र भारतले भने : ‘फेज आउट’ होइन, ‘फेज डाउन’

एजेन्सी

काठमाडौँ — संयूक्त  राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २६ औं सम्मेलन (कोप–२६) का क्रममा इन्धनको स्रोतका रुपमा कोइलाको प्रयोग शून्यमा झार्ने लक्ष्यका साथ तयार पारिएको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्न चीन र भारतले अस्वीकार गरेका छन् ।

कोइला प्रयोग कटौतीबारे चीन र भारतले भने : ‘फेज आउट’ होइन, ‘फेज डाउन’

ती दुई देशले कोइला प्रयोगलाई तत्काल शून्यमा झार्न नसकिने भन्दै घटाउँदै जाने विषयमा मात्रै आफ्नो सहमति रहने जनाएका हुन् । चीनले कोइला प्रयोग तत्काल घटाउन नसक्ने र 'नेट जीरो' अवधारणाको लक्ष्य पुरा गर्न अरु देशको तुलनामा बढी समय लाग्ने यसअघि नै बताउँदै आएको छ । कोइला कटौतीमा ढिलाइ गर्ने चीनको यस्तो नीतिमा कोप–२६ पछि भारत पनि सहमत भएको छ । यी दुई देशको भनाइप्रति विश्वव्यापी रुपमा आलोचना भइरहेको छ ।

कोप–२६ आयोजक समितिका संयोजक तथा बेलायती सांसद आलोक शर्माले चीन र भारतले किन कोइला प्रयोग शून्य पार्न चाहँदैनन् भनेर स्पष्ट कारण खुलाउनुपर्ने बताएका छन् । ‘मानवीय स्वास्थ्यका हिसाबले ज्यानमारा साबित भइसकेको कोइला प्रयोगलाई चीन र भारतले किन निरन्तरता दिन चाहिरहेका छन् भनेर खुलाउनुपर्छ,’ सम्मेलन समापन समारोहका क्रममा शर्माले बताएको द गार्जियनले उल्लेख गरेको छ ।

कोप–२६ को अन्तिम सम्झौताका क्रममा कोइला प्रयोगको विषयलाई लिएर चीन र भारतले ‘फेज आउट’ भन्ने शब्दमा विमति जनाएपछि त्यसको ठाउँमा ‘फेज डाउन’ भन्ने राखिएको पनि द गार्जियनले उल्लेख गरेको छ । ‘जसको अर्थ उनीहरुले अहिलेकै अनुपातमा कोइला प्रयोग गर्दै जानेछन् भन्ने हो । हामीले कडा मेहनत गर्दा २ वर्षभित्रमा कोइला प्रयोग शून्यमा झार्ने लक्ष्य राखेका थियौं,’ शर्माले भनेका छन् ।


प्रकाशित : मंसिर १, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?