कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन महिनाको व्यापार घाटा ४ खर्ब १३ अर्ब, शोधनान्तर स्थिति ७६ अर्ब ऋणात्मक 

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा देशको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब पुगेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ५८.३ प्रतिशतले बढेको हो । 

तीन महिनाको व्यापार घाटा ४ खर्ब १३ अर्ब, शोधनान्तर स्थिति ७६ अर्ब ऋणात्मक 

यस आर्थिक वर्षको पहिलो तीन महिनामा ६५ अर्ब ५ करोड रुपैयाँको सामान देशबाहिर पठाइएको छ भने ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको भित्र्याइएको छ । तीन महिनामा ५४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । गत वर्षको सोही अवधिमा जम्मा २३ अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

यस आवको तीन महिनामा ४० अर्ब ६७ करोड रुपैयाँ बराबरको सवारीसाधन तथा पार्टपूर्जा भित्रिएको छ । गत वर्षको सोही अवधिमा २४ अर्ब ७४ करोडको सवारीसाधन तथा पार्टपूर्जा भित्रिएको थियो । त्यस्तै कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात उच्च दरले बढेको छ । सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात भने गत वर्षको तुलनामा घटेको छ ।

सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । सोयाविन र पाम कच्चा तेल आयात गर्ने र नेपालमा प्रशोधन गरी फेरि बाहिर पठाइँदा यी वस्तुको निर्यात उच्च देखिएको हो । चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात भने घटेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत थियो ।

शोधनान्तर स्थिति ७६ अर्ब ऋणात्मक

व्यापार घाटा उच्च दरले बढिरहँदा शोधनान्तर स्थिति (मुलुकको भुक्तानी सन्तुलन)मा ऋणात्मक असर परेको छ । शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटा (ऋणात्मक) छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचत (धनात्मक) थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको छ ।


प्रकाशित : कार्तिक ३०, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?