पेट्रोलियम पदार्थको मूल्य नघट्ने, अझै बढाउने निगमको संकेत- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थको मूल्य नघट्ने, अझै बढाउने निगमको संकेत

विद्यार्थीको एकसूत्रीय माग: मूल्य खारेज हुनैपर्छ, तर निगम भन्छ - ‘अनुदान नदिए आईओसीलाई भुक्तानी गर्न सक्दैनौं’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई  भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले घाटा कम गर्न सरकारले अनुदान नदिए मूल्य समायोजनको विकल्प नरहेको स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुसँग सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा छलफल भएको थियो । छलफलमा निगमले तथ्याङ्क प्रस्तुत गर्दै घाटा थेग्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

‘सचिवज्यूको आह्वानमा भएको छलफलमा ८ वटै विद्यार्थी संगठनको सहभागिता थियो । उनीहरुको एक सूत्रीय माग नै बढेको मूल्य खारेज हुनुपर्ने थियो’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने, ‘हामीले अहिलेको अवस्थामा नोक्सानीको यथार्थ विवरण प्रस्तुत गऱ्यौँ । आइओसीलाई पैसा तिर्न सरकारबाट अनुदान वा ऋण लिनु पर्ने अवस्था आइसकेको छ ।’

निगमले अझै मूल्य बढ्ने संकेत समेत गरेको छ । उपाध्यायले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छैन, उस्तै छ । भारतबाट नयाँ मूल्यसूची भोलि आउँछ, बढेरै आउने अनुमान छ । त्यसपछि फेरि समायोजनको निर्णय गर्छौं ।’ छलफलका क्रममा वाणिज्य सचिव भट्टराईले बजार मूल्य बढ्न नदिने र निगमलाई घाटाबाट बचाउन पनि थप गृहकार्य भइरहेको आश्वासन दिए ।

उनले प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गरेर निर्णय गरिने बताएका थिए । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउँदा बढाउनुपर्ने बाध्यता रहेको निगमले बताउँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहदा यहाँ कर घटाएर उपभोक्तालाई केही राहत दिन सकिने भए पनि सरकारले चासो दिएको छैन । निगमको तथ्यांकअनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ । त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ प्रतिलिटर जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३. ७७, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च रहँदै आएको छ ।

प्रकाशित : कार्तिक २९, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

अदालतलाई प्रहरी ब्यारेकजस्तो बनाइयो : नेपाल बार 

'प्रहरीको बलमा अदालत प्रवेश गरी आफूलाई सम्मानित र सम्माननीय छु भन्ने दम्भ प्रदर्शन गरिनु घोर लज्जा र आपत्तिजनक'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले सुरक्षाकर्मीको बलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु लज्जा र आपत्तिजनक विषय भएको भन्दै जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले अदालतलाई प्रहरीको ब्यारेकजस्तो बनाएको र सुरक्षाकर्मीको बल प्रयोगबाट सर्वोच्च अदालतभित्र विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायी घाइते भएको उल्लेख गरेको छ ।

बारका महासचिव लिलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कानुन व्यवसायीहरूको शान्तिपूर्ण विरोध कार्यक्रममा अदालत प्रांगणमा सयौं सशस्त्र प्रहरी राखी अदालतलाई प्रहरी ब्यारेकजस्तो बनाउने र प्रहरीको बलमा अदालत प्रवेश गरी आफूलाई सम्मानित र सम्माननीय छु भन्ने दम्भ प्रदर्शन गरिनु घोर लज्जा र आपत्तिजनक विषय रहेको छ । तसर्थ, यस्तो रवैयाले हाम्रो विरोध कार्यक्रमको उपादेयता थप पुष्टि गरेको छ ।'

प्रधानन्यायाधीश जबरालाई बारले गत शुक्रबारदेखि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै आएको छ । प्रधानन्यायाधीश जबरा मूल गेटमा भइरहेको प्रदर्शन छलेर वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् । गेटमा जान विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीहरूलाई सुरक्षाकर्मीले रोक लगाउँदै आएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले मुलुकभरका इकाईमा विरोध गरिरहेको छ । बारको विज्ञप्तिमा भनिएको छ, 'उहाँको राजीनामा नआएसम्म भोलिका दिनमा पनि विरोध कार्यक्रमहरू जारी नै रहने व्यवहोरा जानकारी गराउँदछौं ।'

सोमबार सर्वोच्च अदालतमा विरोध प्रदर्शनमा सहभागी बारका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर र काठमाडौं जिल्ला अदालत बार इकाईका कार्यसमिति सदस्य अधिवक्ता वीरेन्द्र पाठक घाइते भएको पनि बारले जनाएको छ ।


प्रकाशित : कार्तिक २९, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×