पाल्पाली ढाका जोगाउन छुट्टै ब्रान्डिङ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पाल्पा — जिल्लाकी ८४ वर्षीया पूर्णमाया महर्जनलाई पाल्पाली ढाकाको इतिहास मेटिने चिन्ता छ । हुन त यस्ता उद्योग सञ्चालन गर्ने सबैको चिन्ता यस्तै छ । त्यसैले पहिचान कायम राख्न ‘ब्रान्डिङ’ को तयारी गरिएको छ । २०१५ सालमा पूर्णमायाका श्रीमान् स्वर्गीय गणेशमानले पाल्पाली ढाका भित्र्याएका हुन् । ‘श्रीमान्ले दुःख गरेर भित्र्याएको प्रविधिको साख जोगाउने जिम्मा हामी सबैको हो,’ पाल्पाली ढाका संघकी अध्यक्षसमेत रहेकी पूर्णमायाले भनिन्, ‘यसका लागि अहिलेका उद्योगीहरूले साथ दिनुपर्छ/दिइरहनुभएको छ ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![पाल्पाली ढाका जोगाउन छुट्टै ब्रान्डिङ](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/money-finance/palpadhaka41211398ka-14112021024709-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
पूर्णमायाको चिन्ता ‘पाल्पाली’ र बाहिरको अलग्गै पहिचान दिएर बिक्री गर्नुपर्ने भन्नेमा छ । ढाका पसलमा पुग्ने ग्राहकलाई कुन पाल्पाली र कुन बाहिरको हो भन्ने जानकारी नदिँदा ठगिएका छन् । त्यसैले महर्जनले जहिले पनि पाल्पालीको पहिचान जोगाउनुपर्ने सुझाव दिँदै आएकी छन् । ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा आउँदा उपभोक्ताले गुणस्तर पहिचान गर्न सक्छन् । ‘मुख्य कुरा भनेको पाल्पाली ढाका किन्दा ठगिने डर हुँदैन,’ उनले भनिन्, ‘अब ढाका कपडाले उचित मूल्य पाउने मात्र होइन, स्वदेश तथा विदेशमा समेत ढाकाका कपडा निर्यात गर्न सकिनेछ ।’
पाल्पाली ढाकाको इतिहास ६३ वर्ष पुरानो छ । तर भएर के गर्नु ? उद्यमीले यसलाई व्यवस्थित गर्न सकेका थिएनन् । दुई वर्षअघिसम्म ढाका कपडा उद्योगीहरू एकजुट थिएनन् । १२ भन्दा बढी ढाका उद्योग रहे पनि संस्थागत हुन सकेका थिएनन् । केही उद्योग बन्द भएका थिए । अहिले नौ उद्योगी ढाका संघमा आबद्ध छन् । उनीहरूले संघ स्थापना गरेको दुई वर्ष मात्र भयो । सहयोगी संस्था सीप परियोजना, यूकेएड, प्रदेश सरकार र तानसेन नगरपालिकाको सहयोग पाएपछि मात्र यसलाई संस्था दर्ता गरेर अघि बढेका हुन् । यसका लागि महर्जनका छोरा सागरमान महर्जनले अगुवाइ गरेका छन् ।
‘ढाकाको पहिचान जोगाउनै मुस्किल भइसकेपछि आमा (पूर्णमाया) को चिन्तालाई पनि देखेर एकजुट हुने प्रयास गरिएको हो,’ पाल्पाली ढाका संघका परिकल्पना गरेका महर्जनले भने, ‘अब ढाकाको ‘ब्रान्डिङ’ र ‘लेबलिङ’ गरेर अघि बढ्दै छौं ।’ यसका लागि दातृ निकाय र सरकारसँग साझेदारी गरिरहेको उनले बताए । पछिल्ला वर्षमा गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नै गुम्ने अवस्थामा पुगेको थियो । भएका उद्योग बन्द हुँदै गए, जसले गर्दा पाल्पामा बुनेका ढाका नभई बाहिरको उत्पादन बिक्री बढेको छ । मेसिनबाट भारतमा बुनेका ढाका बिक्री ह्वात्तै बढ्यो । ‘ग्राहक ठगिने अवस्था धेरै आयो,’ पूर्णमायाले भनिन्, ‘जसले गर्दा यसको साख जोगाउनुपर्छ भन्ने लागेको हो ।’
२०१५ सालमा हातैले बुन्ने तान थिए । यसलाई प्रविधिको विकास गर्दै जे कार्डमा परिवर्तन गरियो । पछि मेसिनले नै बुन्न थाले । पाल्पाली ढाकाजस्तै सस्तो प्रविधिमा भारतमै मेसिनबाट ढाका कपडा बुनेर पठाउन थाले । उद्योग विभागबाट ‘ब्रान्डिङ’ तयारी गरिएको सागरमानले बताए । फेयर ट्रेडका लागि ‘लेबल–स्टेप’ सहकार्य गर्ने तयारी गरेको उनको भनाइ छ । पछिल्ला वर्षमा उपभोक्ता ठगिन थालेको गुनासो आएपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाउन सबै सहमत भएका हुन् । गुणस्तरसहित ब्रान्डमा जाने तयारी गरिएको संघका उपाध्यक्ष हरि रायमाझीले जानकारी दिए । यसका लागि उद्योग विभागमा अन्तिम चरणमा काम भइरहेको छ । ‘सायद एक महिनाभित्रै ‘ब्रान्ड’ पाइनेछ,’ उनले भने, ‘मन्त्रालय र विभागबाट समेत यसको अनुगमन भइरहेको छ ।’
ब्रान्डको नाम ‘पाल्पाली’ रहनेछ । ब्रान्डको लोगो अलग्गै बनाइएको छ । अन्तर्राष्ट्रियस्तरमा समेत मान्यता पाउन सहयोग भइरहेको छ । ढाका कपडाले ब्रान्डको मान्यता पाउन इमेज आर्ट कम्पनीसँग सम्झौता भएको छ । मंसिरभित्रै ब्रान्डको पहिलो उत्पादन बजारमा ल्याउने तयारी छ । ब्रान्डिङ भइसकेपछि बाहिरी जिल्ला र भारतमा उत्पादित कमसल ढाकालाई पाल्पाली उद्योगको लेबल लगाउन नपाइने संघका सचिव मनोजराज पौड्यालले बताए । ‘ढाकालाई गुणस्तरको पहिचान दिन जरुरी देखियो,’ उनले भने, ‘यसपछि गुणस्तरहीन ढाका बिक्री गर्नेहरू निरुत्साहित हुनेछन् ।’ कुन कस्तो ढाका हो भन्ने ग्राहकलाई पनि चिन्न सजिलो हुने उनको भनाइ छ ।
संघमार्फत प्रदेश सरकारको सहयोगमा ९८ जनाले ढाका बुन्न सिकेका छन् । यूके एड सीप परियोजनामार्फत ७५ जनाले ढाका बुन्ने तालिम लिएका छन् । तीमध्ये ६ जनाले आफैं उद्योग सञ्चालन गरेका छन् ।
प्रकाशित : कार्तिक २८, २०७८ ०७:२७