कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

खसी-बोका पालेर आय आर्जन

तीन महिनामा १ करोड १८ लाख रुपैयाँबराबरका खसीबोका निर्यात
रूपा गहतराज

नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकाको संगिनी सामाजिक उद्यमी महिला सहकारीले दसैं–तिहारमा मात्र १२ लाख रुपैयाँबराबरको कारोबार गरेको छ । ९ सय ६३ जना सदस्यबाट १ सय ३३ वटा खसी–बोका बेचेको सहकारीकी अध्यक्ष माया सुनारले बताइन् । ‘दसैंमा १ सय ६ वटा र तिहारमा २७ वटा खसी–बोका बेचेका छौं’ उनले भनिन्, ‘यस वर्षपहिलाको तुलनामा कमै हो । कहिलेकाहीं समस्या परे किसान महिलाले व्यापारीलाई पनि बेच्नुभयो ।’

खसी-बोका पालेर आय आर्जन

राप्तीसोनारी गाउँपालिका–९ उडयनकी दुर्गाकुमारी पौडेलले घरमा पालेको खसी–बोका बेचेर एक लाख रुपैयाँ आम्दानी गरेको बताइन् । ‘घरखर्च र छोराछोरीको पढाइमा खर्च गर्न पुगेको छ,’ उनले भनिन्, ‘जानेको काम गर्नुपर्‍यो । खसी–बोका पालेरै आफ्नो गर्जाे टार्न सकेका छौं ।’

उनले गाउँमा सहकारी पनि हाँकेकी छन् । उनी संघर्षशील उद्यमी महिला सहकारीकी अध्यक्ष हुन् । जहाँ ७ सय ७८ सदस्य छन् । महिला सदस्यबाट मात्रै सहकारीले ८५ वटा खसी–बोका बेचेको उनले बताइन् ।

बाँकेको राप्तीसोनारी–८ पेरानीकी यमुना डाँगीले बाख्रा पालन सुरु गरेको केही वर्ष मात्रै भयो । दुईवटा बाख्राबाट व्यवसाय सुरु गरेकी उनको खोरमा अहिले ७० वटा बाख्रा छन् । यसपटकको दसैं–तिहारमा मात्रै २० वटा बाख्रा बिक्री गरेको उनले सुनाइन् । समूहमा आबद्ध भएर महिला दिदीबहिनीसँग सिकाइ आदान–प्रदान गर्दै उनले बाख्रापालन व्यवसाय अगाडि बढाएकी हुन् । घरमा खाली बस्दाका समयमा भन्दा अहिले उनलाई सन्तुष्टि मिलेको छ । ‘यो नै मेरो प्रमुख आम्दानीको स्रोत हो । यसबाट आठ जनाको परिवार एक्लै धानिरहेकी छु,’ उनले भनिन्, ‘अहिले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छौं ।’

महिलाहरूलाई आर्थिक रूपमा सम्पन्न गर्नका लागि महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएका सहयोगी संस्था हेफर र बी ग्रुपले सहयोग गरेका छन् । जिल्ला सहकारी संघकी अध्यक्ष वसन्ती सुनार व्यावसायिक किसान हुन् । खजुरा–५ मा रहेको साझा फूलबारी सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडमा समेत आबद्ध उनी खजुरामा व्यावसायिक किसान महिलाहरूको नेतृत्व गर्छिन् । उनका अनुसार सहकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूको सहयोग तथा समन्वयमा बाँके जिल्लाका महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र स्वरोजगार बनाउनका लागि कार्यक्रम नै सञ्चालन गरेर अघि बढिरहेको छ । पछिल्लो समयमा सहकारीमा आबद्ध महिलाहरू आर्थिक रूपमा समेत सशक्त बन्दै गएको अध्यक्ष सुनारको भनाइ छ ।

उनीहरू मात्र होइन, पछिल्लो समय जिल्लाका अधिकांश महिला कृषि व्यवसायमा आबद्ध भएर आत्मनिर्भर बन्दै स्वरोजगार बनेका छन् । परम्परागत कृषि पेसालाई व्यावसायिक बनाउँदै गएका छन् । अहिले विभिन्न कृषि समूह तथा सहकारीमा आबद्ध भई सीप सिक्दै महिलाहरू कृषिलाई व्यावसायिक पेसा बनाएका हुन् ।

बाँकेबाट तीन महिनामा झन्डै डेढ करोड मूल्य बराबरका खसी–बोका निर्यात गरिएको छ । साउन १ देखि कात्तिक १६ गतेसम्म बाँकेमा उत्पादित खसीबोका बाहिरी जिल्लामा निर्यात गरिएको हो । सामाजिक उद्यमी जिल्ला सहकारी संघले दिएको जानकारी अनुसार यसपटकको दसैंको समयमा मात्र बाँकेमा १ हजार ३ सय खसीबोका निर्यात गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा ७ सय ३७ वटा खसी बोका कम बिक्री भएको संघमा कार्यरत नवीन साहुले बताए । तीन महिनाको अवधिमा १ करोड १८ हजार रुपैयाँ बराबरको कारोबार भएको उनको भनाइ छ । ‘यसपटक लक्ष्यभन्दा कम खसीबोका बिक्री भए । यो गत वर्षको भन्दा निकै कम हो,’ उनले भने, ‘तर, यसपटकबाट उधारो कारोबार नगरी नगद भएको छ ।’ गतवर्ष बाँकेमा १ हजार ९ सय खसीबोका निर्यात गरिएको थियो । गत वर्ष साढे २ करोड रुपैयाँ बराबर कारोबार भएको उनले बताए ।

संघअन्तर्गत १७ वटा सदस्य संस्था रहेका छन् । कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारीमा १०, बैजनाथमा २, खजुरामा ३ र जानकी गाउँपालिकामा एक सहकारी रहेका छन् । यी सहकारीहरूमा १३ हजार ५ सय सेयर सदस्य छन् ।

प्रकाशित : कार्तिक २४, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×