कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनचाँदी व्यवसायमा फर्कियो रौनकता, तिहारको ४ दिनमै १६० किलो सुन बिक्यो

राजु चौधरी

काठमाडौँ — कोभिड–१९ का कारण झण्डै दुई वर्षसम्म शिथिल अवस्थामा पुगेको सुनचाँदी व्यवसायमा यतिबेला भने रौनकता बढेको छ ।  व्यवसायीका अनुसार गत वर्ष लकडाउनले दसैंतिहारमा सुनचाँदीको व्यापार भएन । लकडाउन खुल्दा पनि बजार सुस्त नै रह्यो । यो तिहारमा भने कोभिड अघिकै अवस्था फर्किएकोमा व्यवसायी उत्साहित छन् । 

सुनचाँदी व्यवसायमा फर्कियो रौनकता, तिहारको ४ दिनमै १६० किलो सुन बिक्यो

‘गत वर्ष धेरै समस्या भयो । व्यवसायी धेरै चिन्तित थिए,’ जे.जे ज्वलर्सका सञ्चालक पवनकुमार समानीले भने, ‘यसपालिको तिहारमा व्यवसाय धेरै राम्रो, सुखद भयो ।’ गत वर्षको तुलनामा यस पटक ३५ प्रतिशत व्यापार बढेको उनले सुनाए । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका समानीले न्यूरोड क्षेत्रमा व्यापार धेरै राम्रो भएको बताए ।

व्यवसायीका अनुसार यसपटक सुनको मुल्यले पनि साथ दिएको हो । गत वर्ष कात्तिकमा प्रतितोला ९५ हजारदेखि ९८ हजार २ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य यसपटक करिब ९२ हजार रुपैयाँको वरिपरि रह्यो । जसले गर्दा पनि ग्राहकको चाप बढेको समानीले बताए । महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार तिहारको मुख्यत ४ दिनमा मुलुकभर दैनिक औसत ४० किलो सुन बिक्री भयो । धनतेरसकै दिनमा भने करिब ५० किलो भन्दा बढी सुन बिक्री भएको शाक्यले बताए । ‘तिहारका ४ दिन मात्रै करिब १ सय ६० किलो सुन बिक्री भएको छ । यो परिमाण अत्यन्त राम्रो हो,’ अध्यक्ष शाक्यले भने, ‘बिक्री भएको परिमाण गत वर्षसँग तुलना गर्न मिल्दैन ।’

प्रतितोला सुनको मूल्य ९२ हजार रुपैयाँको दरले एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ । १ सय ६० किलो सुनको मुल्य करिब १ अर्ब २८ करोड पर्छ । शाक्यका अनुसार तिहारमा चाँदी पनि उत्साहजनक रुपमा बिक्री भएको छ । धनतेरसमा सुन चाँदीको सानो सिक्का भएपनि किन्ने र लक्ष्मीपूजाको दिन पूजा गर्ने प्रचलन छ । जसले गर्दा धनतेरसकै दिन व्यापार अधिक हुन्छ ।

‘४ दिनमा चाँदी औसत दैनिक १५ सय किलो बिक्री भयो । धनतेरसको दिनमा २ हजार किलो बिक्री भएको अनुमान छ,’ अध्यक्ष शाक्यले भने । चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । उक्त दर अनुसार एक किलो चाँदीको मूल्य १ लाख ७ हजार पर्छ । ६ हजार किलो चाँदीको मूल्य करिब ६४ करोड २० लाख रुपैयाँ पर्छ । ‘यसपटकको तिहारमा देशैभरका व्यवसायी उत्साहित भए, आशा गरेजस्तै व्यापार भयो,’ उनले भने । धनतेरस मुख्यत: भारतमा मनाइन्छ । पछिल्लो समय नेपालमा पनि उत्साहजनक रुपमा मनाइँदै आएको छ । लक्ष्मीपूजा गर्नकै लागि सर्वसाधरणले आफ्नो क्षमताले भ्याएसम्म सुनचाँदीका गहना, सिक्का, मूर्तिहरु खरिद गर्छन् । व्यवसायीका अनुसार सुनचाँदीको सिक्का बढी बिक्री हुन्छ । चाँदीको भाँडा, करुवा, प्लेटदेखि माना/पाथी मापक बनाएर समेत बिक्री हुन्छ । कलश, कचौरा, दियो सबै प्रकारका भाँडाको माग बढ्ने महासंघले जनाएको छ ।

तिहार सकिएपछि सुनचाँदी बजारमा ग्राहकको भिड पनि कम भएको व्यवसायी बताउँछन् । मंसिर लागेपछि भने व्यापार पुन बढ्नेमा उनीहरु आशाबादी छन । ‘मंसिर बिहेको सिजन भएकाले सुनको माग फेरि बढ्ने अनुमान गरेका छौँ,’ अध्यक्ष शाक्यले भने । नेपालमा सुन दुबई, हङकङ र स्विजरल्यान्डबाट बढी आयात हुन्छ । सुन वाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सुन कोटा प्रणालीबाट वितरण हुन्छ । राष्ट्र बैंकले दैनिक आयातित कोटा २० किलो तोकेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोज मसान्तसम्म ११ अर्ब ७ करोड रुपैयाँको सुन आयात भएको छ । तीन महिनामा सुन आयातका लागि बाहिरिएको यो रकम हालसम्मकै उच्च हो ।


प्रकाशित : कार्तिक २४, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?