कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

भारतीय सयपत्री माला धरानमा

फूलका लागि मात्रै बर्सेनि एक करोड रूपैयाँभन्दा बढी बाहिरिने
प्रदीप मेन्याङ्बो

सुनसरी — कृषि उपज बजारमा स्थापित शीतघरमा १२ दिनअघि भण्डारण गरिएका एक लाख भारतीय सयपत्री माला यस वर्षको तिहार र छठका लागि धरान बजारमा देखिने छ । उक्त माला भारतको पश्चिम बंगालस्थित कोलकाताबाट ढुवानी गरेर ल्याइएका हुन् । कृषि उपजबजारमा तिहार अवधिभरमा कम्तीमा १ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुँदै आएको छ ।

भारतीय सयपत्री माला धरानमा

तिहार र छठका लागि चाहिने रैथाने सयपत्री फूल, मखमली, गोदावरी फूलको व्यावसायिक उत्पादन, बिक्री वितरण कम हुने भएकाले हरेक वर्षको तिहार र छठमा भारतीय फूलमा निर्भर हुनुपरेकाले स्थानीय व्यापारी बताउछन् । उनीहरूले भारतीय व्यापारीसँग समन्वय गरेर कोलकताबाट फूल आयात गर्नु परिरहेको सुनाए ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘ती भारतीय फूल तिहार र छठलाई नै लक्षित गरेर करिब दुई साता अघि नै सुरक्षित रुपमा ल्याएर शितभण्डारमा राखिएका छन् । मंगलबारदेखि विक्रिका लागि निकालिने छन् ।’ उनकाअनुसार नेपाली फूल व्यबसायीले तिहार लक्षित गरेर सयपत्री फूल उत्पादन र प्याकेजिङ गर्न नजान्दा धरानबाटमात्र बर्सेनि कम्तीमा एक करोड रुपैयाँ बढी रकम बाहिरिने गरेको छ ।

कोलकाताबाट फूल ल्याउदा भारतीय व्यापारीले ढुवानीसहित प्रति माला बढीमा ३० रुपैया लिने गरेका छन् । यसबर्षदेखि धरानमै शित भण्डारण सहज भएकाले फूलको मागअनुसार मुल्य तोकेर बिक्री गरिने तयारीमा रहेको स्थानीय व्यापारी बताउछन् । यस वर्ष बेमौसमी बर्षाका कारण पूर्वमा रैथाने सयपत्री, मखमली फूलको उत्पादन उत्साहजनक नभएकाले भारतीय फूलकै दबदबा हुने भट्टराईले बताए । उनले फ्लोरिकल्चर एसोसिएसन नेपाल र सरकारले पनि तिहार लक्षित फूल उत्पादनमा ध्यान दिन किसानलाई प्राविधिक ज्ञान दिन सके भारतीय फूलको निर्भरता कम गर्न सकिने बताए ।

रैथाने फूल पनि पहिलो पटक शीतघरमा

तिहार र छठलाई लक्षित गरेर कृषक र व्यापारीले नेपालमा यसअघि शितघरमा फूल राख्ने गरेका थिएनन् । तर यसपटक भारतीय व्यापारीले कृषि उपज बजार समितिले तोकेको शुल्क तिरेर कोलकाताबाट आयात गरेको सयपत्री फूल शितघरमा राखेपछि रैथाने फूल पनि पाइलट प्रोजेक्टको रुपमा शितघरमा राखिएको छ ।

भट्टराईले भने, ‘यो बजार स्थापना भएसगै २०५८ देखि नै तिहार, छठ लक्षित फूलको कारोबार हूदै आएको छ । पूर्वी पहाड मुख्य श्रोत रहेको फूलको कारोबार यस बर्ष बढ्ने अनुमान गरेर ती भारतीयले राखेको देखेपछि हामीले पनि करीव ५ प्रतिशत फूल शितघरमा राखेका छौं । एकसाता अघि राखेको फूल अहिलेसम्म बिग्रेको वा ओइलाएको देखिएको छैन ।’

कृषि उपज बजारका व्यवस्थापक भट्टराईका अनुसार कोलकाताबाट धरानसम्म फूल ढुवानी गर्दा व्यापारीले जुटको बोरामा बण्डेल बनाएर कागज र आइसको तहमा सयपत्री फूल राखेर ल्याएका थिए । धरान ल्याइपुर्‍याएपछि आइसले भिजेको फूल केहीबेर सुकाएर एयरटाइट गरी शीतघरमा राखिएको हो । उनले भने, ‘हामीले पनि तिनै भारतीयको शैली अपनाएर रैथाने फूल शीतघरमा राखेका छौं । यसअघि त त्यसो गर्न नजानेर पनि आज टिपेको फूल आजै ओइलाएर खेर जाने गरेको रहेछ भन्ने भर्खर बुझ्दैछौं ।’

फूल व्यवसायी शैलेन्द्र चौधरीकाअनुसार पुर्वमा रैथाने सयपत्री फूल उत्पादन पर्याप्त नहुँदा भारतीय फूलले बजार लिने गरेको छ । नेपालमा स्थानिय सयपत्री फूलको व्यावसायिक उत्पादन कम हुनु, बेमौसमी झरीले बेर्ना बिगार्नु आदि कारणले यस वर्ष स्थानीय फूल कम उत्पादन हुने देखिएको चौधरीले बताए ।

प्रकाशित : कार्तिक १६, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×