कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकारी ऋणको किस्ता तिर्न एक वर्षमै १ खर्ब खर्च

ब्याज मात्रै साढे ३४ अर्ब, जीडीपीको तुलनामा सार्वजनिक ऋण ४०% नाघ्यो, गत आवमा थपियो ३ खर्ब ३ अर्ब ऋण
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा ९५ अर्ब १ करोड २२ लाख रुपैयाँ बराबर ऋण तिरेको छ । आन्तरिक र बाह्य ऋणको साँवा र ब्याजका रूपमा सरकारले उक्त रकम तिरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘नेपाल सरकारको ऋण दायित्वको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ अनुसार सरकारले ९५ अर्ब बढी ऋण भुक्तानी गरेको देखिएको हो । यसमध्ये साँवाका रूपमा मात्रै ६० अर्ब १६ करोड ९७ लाख रुपैयाँ बराबर तिरेको देखिन्छ ।

सरकारी ऋणको किस्ता तिर्न एक वर्षमै १ खर्ब खर्च

आन्तरिक ऋणको साँवातर्फ ३६ अर्ब ९० करोड ११ लाख र वैदेशिक ऋणको साँवातर्फ २३ अर्ब २६ करोड ८६ लाख रुपैयाँ गत आर्थिक वर्षमा भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा सरकारले ब्याज मात्रै ३४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ तिरेको छ । आन्तरिक ऋणको ब्याजमा २८ अर्ब ४६ करोड ६ लाख र वैदेशिक ऋणको ब्याजमा ६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

गत वर्ष प्रतिबद्धता शुल्कतर्फ १० करोड १० लाख र नेपाल राष्ट्र बैंकको कमिसनका रूपमा १० करोड ७४ लाख रुपैयाँ बराबर भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा जनाइएको छ ।

नयाँ तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३८ दशमलव ५ प्रतिशत थियो । गत असार मसान्तसम्ममा नेपालको कुल ऋण दायित्व १७ खर्ब ३७ अर्ब ८ करोड ८७ लाख रुपैयाँ बराबर देखिन्छ ।

नेपालको जीडीपी आकार ४२ खर्ब ६६ अर्ब ३२ करोडलाई आधार मान्दा सार्वजनिक ऋण ४० दशमलव ७२ प्रतिशत पुगेको देखिएको हो । अहिले सरकारको कुल ऋण दायित्वमध्ये आन्तरिक ऋण ८ खर्ब २ अर्ब ९४ करोड १६ लाख र वैदेशिक ऋणतर्फ ९ खर्ब ३४ अर्ब १४ करोड ९१ लाख रुपैयाँ बराबर छ । कुल गार्हस्थ्य उत्पादनमा गत आर्थिक वर्षमा भुक्तानी भएको ऋण अनुपात २ दशमलव २३ प्रतिशत बराबर हुन जान्छ । गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण ३ खर्ब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरले बढेको देखिन्छ ।

वैदेशिक ऋण दायित्व आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा १५ दशमलव ८८ प्रतिशत बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । नेपालको कुल ऋण दायित्वमा बाह्य ऋणको दायित्व ९ खर्ब ३४ अर्ब १४ करोड र आन्तरिक ऋणको दायित्व ८ खर्ब २ खर्ब ९४ करोड रुपैयाँ बराबर छ ।

सरकारले वैदेशिक ऋण फरक–फरक वैदेशिक मुद्रामा लिने गरेको छ । ती मुद्राको विनिमय दरमा हुने परिवर्तनबाट समेत वैदेशिक ऋणको दायित्व थपिएको छ ।

विदेशी मुद्राको सटही दरमा भएको परिवर्तनका कारण मात्र गत वर्ष ७९ अर्ब रुपैयाँ थप ऋण दायित्व थपिएको हो । ऋण लिएको विदेशी मुद्राको नेपाली मुद्रासँगको विनिमयदर गत वर्षको तुलनामा अमेरिकी डलर, जापानी येन र साउदी रियाल घटेको र बाँकी सबै विदेशी मुद्रा बढेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले बहुपक्षीप सहायताबाट लिएको वैदेशिक ऋणमा सबैभन्दा धेरै इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीएफ) बाट ४ खर्ब ७१ अर्ब १७ करोड रुपैयाँ बराबर ऋण लिएको देखिन्छ । एसियाली विकास बैंक (एडीबी) को २ खर्ब ९२ अर्ब ९१ करोड र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ३२ अर्ब ८१ करोड रुपैयाँ बराबर ऋण नेपालले लिएको छ । द्विपक्षीय रूपमा लिएको ऋणमा जापानसँग ४१ अर्ब १५ करोड, चीनसँग ३१ अर्ब ६५ करोड भारतसँग ३० अर्ब ७६ करोड र दक्षिण कोरियासँग ६ अर्ब ५७ करोड रुपैयाँ बराबर रहेको देखिन्छ ।

प्रकाशित : कार्तिक १५, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×