कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज ७ देखि कृषि बीमा गरेकाले ८० प्रतिशत अनुदान पाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत बढाइएको कृषि बिमा शुल्कमा ८० अनुदान गत असोज ७ यता बीमा गरेका किसानले मात्र पाउने भएका छन् । बीमा समितिले परिपत्रमार्फत गत असोज ७ यता बीमा गरेका बीमितलाई मात्र अनुदान पाउने व्यवस्था गर्न निर्देशन दिएको छ । साउन एक गतेदेखि असोज ६ गतेसम्मको हकमा भने ५० प्रतिशत मात्रै हुनेछ ।

असोज ७ देखि कृषि बीमा गरेकाले ८० प्रतिशत अनुदान पाउने 

पूर्वअर्थमन्त्री विष्णु पौडेलले अध्यायदेशमार्फत ल्याएको बजेटमा कृषि बीमामा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था थियो । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटमा बीमा अनुदान बढाएर ८० प्रतिशत पुर्‍याइएको छ । यसको अर्थ मानौं, कुनै किसानले आफूले पालेका पशु वा खेती गरिरहेको बालीको बीमा गर्न चाहेमा १ लाख रुपैयाँ बीमा शुल्क तोकिएको छ । तर, किसानले २० हजार रुपैयाँ मात्रै तिरे पुग्छ । बाँकी ८० हजार रुपैयाँ बीमा शुल्क सरकारबाट अनुदान पाइन्छ ।

एकै आर्थिक वर्षमा आएका बजेटमा बीमा अनुदान फरक फरक भएपछि कम्पनीहरु अन्योलमा परेका थिए । ‘अर्थ मन्त्रालयले असोज ७ देखि लागू गर्न भनेपछि कम्पनीहरुलाई परिपत्र जारी गरेका हौं,’ समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले भने, ‘अब यो विषयको अन्योल हटेको छ ।’

‘अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको कात्तिक तीन गतेको पत्रबाट आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यबाट कृषि तथा पशुपन्छी बीमामा प्रदान गर्दै आएको अनुदान रकमलाई ५० प्रतिशत कायम गरिएकोमा आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेकमा उल्लेख भएको र सो विधयेक प्रमाणिकरण भएको मिति २०७८ असोज ७ गतेदेखि लागू हुने गरी कृषि पशुपन्छी बीमाको अनुदान रकम ८० प्रतिशत कायम गरिएको निर्देशानुसार जानकारी गराइन्छ,’ समितिको परिपत्रमा भनिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बीमा गत आव २०७७/७८ मा ६१ प्रतिशतले बढेको छ ।

सरकारले २०७० देखि कृषि बीमा शुल्कमा अनुदान दिन थालेको हो । सुरुमा कुल बीमा शुल्कको ५० प्रतिशत मात्रै अनुदान दिने व्यवस्था थियो । पछि त्यसलाई बढाएर ७५ प्रतिशत बनाइयो । २ वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुदान घटाएर ५० प्रतिशतमा झारेको थियो । प्रतिस्थापन विधेयकमार्फत अहिलेको सरकारले कृषि बीमामा अनुदानको सीमा बढाएर ८० प्रतिशत पुर्‍याएको छ ।

यद्यपि, सरकारबाट आउने अनुदान समयमा प्राप्त नहुँदा समस्या हुने गरेको गुनासो कम्पनीहरूले गरेका छन् । जसअनुसार गत आवमा पनि सरकारले दिनुपर्ने कुल अनुदानमध्ये ८१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जसअनुसार कृषि बीमामा ७ करोड ८२ लाख र पशुपन्छी बिमामा ७३ करोड १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बीमा समितिले जनाएको छ ।


प्रकाशित : कार्तिक ९, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?