कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षमै विद्युतीय कारोबार दोब्बर

– पूर्वाधार विकास, सेवाग्राहीलाई प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबारमा बढोत्तरी – साना तथा ठूला कारोबारमा आरटीजीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ता संख्या बर्सेनि बढ्दै
नुमा थाम्सुहाङ

काठमाडौँ — मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्ला महिनामा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको छ । विद्युतीय भुक्तानीको संख्या र कारोबार रकम दुवै बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला महिनामा साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर (क्विक रेस्पोन्स) कोडमा आधारित भुक्तानी उच्च दरले बढेको छ ।

एक वर्षमै विद्युतीय कारोबार दोब्बर

‘विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको संख्या पनि बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७/७८ मा ६ खर्ब ४० अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो कारोबार रकम ३ खर्ब १७ अर्ब ७९ करोड बढी हो । आर्थिक वर्ष २०७६/७७ मा ३ खर्ब २३ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको थियो । कारोबार रकमसँगै कारोबार संख्या र प्रयोगकर्ता पनि थपिएको राष्ट्र बैंकले जनाएको छ । यसअनुसार गत आर्थिक वर्षमा विद्युतीय भुक्तानी कारोबार संख्या ३ करोड १७ लाख ८८ हजार ५ सय ४३ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या १ करोड ७९ लाख ४८ हजार ९ सय ३१ मात्रै थियो ।

विद्युतीय भुक्तानीमा आकर्षण बढ्दै गएकाले संख्या र कारोबार रकममा वृद्धि हुनु स्वाभाविक भएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख भुवन कँडेलले बताए । ‘विद्युतीय माध्यमबाट गरिने कारोबार बढेको तथ्यांकले नै देखाउँछ,’ उनले भने, ‘यस्तो माध्यमद्वारा भुक्तानी गर्ने पारिपाटी, प्रविधि सहज, छिटो र भरपर्दाे छ ।’ अबको युग नै डिजिटलको भएकाले सेवाग्राहीहरू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘सरकार र राष्ट्र बैंकको नीति नै नागरिकको दैनिकीमा पनि विद्युतीय भुक्तानी प्रणाली प्रयोगमा ल्याउने हो,’ उनले भने, ‘यसका लागि ती कारोबारलाई प्रोत्साहन गरिरहेका छौं ।’

हाल नेपालमा ठूला कारोबारका लागि आरटीजीएस, कनेक्ट आईपीएसलगायत प्रणाली उपलब्ध छन् । तर ती प्रणालीबाट साना तथा खुद्रा कारोबार गर्न सकिन्न । यसकारण साना तथा खुद्रा कारोबारलाई समेट्न क्यूआर कोड निकै उपयोगी रहेको उनको दाबी छ । ‘यो साना तथा खुद्रा कारोबार लक्षित प्रणाली हो । छिटो, सजिलो र सुलभ पनि छ,’ उनले भने, ‘यो कारोबारमा एटीएम र पिओएस कारोबारमा जस्तो सेवा प्रदायकलाई शुल्क तिर्नुपर्दैन । यसकारण पैसा पनि विदेश जान पाउँदैन ।’

सर्वसाधारणबाट ठूलो रकमको कारोबार सधैं हुँदैन । तर आममानिसले दैनिक जीविका चलाउनेदेखि आधारभूत आवश्यकता पूरा गर्न पनि कारोबार गरिरहनुपर्छ । प्राय: यस्ता कारोबार ससाना रकमका हुन्छन् । ती कारोबार विद्युतीय प्रणालीमा समेट्नकै लागि राष्ट्र बैंकले क्यूआर कोडलाई प्राथमिकतामा राखेको उनको दाबी छ । ‘घरपरिवारले दैनिक दूध, तरकारी, फलफूल, लत्ताकपडालगायत वस्तु तथा सेवा खरिदमा क्यूआर कोड प्रयोग गर्न सक्छन्,’ उनले भने ।

क्यूआर कोर्डमा आधारित कारोबारको विकास तथा विस्तारका लागि राष्ट्र बैंकले पनि प्रयास गरिरहेको जनाएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रहसँगै सहजीकरण पनि गरिरहेको छ । सोही क्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी स्थानमा क्यूआर कोड कारोबारको शुभारम्भ गरेका थिए । हाल प्रदेशस्तरमा पनि विभिन्न स्थानमा यो कारोबार विस्तार भएको छ ।

राष्ट्र बैंकका अनुसार गत भदौमा क्यूआर कोडमार्फत १५ लाख ७७ हजार पटक करिब ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । असारमा भने कारोबार संख्या ८ लाख ५५ हजार र कारोबार रकम ३ अर्ब ६५ करोड रुपैयाँ थियो । गत भदौसम्म आइपुग्दा क्यूआर कोडमा आधारित कारोबार बढेर ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

क्यूआर कोडमा आधारितसँगै अन्य विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको छ । विद्युतीय भुक्तानीमा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न यससम्बन्धी मापदण्डको मस्यौदा राष्ट्र बैंकले तयार पारेको छ । सोही क्रममा क्यूआर कोडलगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने घोषणा पनि मौद्रिक नीतिमा छ । यसअनुसार भुक्तानी प्रणाली सुदृढीकरण गर्न र सबै प्रकारका विद्युतीय कारोबारको अभिलेख कायम गर्न नेपाल क्लियरिङ हाउसलाई राष्ट्रिय भुक्तानी स्विचको स्थापना गर्न राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

विद्युतीय कारोबारको प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाले विद्युतीय कारोबार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाको खर्च बढ्ने राष्ट्र बैंकको दाबी छ ।

हरेक महिना इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको कारोबार पनि बढ्दो छ । अहिले वाणिज्य बैंक र भुक्तानी सेवा प्रदायकहरूले क्यूआर कोडमार्फत कारोबार (भुक्तानी) गर्ने सुविधा उपलब्ध गराएका छन् । बैंकका मोबाइल एप, भुक्तानी सेवा प्रदायक र मोबाइल वालेटले क्यूआर कोडको सुविधा उपलब्ध गराएकै कारण प्रयोगकर्ता बढेका हुन् ।


प्रकाशित : कार्तिक ९, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?