कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

महामारी भए पनि नेपालसँगको व्यापार सन्तोषजनक : तिब्बत

लक्ष्मी लम्साल

बेइजिङ — चीनले कोरोना महामारीका बेला पनि  तिब्बत स्वायत्त प्रदेशको नेपालसँग जारी व्यापारस्थिति सन्तोषजनक रहेको बताएको छ। कोरोना महामारीका कारण वर्तमान व्यापारिक स्थिति जटिल रहेको बताउँदै अझै धेरै अनिश्चितता र अस्थिरताहरू रहेको पनि ठहर गरेको छ।  

महामारी भए पनि नेपालसँगको व्यापार सन्तोषजनक : तिब्बत

यस वर्ष सन् २०२१ को अघिल्ला तीन त्रैमासिकको वैदेशिक आयात-निर्यात अवस्था समीक्षा जारी गर्ने क्रममा यस्तो जानकारी दिइएको हो। तिब्बतबाट बाहिरी मुलुकतर्फ फैलिन तिब्बतका लागि नेपाल नै प्रमुख ढोका मानिन्छ। तिब्बतले ५ दर्जन मुलुक र क्षेत्रमा गर्ने व्यापारमध्ये सबैभन्दा बढी नेपालसँग करिब १.१३ अर्ब युआनको कारोबार गरेको आधिकारिक तथ्यांकले देखाएको छ।

तिब्बती भन्सार कार्यालयका अनुसार चीनको दक्षिणपश्चिम क्षेत्र तिब्बतले तीन त्रैमासिकमा आयात निर्यातको कूल परिमाण २.६१ अर्ब युआन पुगेको छ। निर्यात ९०.५ प्रतिशतले वृद्धि भएर १.३९ अर्ब युआन पुगेको छ भने आयात १८० प्रतिशत बढेर १.२२ अर्ब युआन पुगेको छ। यो वृद्धिमा निजी व्यवसायको योगदान उच्च छ। अघिल्ला ९ महिनामा निजी व्यवसायले १.५९ अर्ब युआनको व्यापार गरेका छन् भने जब कि राज्य नियन्त्रित कम्पनीको आयात निर्यात परिमाण करिब एक अर्ब युआन रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यस वर्षको फेब्रुअरीदेखि तिब्बत स्वायत्त प्रदेशले वैदेशिक व्यापारमा लगातार ५ महिनासम्म सकारात्मक वृद्धि कायम राखेको जनाइएको छ।

तिब्बतले यस वर्ष नेपाल, भारत, रसिया, बेलायत, जर्मनीलगायतका देशमा व्यापारिक सम्पर्क बनाएको छ। तिब्बतले सडक, हवाई र जलमार्गमार्फत विदेशतर्फको व्यापार गर्दछ। स्थलमार्गबाट हुने व्यापारमा नेपाल-चीन सीमाको केरूङ र तातोपानी नाका प्रमुख हुन्।

ल्हासा भन्सार विभाग, तथ्यांक कार्यालयका प्रमुख युआन चिनथाउका अनुसार यस वर्षको पहिलो ६ महिनामा आन्तरिक तथा बाह्य कारक तत्वका कारण तिब्बतको वैदेशिक व्यापारमा केही उल्झन देखिएको छ। विश्व महामारीको स्थितिमा केही सुधारका कारण तिब्बतको निर्यात अवस्था बलियो बन्न पुगेको पनि प्रमुख युआनको विश्लेषण थियो।

प्रकाशित : कार्तिक ८, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×