कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सल्यानका व्यापारीहरुद्वारा दैनिक उपभोग्य वस्तुमा आफूखुसी मूल्यवृद्धि

विप्लव महर्जन

सल्यान — चाडपर्वको बहानामा सल्यानका व्यापारीहरुले मासु, तरकारीसहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेका छन् । दैनिक उपभोग्य वस्तुको हकमा कम्पनीले नै सामग्रीको मूल्य बढाएको भन्दै र मासु तथा तरकारीमा मनोमानी ढंगले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।

सल्यानका व्यापारीहरुद्वारा दैनिक उपभोग्य वस्तुमा आफूखुसी मूल्यवृद्धि

२ सय ६० रुपैयाँ प्रति लिटर पर्ने खाने तेललाई २ सय ७०, चामल प्रति कटठा ३० देखि ५० सम्म मूल्य तोकिएको छ । साथै १ सय २० रुपैयाँ प्रतिकेजी पर्ने दाललाई १ सय ३० मूल्य व्यापारीहरुले तोकेका छन् । यस्तै प्रतिकेजी ४० देखि ५० रुपैयाँ पर्ने तरकारीलाई ८० देखि १ सय रुपैयाँसम्म पर्न थालेको छ । खसीको मासु प्रतिकिलो ८ सय पर्नेमा ९ सय, राँगाको मासु ४ सय पर्नेमा ५ सय, कुखुराको २ सय ८० सम्म पर्नेमा ३ सय ४० बनाएका छन् ।

चाडपर्वको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेपछि आफूहरु मर्कामा परेको उपभोक्ताहरुको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका तथा न्यून आयमा मजदुरी गर्दै जीविकोपार्जन गर्नेहरुका लागि अचानक व्यापारीले तोकेको बढी मूल्य अव्यवहारिक भएको उपभोक्ताहरु बताउँछन् ।

वैशाखदेखि सबैभन्दा बढी तेल र खाद्यान्नको मूल्यवृद्धि भएको स्थानीय निर्मला घर्तीले बताइन् । २ सय रुपैयाँ प्रतिलिटर किन्दैआएको खाने तेल अहिले २ सय ७० मा किन्नुपरेको उनको गुनासो छ । यस्तै १ हजार ५ सय पर्ने एक कटठा चामललाई १ हजार ६ सम्म किनेको उनी बताउँछिन् । उनका अनुसार तेल, चामल मात्र नभई व्यापारीले आफूखुसी अन्य सामग्रीको पनि मुल्य बढाइरहेका छन् ।

व्यापारीले समयम समयमा मूल्य बढाउने गरेको तर बढेको मूल्य फेरि नघट्ने गरेका कारण दैनिक उपभोग्य वस्तु किनेर प्रयोग गर्न गाह्रो भएको बन्गाड कुपिण्डे नगरपालिका सल्लीबजारका पूर्णबहादुर भण्डारीले बताए । आफूखुसी मूल्य बढाएर जनतालाई ठग्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

चाडपर्वको समयमा व्यापारीले बढाएको मूल्यका कारण दैनिक उपभोग्य वस्तु किन्न नसक्ने अवस्था सिर्जना भएको कालिमाटी गाउँपालिका ४ की पार्वती पुन बताउँछिन् । ‘व्यापारीले बढाएको मूल्यका कारण हामी जस्त न्यून आय भएका समस्यामा परेका छौँ । दैनिक मजदुरी नगरी जीविकोपार्जन चल्दैन’ उनले भनिन् ‘हामीले काम गर्दा दैनिक ५ सय बढी ज्याला पाउँदैनौं । हाम्रो ज्याला बढ्ने भन्दा घट्छ । यस्तो तालले कसरी गुजारा चलाउन सकिन्छ ।’

व्यापारीले मूल्य बढाएसँगै सरकारले पनि मजदुरको ज्याला बढाउन उनले आग्रह गरिन् । जिल्लाका केही व्यापारीले भने कम्पनीले नै पटकपटक मूल्य बढाउँदै गरेकाले आफूहरु पनि मूल्यवृद्धि गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले चाडपर्वमा कोही सर्वसाधारण दैनिक उपभोग्यु वस्तुको मूल्यको मारमा नपरुन् र म्याद गुज्रेका सामग्री प्रयोग गर्न बाध्य नहून् भनी बजार अनुगमनलाई तिब्र बनाएको बताए । बजार अनुगमन गर्दा अधिकांश व्यापारीले अहिलेसम्म मूल्य सूची नराखेको पाइएको उनको भनाइ छ । एकातिर व्यापारीले मूल्य सूची नराखेका र अर्कोतिर खरिद गरेको सामग्रीको बील नदिँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले पत्येक पटक बाहिरबाट आउने सामग्रीको मूल्य बढ्ने गरेकाले चाडपर्वको समयमा पनि दैनिक उपभोग्यु वस्तु अन्तर्गत दाल, चामल, र तेलमा दुई देखि तीन प्रतिशत मूल्य बढेको बताए । जिल्लाभित्र रहेका मासु व्यापारीले भने आफूखुसी मुल्य बढाउने गरेको उनले बताए । बुढाथोकीका अनुसार उद्योग वाणिज्य संघले मासु पसलेलाई आफूखुसी वृद्धि नगर्न बारम्बार आग्रह गर्दैआएको छ तर अटेर गरिरहेका छन् ।

प्रकाशित : आश्विन २१, २०७८ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?