२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नेपालगञ्ज उड्न लागेको श्रीको जहाज घाँसे मैदानमा फस्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — ७६ यात्रु बोकेर नेपालगञ्जका लागि उड्ने तरखरमा रहेको श्री एयरलायन्सको विमान त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको घाँसे मैदानमा फसेको छ । 

नेपालगञ्ज उड्न लागेको श्रीको जहाज घाँसे मैदानमा फस्यो 

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार यात्रु राखेर पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जानेक्रममा श्री एयरलायन्सको ड्यास– एट विमान पार्किङ क्षेत्रभन्दा बाहिर घाँसे मैदानमा पुगेको हो ।

‘जहाजको बायाँ पांग्रा (ल्याण्डिङ गियर) डोमेस्टिक पार्किङको पिचभन्दा तीन फिट बाहिर गएको छ,’ प्रवक्ता शेर्पाले भने, ‘जहाजको पांग्रा कसरी बाहिर गयो अहिले जानकारी आइसकेको छैन । जहाज निकाल्ने काम भइरहेको छ ।’

शेर्पाले उक्त विमान घाँसे मैदानकै पार्किङमा फसेकाले विमानस्थलको उडान र अवतरणमा भने कुनै बाधा आइनपरेको बताए ।

विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार नेपालगञ्जकालागि जहाजमा चढेका यात्रुलाई श्रीको अर्को विमानमा पठाउने तयारी भइरहेको छ ।

अल्फा नोभेम्बर फक्सट्रट कलसाइन भएको यो ड्यास– एट विमानको नेपालगञ्ज उडान समय बिहान साढे नौ बजे थियो ।

उक्त जहाजलाई निकाल्न नेपाल वायु सेवा निगमको इन्जिनियरिङ विभाग, नेपाली सेना र श्री एयरका प्राविधिकहरु खटिएका छन् । नेपाल एयरलाइन्सको पुसब्याक उपकरणबाट तान्ने काम भइरहेको छ ।

श्रीले आन्तरिक उडानमा दुईटा ड्यास – एट र चारवटा सीआरजे विमान सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित : आश्विन १९, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?