कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा क्रिप्टोकरेन्सी कारोबार अवैध

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) को कारोबारमा बन्देज लगाएको छ । पिपल्स बैंक अफ चाइनाले शुक्रबार भर्चुअल मुद्राको कारोबारलाई अवैध भन्दै त्यससँग जोडिएका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो ।

चीनमा क्रिप्टोकरेन्सी कारोबार अवैध

भौतिक अस्तित्व नभएका बिटक्वाइनलगायत सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार र माइनिङलाई उसले अवैध भनेको छ । ‘यस्ता मुद्राको कुनै अस्तित्व नभएकाले मूल्यसमेत नहुने’ अभिव्यक्ति चीनको केन्द्रीय बैंकले दिएको छ ।

केन्द्रीय बैंक, धितोपत्रको नियामक निकाय तथा विदेशी विनियमको कारोबार गर्ने संस्थाहरूले भर्चुअल मुद्राको कारोबारलाई निस्तेज पार्न संयुक्त रूपमा पछिल्लो कदम चालिएको जनाइएको छ । त्यहाँका वित्तीय संस्था, भुक्तानी तथा इन्टेरनेट कम्पनीलाई क्रिप्टोकरेन्सीसँग सम्बद्ध क्रियाकलाप नगर्न भनिएको छ । यससँगै यस्ता अभौतिक मुद्राको मूल्यमा विश्वव्यापी रूपमा गिरावट आएको छ । चीन आफैंमा क्रिप्टोकरेन्सी कारोबारका लागि ठूलो बजार मानिँदै आएको थियो ।

चीनले सन् २०१३ र २०१७ मा पनि क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित क्रियाकलापलाई दुरुत्साहन गर्ने नीति अपनाएको थियो । उसको पछिल्लो कदमलाई भने भर्चुअल मुद्राको प्रयोगलाई निस्तेज नै पार्ने कडा नीतिका रूपमा अर्थ्याइएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?