कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक बढेपछि व्यवसायी उत्साहित

पोखराका ८० प्रतिशत होटलले पूर्णरुपमा सेवा सुरू गरे, २० प्रतिशत आंशिक खुला
दीपक परियार

पोखरा — लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिका दिन सम्झिए । ‘रेस्टुराँमा ग्राहक देखेर कोरोना महामारी छ भन्ने नै बिर्सिएँ,’ उनले भने, ‘अब पोखराको पर्यटन लयमा फर्किंदै छ ।’

पर्यटक बढेपछि व्यवसायी उत्साहित

असोज १ बाट प्रशासनले कास्कीमा निषेधाज्ञा पूर्णरूपमा फुकुवा गरेपछि पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । चाडबाड नजिँकिँदै गएकाले पनि देशका विभिन्न ठाउँबाट सपरिवार पर्यटक घुम्न आएका छन् । सभा, सम्मेलन, गोष्ठीले पनि पोखराको पर्यटनमा भरथेग गरेका छन् । पोखराका सबै गन्तव्य पूर्णरूपमा खुलेका छन् । धार्मिकस्थल, पार्क, भ्यु पोइन्टलगायत ठाउँमा निर्बाध घुम्न पाइन्छ । अल्ट्रालाइट, जिप फ्लायर, बन्जी, क्यानोनिङजस्ता साहसिक गतिविधि सञ्चालनमा आइसकेका छन् । अर्को सातादेखि प्याराग्लाइडिङसमेत सुरु हुनेछ । प्याराग्लाइडिङ सुरु गर्नुपूर्व ग्लाइडर, हार्नेसलगायत आवश्यक सामग्रीको जाँच र मर्मत कार्य भइरहेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘अहिले उपकरण जाँचकै क्रममा छौं,’ उनले भने, ‘प्याराग्लाइडिङलाई सुरक्षित बनाएर अर्को साताबाट सुरु गर्छौं ।’

पोखराका ८० प्रतिशत होटलले पूर्णरूपमा सेवा सुरु गरेको २० प्रतिशत आंशिक खुला रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । होटलमा हाल १० प्रतिशतको हाराहारीमा अकुपेन्सी छ । कोरोना महामारी ओरालो लाग्दै गर्दाको यो अकुपेन्सीले व्यवसायीको मनोबल बढाएको उनी बताउँछन् । ‘होटलले बिदामा राखेका कर्मचारीलाई फिर्ता बोलाइरहेका छन्,’ उनले भने, ‘बिस्तारै आन्तरिक पर्यटक वृद्धि हुँदै जानेमा आशावादी छौं ।’ प्रशासनले निषेधाज्ञा हटाएसँगै लेकसाइडका रेस्टुराँमा आन्तरिक पर्यटकको चहलपहल बढेको रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालको भनाइ छ । रेस्टुराँ साढे ११ बजेसम्म र डिस्को, बार साढे १ बजेसम्म खोल्न पाउने भएकोले पनि आन्तरिक पर्यटक पोखरा आएको उनी सुनाउँछन् । उनका अनुसार लेकसाइडमा रहेका अधिकांश रेस्टुराँले सेवा सुरु गरिसकेका छन् ।

लेकसाइडका व्यवसायी एवं कामदारले कोरोनाविरुद्धको खोप लगाएका छन् । झन्डै ५० प्रतिशत कर्मचारी र मजदुरले खोप लगाइसकेको पोखरा पर्यटन परिषद्ले जनाएको छ । पर्यटकका लागि पोखरा खुला र सुरक्षित रहेको परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । विदेशी पर्यटकका हकमा अनअराइभल भिसा प्रदान गर्ने र कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएकालाई क्वारेन्टाइन बस्नु नपर्ने सरकारको निर्णयले पोखराका पर्यटन व्यवसायी हर्षित छन् । खोपको मात्रा नपुर्‍याएका वा खोप नलगाएकालाई भने १० दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था छ । खोप नलगाएकालाई समेत प्रवेश बिन्दुमै एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवसायीको माग छ ।

अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ खुला

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्ग असोज १ बाट खुला भयो । एबीसीसँगै घान्द्रुक–घोरेपानी–पुनहिल, मर्दी हिमाललगायत पदयात्रा मार्गमा आन्तरिक पर्यटक पुग्न थालिसकेका छन् । एबीसी पदमार्गमा रहेका व्यवसायी र मजदुरलाई कोरोनाविरुद्धको खोप लगाइएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । पदयात्रीको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्कसमेत राखिएको उनले जानकारी दिए । अहिले प्रतिदिन २०–२२ जना पदयात्री एबीसी पुग्ने गरेका छन् । तीमध्ये केही विदेशी पर्यटक छन् ।

अन्नपूर्ण जानेमा नेपालमै रहेका विदेशी पर्यटक हुन सक्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखराका अध्यक्ष सुशील पौडेल बताउँछन् । अनअराइभल भिसा खुलेको र खोप लगाएकाले नेपाल आएपछि क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेकाले विदेशी पर्यटकको आगमन बढ्ने उनी आशा गर्छन् ।

यसैबीच सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसमा गण्डकी प्रदेश सरकारले विभिन्न देशका २० राजदूत एवं कन्सुलरलाई पोखरा ल्याउने भएको छ । प्रदेश सरकारको निमन्त्रणामा उनीहरू सेप्टेम्बर २६ मा पोखरा आउनेछन् । पोखरा आएर हाइकिङ, साइट सिइङलगायत गतिविधिमा संलग्न हुनेछन् । पोखरा पर्यटन परिषद्ले सेप्टेम्बर २७ कै दिन गर्ने एक दिने सडक महोत्सवमा उनीहरू सहभागी हुनेछन् ।

प्रकाशित : आश्विन ९, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?