जनताको जलविद्युत् कार्यक्रम : निर्माणाधीन सकिएनन्, नयाँ थपिएनन्- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनताको जलविद्युत् कार्यक्रम : निर्माणाधीन सकिएनन्, नयाँ थपिएनन्

५ वर्षमा ३ हजार ६ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बनाउने लक्ष्य रहे पनि तीन वर्षसम्म प्रगति नगण्य
हेमन्त जोशी

काठमाडौँ — आन्तरिक लगानीबाटै डेढ दर्जनभन्दा बढी विद्युत् आयोजना बनाउने लक्ष्यसहित सुरु भएको जनताको जलविद्युत् कार्यक्रमको प्रगति न्यून देखिएको छ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ नारा दिँदै सरकारले २०७५ चैतबाट सुरु गरेको महत्त्वाकांक्षी कार्यक्रम कार्यान्वयनमा अपेक्षाभन्दा निकै कम प्रगति देखिएको हो । ५ वर्षमा ३ हजार ६ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना निर्माण गर्ने आयोजनाको लक्ष्य हो । तर करिब तीन वर्षसम्म प्रगति नगण्य छ ।

कार्यक्रममा राखिएका २१ आयोजनामध्ये अहिले माथिल्लो त्रिशूली–३ बी, रसुवागढी, सान्जेन र माथिल्लो सान्जेन निर्माणाधीन छन् । यी आयोजना सरकारले जनताको जलविद्युत् कार्यक्रम सुरु गर्नुअगावै निर्माण चरणमा थिए । काम थालिसकेका आयोजनालाई सरकारले उक्त कार्यक्रममा हालेको थियो । कार्यक्रम सुरु भइसकेपछि भने कुनै पनि आयोजना निर्माणको चरणमा जान नसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । बाँकी आयोजना सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत प्रारम्भिक चरणमै अल्झिएका छन् ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका कुनै पनि आयोजना तत्काल सेयर जारी गर्ने अवस्थामा नरहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । ‘यो वर्ष नै कुनै आयोजनाले सेयर जारी गर्छ भन्ने अवस्था छैन । अर्को वर्षको सुरुतिर केही आयोजनाको सेयर आउने सम्भावना छ,’ भेटवालले भने, ‘निर्माण चरणमै नगएका आयोजनाको सेयर जारी गर्ने कुरा भएन ।’ आयोजनाको काममा ढिलाइ हुनुमा महामारी मुख्य कारण रहेको भेटवालको भनाइ छ । ‘महामारीपछि ठेकेदार नआउने, कामदार नफर्कने र मेसिनहरू समयमा नआइपुग्दा काम प्रभावित भए,’ उनले भने ।

जनताको जलविद्युत् कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५ अनुसार आयोजनाको कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर अनुपात कायम गरी वित्तीय व्यवस्थापन गर्नुपर्छ । सेयर संरचनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको रहने व्यवस्था छ । कार्यक्रममा परेका १११ मेगावाटको रसुवागढी, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माणाधीन छन् । रसुवागढी ८० प्रतिशत काम सकिएर रोकिएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकलका काम बाँकी रहेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विश्व मल्लले बताए । आयोजनामा इलेक्ट्रोमेकानिकलको काम गर्ने जिम्मा भारतीय कम्पनी भोथ हाइड्रो प्राइभेट लिमिटेडले पाएको छ । उक्त कम्पनी २०७६ चैतदेखि आयोजनामा फर्किएको छैन ।

सान्जेन र माथिल्लो सान्जेनका काम पनि रोकिएका छन् । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको गत आर्थिक वर्षको प्रगति समीक्षा प्रतिवेदनअनुसार माथिल्लो सान्जेनमा ९० र सान्जेनमा ७९ प्रतिशत प्रगति भएको छ । यी आयोजनामा पनि हाइड्रोमेकानिकल उपकरण जडान गर्न बाँकी छ । यी आयोजनामा चिनियाँहरूले काम गरिरहेका थिए । तर कोभिडका कारण उनीहरू नफर्किएपछि काम अघि बढेको छैन । माथिल्लो त्रिशूली थ्री बीको काम पनि पछिल्लो डेढ वर्षदेखि अघि बढेको छैन । आगामी वर्ष निर्माण सक्ने लक्ष्य राखिएको यो आयोजनाको भौतिक प्रगति हेर्दा समयमा सकिने सम्भावना देखिँदैन ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका कुनै पनि आयोजना तत्काल निर्माण चरणमा जाने सम्भावना देखिँदैन । ७२ मेगावाटको धुन्साखोला र ७० मेगावाटको सिम्बुआ खोलामा भने अरू आयोजनाको तुलनामा बढी प्रगति भएको छ । हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अघि बढाइरहेका यी आयोजनाको प्रारम्भिक अध्ययनका काम सकिएको जनाइएको छ । तर तत्काल निर्माण चरणमा जान पहुँचमार्ग निर्माणलगायतका काम बाँकी छन् । ९२ मेगावाटको जगदुल्ला–१ र ६५ मेगावाटको जगदुल्ला–२ मा पनि एचआईडीसीएलमार्फत लगानी गर्ने टुंगो लागिसकेको छ । आयोजनाका लागि कम्पनी स्थापना भएर विस्तृत सम्भाव्यता, भौगोलिक र वातावरणीय अध्ययनको काम भइरहेको छ ।

कर्मचारी सञ्चय कोषको लगानीमा बन्ने भनिएको तामाकोसी–५ जलविद्युत् तुलनात्मक रूपमा चाँडो निर्माणको चरणमा जाने आयोजना हो । अहिले आयोजना निर्माणका लागि प्रारम्भिक चरणका काम भइरहेको मन्त्रालयको भनाइ छ । २७२ मेगावाट उत्पादन क्षमताको अरुण–४ जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तीन महिनाभित्र आइसक्ने लक्ष्य छ । ७२५ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनाको डीपीआर स्वीकृतिको अन्तिम चरणमा छ । आयोजनाको भौगर्भिक अध्ययन गर्न बाँकी छ । यसका लागि ६ महिना लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ ।

४९२ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनको काम सकिसकेको र वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको जनाइएको छ । यो आयोजनाको डिटेल इन्जिनियरिङ र डीपीआर टुंगिन बाँकी छ । त्यस्तै ४ सय ८२ मेगावाटको अरुण किमाथांकाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । यो आयोजनाको विद्युत् उत्पादन सर्वेक्षणको काम विद्युत् उत्पादन कम्पनी लिमिटेडले गरिरहेकामा आगामी असारसम्मका लागि सर्वेक्षण अनुमतिपत्र नवीकरण गरिएको विद्युत् विकास विभागले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७८ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्

बेलैमा उपचार नपाउँदा बालकको मृत्यु

विपन्न बस्तीमा कुपोषणले बालबालिकालाई हुने समस्याप्रति चेतनाको स्तर नै कम  
मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–१३ का ११ महिनाका बालक भूपेन्द्र जनालालाई सुरुमा रुघाखोकी र ज्वरो आयो । नगरको दुर्गम बुडबाडा टोलका सामान्य दलित परिवारले समयमै अस्पताल पुर्‍याउन सकेनन् । भदौ ४ गते जिल्ला अस्पताल भर्ना भएका बालकको बुधबार मृत्यु भएको छ ।

अछामको मंगलसेनस्थित जिल्ला अस्पताल ।

आर्थिक अवस्था कमजोर भएकाले भूपेन्द्रका बुवा नैने रोजगारीका लागि भारत गएका थिए । आमा चम्फाले रोग र कुपोषणले ग्रस्त छोरालाई न स्वास्थ्य चौकीमा समयमै लगिन् न त बाडास्थित सहरी स्वास्थ्य क्लिनिकमा नै पुर्‍याइन् ।

बच्चाको अवस्था नाजुक हुँदै गएपछि आफन्तले जिल्ला अस्पताल लैजान सुझाएका थिए । ‘छोरा बिरामी भएको खबर श्रीमान्लाई पुर्‍याउन पनि निकै समय लाग्यो । गाह्रो हुन थालेपछि नातागोतासँग ऋण मागेर १० घण्टा लगाएर जिल्ला अस्पताल पुर्‍याए,’ चम्फाले भनिन्, ‘अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले यहाँ उपचार सम्भव छैन, धनगढी, नेपालगन्जको राम्रो अस्पताल लैजान भने । बाहिरका अस्पतालमा लैजान एक्लै सकिनँ ।’ ठूला अस्पतालमा लैजान नसक्ने बताएपछि जिल्ला अस्पतालमै भर्ना गरेको उनले बताइन् । बाहिर लैजान उनीसँग अर्थ अभाव थियो भने साथमा सहयोगी पनि थिएनन् । ‘राम्रो उपचार नपाउँदा मेरो कोख नै रित्तियो,’ उनले आँसु झार्दै भनिन् ।

धेरै दिनसम्म छोरा निको नभएपछि घर फर्किएका नैनेले उपचारका लागि उतै लैजाने सोच पनि बनाएका थिए । तर, उनी फर्केलगत्तै छोराको मृत्यु भएको हो । ‘गरिबी नै ज्यानमारा भयो, समयमा उपचार गराउन सकिएन,’ उनले भने । कडा निमोनिया र कुषोषणका कारण फोक्सोमा संक्रमण हुँदा बालकको ज्यान गएको जिल्ला अस्पतालकी सूचना अधिकारी गंगा बुढामगरले बताइन् । ‘हामीले थप उपचारका लागि धनगढी रेफर गरेका थियौं । बच्चाका साथमा आमा मात्रै थिइन् । उनले बाहिर लैजान सक्दैनौं भनेपछि अस्पतालमा भर्ना गरेर सक्ने जति उपचार गरेका हौं । तर बचाउन सकिएन,’ उनले भनिन्, ‘समयमै राम्रो ठाउँमा पुर्‍याउन नसकेका कारण बालकले ज्यान गुमाउनुपर्‍यो ।’

दुर्गम बस्तीमा रोग्रप्रतिको लापरबाही र समयमा उपचार नपाएर भूपेन्द्रजस्तै धेरैले अकालमा ज्यान गुमाउनुपरेको यो पहिलो उदाहरण भने होइन । ‘गाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले कुपोषणबाट बच्ने उपायबारे जानकारी दिएकै छन्,’ वडाध्यक्ष प्रेम थापाले भने, ‘बिरामी भएमा स्वास्थ्य संस्था लैजान पनि सल्लाह दिइराख्छन्, तर बच्चाको स्वास्थ्यमा अभिभावकले ध्यान नदिएको पाइन्छ ।’

मंगलसेन नगरपालिका–७ की सेतु जैसीका ३ वर्षीय छोरा चार दिनदेखि उपचाररत छन् । रुघाखोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उनले छोरालाई जिल्ला अस्पताल मंगलसेन ल्याएकी थिइन् । हरेक बिहान–साँझ छोरालाई बाफ दिन स्वास्थ्यकर्मीले सुझाएका छन् । अस्पतालमा राखेर उपचार गरेपछि बच्चालाई केही सहज भएको छ । ‘निमोनिया देखिएको छ । डाक्टरले छाती खराब छ भन्छन् । सञ्चो हुन्छ कि हुँदैन भन्ने चिन्ता छ,’ उनले भनिन् ।

१५ शय्याको जिल्ला अस्पतालमा शुक्रबार ४७ जना बिरामी भर्ना गरिएको सूचना अधिकारी बुढामगरले बताइन् । तीमध्ये २५ जना निमोनिया भएका बालबालिका छन् । ‘बिरामीको चाप बढेर सेवा दिन कठिन भएको छ,’ उनले भनिन्, ‘जिल्ला अस्पतालमा ठाउँ नभएर बिहीबार निमोनिया भएका तीन बालबालिकालाई बयलपाटा अस्पताल रेफर गरेका छौं । एकै बेडमा दुई जना बिरामी राखेर उपचार भइरहेको छ ।’

प्रकाशित : आश्विन ९, २०७८ ०६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×