कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण

चालु आवमा ४.१ प्रतिशतले बढ्ने अनुमान

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपण संशोधन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य नेपालले भेटाउन नसकेको र चालु आर्थिक वर्ष २०७८/७९ का लागि यसअघि गरिएको प्रक्षेपण पनि पूरा गर्न नसकिने देखिएकाले लक्ष्य संशोधन गरिएको एडीबीले जनाएको छ । 

नेपालको आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण

‘एसियन डेभलपमेन्ट आउटलुक’ ले यसअघि सार्वजनिक गरेको नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले बुधबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीडीपी वृद्धिदर ३.१ प्रतिशत अनुमान गरेकोमा २.३ प्रतिशतमात्रै कायम भएको देखिएको छ । सरकारले भने गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ का लागि एडीबीले यसअघि ५.१ प्रतिशत वृद्धिदर प्रक्षेपण गरिएकोमा त्यसलाई संशोधन गर्दै ४.१ प्रतिशतमा झारेको छ ।

गत आर्थिक वर्षमा नियन्त्रित अवस्थामा रहेको मूल्यवृद्धि चालु आर्थिक वर्षमा भने बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि ३.६ प्रतिशत बराबर रहेको र चालु आर्थिक वर्षमा यस्तो दर बढेर ५.२ प्रतिशत पुग्ने अनुमान एडीबीले गरेको छ ।

चालु आर्थिक वर्षको सुरुवाति दिनहरुमा कोभिड–१९ महामारी संक्रमणदर उच्च नै रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले जनाएको छ । कृषि, उत्पादन र उद्योग क्षेत्र बिस्तारै लयमा फर्किए पनि पर्यटन र सेवा क्षेत्रमा अझै महामारीको असर बाँकी रहेको छ । स्वास्थ्य क्षेत्र, रोजगारी सिर्जना र सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकतामा राखे पनि त्यसको कार्यान्वयनमा देखिएको जटिलताले अर्थतन्त्रको वृद्धिदर खुम्चिएको एडीबीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष आयात २५.७ प्रतिशत, निर्यात ३० प्रतिशत र रेमिट्यान्स ८.२ प्रतिशतले बढेको थियो । अर्थतन्त्रमा महामारीको असर बिस्तारै कम हुँदै गए पनि सामान्य अवस्थामा भने फर्किसकेको छैन ।

प्रकाशित : आश्विन ६, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?