नौ सयले बढ्यो सुनको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ सयले बढ्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा बुधबार सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय रुपैयाँ तोकिएको छ । 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७ सय ५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ ।

चाँदी मंगलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

प्रकाशित : आश्विन ६, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

मोरङमा कुष्ठरोगी बढ्दै

कान्तिपुर संवाददाता

मोरङ — जिल्लामा पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले जनाएको छ । स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ रोग अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लास्थित १४ स्थानीय तहमा गत आर्थिक वर्षमा १ सय १६ कुष्ठ रोगका नयाँ बिरामी थपिएका छन् । योसँगै जिल्लामा कुष्ठरोगीको संख्या १ सय ३१ पुगेको राजबंशीले बताए ।

विराटनगर महानगरमा सबभन्दा बढी ५१ कुष्ठरोगीको संख्या छ । सबभन्दा कम बूढीगंगा र ग्रामथानमा १/१ जना कुष्ठरोगी छन् । लेटाङ नगरपालिका, केराबारी र मिक्लाजुङमा कोष्ठरोगीको संख्या शून्य रहेको उनले बताए । आर्थिक वर्ष २०७६/७७ मा को प्रथम चौमासिकमा मोरङमा कुष्ठरोगका ११ बिरामी थिए । तर उक्त आर्थिक वर्षको अन्त्यमा कुष्ठरोगीको संख्या ९७ पुगेको थियो । जसमध्ये ८२ जनाले कुष्ठरोगको ६ महिने औषधि सेवन गरेपछि निको भएको राजवंशीले सुनाए ।

आर्थिक वर्ष २०७८/७९ मा थपिएका १ सय १६ र विगत वर्षको बाँकी गरी कूल १ सय ३१ कुष्ठरोगीको संख्या पुगेको हो । प्रत्येक ४/४ महिनामा कुष्ठरोगीको तथ्यांक आउने गरेकोले चालु आर्थिक वर्षमा देखिएका नयाँ रोगीको तथ्यांक आउन बाँकी रहेको उनले बताए ।

११ वर्ष अघि सन् २०१० मा नेपाल कुष्ठरोग निवारण मुलुक घोषणा भइसके पनि तराईका जिल्लाहरूमा कुष्ठरोगीको संख्या रहेको राजबंशीले बताए । ‘कुष्ठरोगलाई पूर्वजन्मको दुष्कर्मको फल भन्ने अन्धविश्वासले रोग लुकाउने गरेको छ,’ उनले भने, ‘समाजले कुष्ठरोगीलाई पूर्वजन्म गरेको पापको फल भन्दै घृणा तथा सामाजिक बहिष्कार गर्ने भएकाले रोग लुकाउने बढेको छ ।’

रोग लुकाउँदा अन्य व्यक्तिमा सर्ने गरेको हुँदा कुष्ठरोगीको संख्यामा वृद्धि भएको राजवंशीको भनाइ छ । उनले कुष्ठरोग कुनै पूर्वजन्मको दुष्कर्मले नभई ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने गरेकोले उपचार गरेपछि निको हुने रोग भएकाले शरीरमा कही लाटो, फुस्रे दाग देखिए तत्कालनजिकको स्वास्थ्य संस्थामा गएर जचाउन आग्रह गरे ।

कुष्ठरोग कम जीवाणु भएको ‘प्यासी ब्यास्लरी’ (पी.बी.) र बढी जीवाणु भएको ‘मल्टी ब्यास्लरी’(एम.बी.) गरी दुई प्रकारका छन् । जिल्लामा पी.बी.को १०१ र एम.बी.को ३० जना रोगी रहेको स्वास्थ्य कार्याल्यको तथ्यांक छ । ‘कुष्ठरोगको संक्रमण छाला र स्नायुमा हुने गरेकोले समयमा उपचार नहुँदा अंगभंग भएर अपांगता हुने गरेकाले सबैलाई सचेतता अपनाउनु आवश्यक छ,’ राजवंशीले भने, ‘कुष्ठरोग लागेपछि छालामा लाटो फुस्रे दागहरू देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुनिने, दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरीरका विभिन्न भागमा घाउ खटिरा अंगभंग हुन्छ ।’

कुष्ठरोग लागेपछि छाला रातो हुने, अनुहारको छाला र कानको लोती बाक्लो हुने, गिर्खाहरू देखापर्ने र स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुनेलगायत लक्षणहरूसमेत देखिन्छन् । यसको रोकथामका लागि रोग लुकाउनुको साटो समयमा नै उपचार गराए निको हुने राजवंशीले बताए । उनले सरकारले कुष्ठरोगको निःशुल्क उपचार गर्दै आएकाले सबैलाई सचेतता अपनाउन आग्रह गरे । पी.बी. कुष्ठरोगीले ६ महिना र एम.बी. कुष्ठरोगीले १२ महिनासम्म नियमित औषधि सेवन गरेपछि निको हुने गरेको राजवंशीले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×