शुक्रबारदेखि पुन: उडान थाल्दै गुण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबारदेखि पुन: उडान थाल्दै गुण

सुरज कुँवर

काठमाडौँ — यति एयरलायन्सका ५ वटा बेलायती जेटस्ट्रीम टर्बोप्रोप जहाज खरिद गरेर आन्तरिक बजारमा ७ वर्षपछि फर्केको गुण एअरलायन्सले शुक्रबारदेखि काठमाडौंबाट उडान पुन: सुरु गर्ने भएको छ ।

गुणका प्रवक्ता प्रज्वल थापाका अनुसार, पहिलो चरणमा काठमाडौंबाट पोखरा र भरतपुर उडान हुने छ । यी सेक्टरमा उसले १९ सिट क्षमताका बिचक्राफ्ट १९००–सी जहाजबाट सेवा दिने छ । सम्बद्ध एक अधिकारीका अनुसार, यतिसँग ५० करोड रुपैयाँमा खरिद गरिएका जेटस्ट्रीम जहाज असोज दोस्रो सातादेखि मात्रै उडानमा ल्याइने जनाइएको छ ।

वायुसेवा क्षेत्रको नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणले यतिको स्वामित्वमा भएका जेटस्ट्रीम जहाज गुणको एयर अपरेटर्स सर्टिफिकेट (एओसी) मा स्तान्तरण गरेलगत्तै दोस्रो सातादेखि यी २९ यात्रु सीट क्षमताका जहाजले काठमाडौंबाट विराटनगर, तुम्लीङटार, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र सुर्खेत उडान थाल्ने गुणका सीइओ बालकृष्ण श्रेष्ठले बताए । गुणले एओसी प्रक्रियाको काम अन्तिम चरणमा रहेको जनाएको छ । गुणले नजिकिँदो चाडपर्वमा अन्य वायुसेवासँग चर्को हवाई भाडामा प्रतिस्पर्धा गर्न तयार रहेको जनाएको छ ।

लकडाउनअघि ०७६ चैत्रसम्म सिम्रिक एयरलायन्सका नामले आन्तरिक उडानमा रहेको यो कम्पनी कोरोना संक्रमणसँगै करिब अठार महिना बन्द भएको थियो । गुणले ११ वर्षअघि बुद्ध एयरसँग १९ सिट क्षमताका दुइटा बिचक्राफ्ट १९००–सी करिब ३० करोड रुपैयाँमा खरिद गरेर आन्तरिक उडानमा प्रवेश गरेको थियो । त्यसबेला यसले बुद्धबाटै करिब २५ करोड रुपैयाँमा बिचक्राफ्ट १९००–डी पनि खरिद गरेको थियो । त्यो विमान एक वर्ष उडाई उसले क्यानेडियन वायुसेवा कम्पनीलाई बिक्री गरेको थियो ।

हाल यतिसँग खरिद गरिएका जेटस्ट्रीम कम्तीमा दुई दशक पुराना जहाज हुन् । ब्रिटीस एरोस्पेसले यी विमान उत्पादन बन्द गरिसकेको छ । उसले हाल यी जहाज उडाइरहेका कम्पनीहरुको मागका आधारमा मात्रै स्पेयर पार्टस् लगायतका पार्टपुर्जा उत्पादन गर्छ । यतिले दुई दशकअघि प्रतिजहाज औसतमा २५ करोड रुपैयाँ हाराहारीमा ६ वटा जेटस्ट्रीम विभिन्न वायुसेवाबाट सेकेन्ड ह्याण्ड खरिद गरेको थियो । गुणले भने यतिबाट ५ वटा जेटस्ट्रीम जहाजसँगै ४ जना क्याप्टेन र ४ जना को–पाइलट पनि लिएको छ । यतिसँग बाँकी रहेको एउटा जेटस्ट्रीम उडान अयोग्य भइसकेको छ । गुणले सिम्रिकको रातो लिभरी कलरलाई हटाई आफ्नो पुरानै सेतो र निलो ब्रान्ड कलरलाई लिभरीमा प्रयोग गरेको छ ।

अमेरिकी बिचक्राफ्ट १९००–सी २ र बेलायती जेटस्ट्रीम ५ वटा गरी गुणसँग आन्तरिक उडानका लागि ७ जहाज भएका छन् । जहाजको संख्याका हिसाबले गुण बुद्धपछि दोस्रो कम्पनी भएको छ । बुद्धसँग हाल आन्तरिक उडानका लागि १५ वटा विमान छन् । गुणले जेटस्ट्रीम अबको तीन वर्ष उडाउने र त्यसपछि बुद्ध र यतिले हाल सञ्चालन गरिरहेका एटीआर विमान ल्याउने जनाएको छ । गुण ग्रुपले सञ्चालन गरेको यो वायुसेवा कम्पनीका सञ्चालक राजेन्द्र शाक्य हुन् । उनी गुण सिनेमा, जीजी टावर, गुण कोलोनी, गुण कोअपरेटिभ, गुण ज्वेलर्स, किस्ट मेडिकल कलेज, मेवा खोला हाइड्रो, मासिफ होटललगायत डेढ दर्जन कम्पनीका सञ्चालक पनि हुन् ।

प्रकाशित : भाद्र २९, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

वैकल्पिक पार्टीको तिर्सना

राजनीति (पार्टी) निर्माण आफैंमा युगीन प्रयत्न हो । लहडमा स्थापना गरिएका पार्टीहरू सानोतिनो आँधीमा डगमगाउनु स्वाभाविक हुन्छ । किनभने मनोगत चिन्तन र आग्रहले मात्र राजनीतिक पार्टी बन्दैन ।
केशव दाहाल

प्रारम्भमानव सभ्यता अनेकौं रुमानी सपनाहरूको जगमा उभिएको पर्वत शृंखला हो । तर सपनाहरूको विशेषता के भने, त्यो समयसँग अविभाज्य हुन्छ । राजनीति त्यही समय र सपनाको उच्चतम अभिव्यक्ति हो । यसरी हेर्दा प्रत्येक राजनीति कुनै न कुनै कालखण्डको विशिष्ट सपना हो ।

त्यसका लागि गरिने संघर्ष हो । बृहत्तर अभियान हो । नेतृत्व हो । मुख्य कुरा, मान्छेका सपनाहरू फेरिँदै जान्छन् र समयको चालसँगै अगाडि बढिरहन्छन्, राजनीति त्यो बदलावलाई देख्ने र नेतृत्व गर्ने गतिशील प्रयत्न हो । जब नयाँ युगका सपनाहरू पूरा गर्न परम्परागत राजनीतिले सक्दैन तब नयाँ राजनीति चाहिन्छ । त्यही नै वैकल्पिक राजनीति हो ।

बीसौं शताब्दीमा मान्छेले देखेका मुख्य सपनाहरू थिए— लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, उदारवाद र समाजवाद । यिनै सपनाहरूले संसारभर शताब्दी रजगज गरे । यसैका वरिपरि राजनीतिले चक्कर मार्‍यो । अनेक युद्ध भए र लाखौं मान्छे मारिए । यिनैमाथि कविता र कथाहरू लेखिए । चलचित्र बने । पछिल्लो शताब्दीमा संसार यिनै विचारहरूको वरिपरि ध्रुवीकृत भयो ।

निश्चय नै, बीसौं शताब्दीमा औद्योगिक क्रान्तिले उडान मार्‍यो । युरोप र अमेरिका युद्धबाट निस्किए र समृद्धिको शिखर चुमे । तर अफ्रिका र एसियाका अनेकौं देश गरिबीबाट उम्कन सकेनन् । हुने र नहुनेबीचको खाडल चर्को बन्दै गयो । संसारका दस जना धनीका हातमा असीमित स्रोत जम्मा भयो । तर दैनिक करोडौं मान्छे भोकै रहे । अवश्य नै उत्पादन बढ्यो, तर न्यायपूर्ण वितरण भएन । एकातिर लोकतन्त्रले महिला, दलित, सीमान्त समुदाय र अल्पसंख्यकहरूलाई भनेजस्तो न्याय दिन सकेनÙ अर्कातिर समाजवाद सर्वसत्तावादमा फेरियो । भ्रष्टाचार बढ्यो । वातावरण विनाश र कार्बन उत्सर्जन तीव्र भयो । र, जनताको मत शासकहरूको शक्ति आर्जन गर्ने साधन बन्यो । मुख्यतः तेस्रो विश्वका सरकारहरू जनताप्रति उत्तरदायी भएनन् ।

सन् १९९० सँगै सोभियत संघ र पूर्वी युरोपका कम्युनिस्ट सत्ताहरू ढले । साथै, पुँजीवादी लोकतन्त्रमाथि पनि जनताको असन्तुष्टि बढ्दै गयो । त्यसैले परम्परागत लोकतन्त्र र समाजवादका विकल्पहरू खोज्न थालियो । बहसहरू सुरु भए । जस्तो, फ्रान्सिस फुकोयामाले भने— ‘इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट मेन’ (१९९२) । ज्याक डेरिडा (सन् १९३०–२००४) ले उत्तरआधुनिक दर्शनको कुरा गर्दै भने— विनिर्माण । हर्बर्ट मार्खेज (सन् १८९८–१९७९) ले केही अगाडि नै परम्परागत वामपन्थमाथि आलोचना गर्दै भने— ‘न्यु लेफ्ट’ । थोमस पिकेटीले ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरी’ (२०१३) प्रकाशित गर्दै सम्पत्तिको असमान वितरणले आर्थिक–सामाजिक अस्थिरता पैदा गर्नेतर्फ पुँजीवादी देशहरूको ध्यानाकृष्ट गरे । उदार पुँजीवादले आफ्ना नीतिहरूको समीक्षा गर्दै भन्यो— समावेशीकरण, सुशासन र सामाजिक सुरक्षा । सर्वत्र राज्यको भूमिकामाथि पुनर्विचारको माग बढ्यो । लोकतन्त्रलाई अल्पमत र बहुमतको संघर्ष नभई सामाजिक न्यायको विषय बनाइयो । प्रत्यक्ष लोकतन्त्रको बहस सुरु भयो । यसरी, अनेक आयाममा नवीनताको खोजी गर्दै मानवसभ्यता एक्काइसौं शताब्दीमा आइपुग्यो ।

नयाँ शताब्दी समावेशीकरण, सुशासन, सामाजिक न्याय र सम्पूर्ण समृद्धिका सपनाहरू लिएर आयो । मुद्दाहरू नयाँ थिए, जसको नेतृत्व गर्न नयाँ राजनीति आवश्यक भयो । यो पृष्ठभूमि नै वैकल्पिक राजनीतिको वस्तुगत आधार हो । अतः आज हामी जहाँ उभिएका छौं, त्यो विन्दुबाट इतिहास, समय चेतना र भविष्यलाई हेर्ने एक प्रयत्न हो— वैकल्पिक राजनीति ।

नेपाली सन्दर्भ

नेपालमा झन्डै ७५ वर्षअगाडि कम्युनिस्ट र कांग्रेस पार्टीहरू गठन भए । यी पार्टीहरू त्यसै फुत्त प्रकट भएका थिएनन्, बरु पछिल्लो शताब्दीमा संसारभर चलेका राजनीतिक आन्दोलनहरूको जगमा निर्माण भएका थिए । परिणामतः कांग्रेस र कम्युनिस्टहरूले लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिए । लोकतन्त्र अर्थात् पञ्चायतविरुद्धको आन्दोलन । पूर्ण लोकतन्त्र अर्थात् गणतन्त्रको आन्दोलन । यो आन्दोलन सफलता र असफलताको चाकाचुली खेल्दै अगाडि बढ्दै गयो । आन्दोलनकारीहरूले कहिले सरकार र कहिले सडकमा नेतृत्व गर्दै आए । २०६३ सालको आन्दोलनले परिवर्तनको अन्तिम कुइनेटो पार गर्‍यो । संघीय, लोकतान्त्रिक गणतन्त्र आयो । तर आन्दोलन सफल भए पनि नागरिकमा पुराना दलहरूप्रतिको संशय उस्तै रह्यो । यहीँबाट पुरानो राजनीति धरमराउन थाल्यो र नयाँ सम्भावनाको आधार बन्दै गयो ।

प्रत्येक युगको वैकल्पिक राजनीति (पार्टी) अलग हुन्छ । तर, वैकल्पिक राजनीतिको सम्भावना कहिल्यै मर्दैन । कुनै बेला कांग्रेस र कम्युनिस्टहरू वैकल्पिक थिए । राणा, पञ्चायत र राजतन्त्रको युगमा लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिको कुरा गर्नु निश्चय नै वैकल्पिक विषय थियो । २०७२ को सविधानसँगै कांग्रेस र कम्युनिस्टहरूले देखेका सपनाहरू पूरा भए । ७० वर्ष लामो राजनीतिक आन्दोलन सकियो । समय फेरियो । फेरिएको समयले नयाँ मुद्दाहरू उजागर गर्‍यो । अर्थात्, राजनीतिक उपलब्धिहरूलाई मान्छेको जीवनमा जोड्न आवश्यक भयो । नयाँ कार्यभारहरू थिए— आर्थिक–सामाजिक न्याय, सुशासन, समृद्धि र सम्पूर्ण स्वतन्त्रता । अर्थात्, पूर्ण बदलाव । यथावस्था नयाँ कार्यभारहरू पूरा गर्न पुराना पार्टीहरूको राजनीतिक क्षमताले पुग्दैनथ्यो, जुन २०४६ यता पटकपटक पुष्टि भएकै कुरा हो । ठीक यही विन्दुबाट नेपालमा वैकल्पिक राजनीतिको प्रयत्न सुरु भयो ।

अनुभव र शिक्षा

२०४६ सालको परिवर्तनसँगै देवेन्द्रराज पाण्डे, टंक कार्कीहरूले नयाँ राजनीतिको प्रस्ताव गरे । लोकदलको गठन भयो । यद्यपि त्यसैताका पूर्वपञ्चहरूले पनि नयाँ पार्टी खोले । वस्तुतः नयाँ पार्टी खोल्नु र नयाँ राजनीतिको प्रस्ताव गर्नु आफैंमा भिन्न कुरा थियो । तर २०४६ सालको जनआन्दोलन भर्खर सफल भएको थियो र कांग्रेस–कम्युनिस्टहरू परीक्षण हुन बाँकी नै थिए । त्यसैले डा. पाण्डेहरूले थालेको नयाँ प्रयत्नले आकार लिएन । वस्तुगत परिस्थिति तयार नभई मनोगत आग्रहबाट सुरु भएको लोकदल मात्र एउटा असल प्रयत्नमा सीमित भयो ।

२०६३ पछि नेपालमा वैकल्पिक राजनीतिको बहस अझ तीव्र भयो । त्यसैताका इटहरीमा वैकल्पिक विचार मञ्च बन्यो । काठमाडौंमा (स्वर्गीय) उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भयो । २०७२ तिर आइपुग्दा बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई आलोचना गर्दै नयाँ शक्तिको आवश्यकता प्रस्ताव गरे । रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यहरूले अर्को पाटोबाट वैकल्पिक राजनीतिको छलफल अगाडि बढाए ।

वैकल्पिक विचार मञ्चले वैकल्पिक राजनीतिको भाष्य, विचार र संरचनाको कुरा गर्‍यो । केही प्रकाशनहरू आए । तर मञ्च आफैं राजनीतिक संगठनमा रूपान्तरित भएन । त्यसको सीमा के भने, विचारलाई व्यावहारिक राजनीतिमा रूपान्तरित गर्ने सामर्थ्य मञ्चसँग थिएन । यता भट्टराईले सुरु गरेको नयाँ राजनीतिक अभियान प्रचारात्मक हिसाबले निकै सशक्त थियो । तर त्यसको संगठनात्मक पक्षमा अनेकौं कमजोरी देखा परे । मुख्यतः नयाँ शक्तिले वैकल्पिक राजनीतिको गम्भीरतालाई समाउनै सकेन । संगठनहरू भद्दा हुँदै गए । सदस्यहरूमा पदको आकांक्षा बढ्दै गयो । नेताहरू भिन्न विचारप्रति उदार देखिएनन् । वस्तुतः माओवादी पृष्ठभूमिमा हुर्किएको वैचारिक जडताले आफूलाई नयाँ लयमा ढाल्नै सकेन । सबैका एकअर्काप्रति असन्तुष्टि र अविश्वास थिए, तर समाधान थिएन । परिणामतः पार्टी छोड्ने क्रम तीव्र भयो । यस्तो भयो कि, फरकफरक पृष्ठभूमिबाट आएका मान्छेहरू वैकल्पिक राजनीतिको मूल प्रवाहमा एकाकार हुनै सकेनन् । नयाँ शक्ति पार्टी नभई मोर्चा बन्यो र सकियो ।

निश्चय नै, विवेकशीलहरूमा नयाँ गर्ने हुटहुटी थियो । तर संस्थागत वैचारिकी थिएन । ढाका टोपी र झन्डासँगै राष्ट्रिय गीत गाउँदै सडकमा निस्किने त्यो युवा अभियानले विश्वराजनीतिको पछिल्लो प्रवृत्ति र वैचारिक बदलावको आवश्यकतामा धेरै ध्यान दिएन । अवश्य नै त्यो समूहसँग राजनीति सुसंस्कृत हुनुपर्छ भन्ने पवित्र भावना थियो, अभियानहरू रचनात्मक थिए, तर वैचारिक तथा संगठनात्मक हस्तक्षेप गर्ने तागत थिएन । अर्कातिर, साझा पार्टीमा लोकप्रियताको जग थियो, तर राजनीतिक पक्षधरता थिएन । पार्टीलाई सबैको प्रिय बनाउने गैरराजनीतिक चिन्तन साझाको मुख्य समस्या रह्यो । परिणामतः पार्टीको राजनीतिक परिचय स्थापित भएन । उल्टो पार्टी सस्तो लोकप्रियतामा फस्दै गयो । र, थाहै नपाई यो मधेस, महिला, जनजाति, दलित र सीमान्त समुदायका मुद्दाहरूमा निरपेक्ष देखिन थाल्यो । विकासलाई राजनीतिक आँखाले नहेर्नु यो पार्टीको कमजोरी बन्यो । अवश्य नै, अहिले विवेकशील साझा पार्टी वैकल्पिक राजनीतिको मूलधार बनेको छ । यद्यपि यो पार्टीभित्र वैचारिक गन्तव्यको विवाद अझै सुल्झिएको छैन । यो विवादको समाधन कस्तो हुन्छ, त्यसैबाट यसको भविष्य निर्धारण हुनेछ ।

जग र छानोको सन्तुलन

विवेकशील साझाभित्र चलेको पछिल्लो बहसले फेरि एउटा प्रश्न उजागर गरेको छ । के नेपालमा वैकल्पिक राजनीतिको सम्भावना सकियो ? समय, समाज, समाजका सपना र त्यसभित्र निहित गतिशीलतामाथि विश्वास गर्ने हो भने वैकल्पिक राजनीतिको सम्भावना कहिल्यै मर्दैन । यो लड्दै, उठ्दै र आफ्नो बाटो आफैं बनाउँदै अगाडि बढिरहन्छ । मुख्य कुरा अनुभवहरूलाई संश्लेषण गर्ने, आफूले हिँडेको बाटोलाई फर्किएर हेर्ने, कमजोरीहरू सुधार्ने र अगाडि बढ्ने लचक त्यसमा हुनुपर्छ । नेपालमा पछिल्लो समय भएका वैकल्पिक राजनीतिका सबै अनुभवको स्वामित्व लिँदै त्यसलाई एकीकृत गर्न सके वैकल्पिक राजनीति अनिवार्य छ ।

त्यो अनुभव के हो ? वैकल्पिक राजनीतिका पछिल्ला प्रयत्नहरूलाई विचार गर्दा त्यसमा केही साझा परिदृश्यहरू देखिन्छन् । जस्तो, राजनीतिको जग र छानो निर्माणको असन्तुलन । अर्थात्, सबैले राजनीतिक आधारमा भन्दा उपरि–संरचनामा जोड दिएको देखिन्छ । जस्तो, पहिले मान्छेहरू जोडेर केन्द्रीय समिति बनाउने तर राजनीतिको विचार पक्षलाई प्राथमिकता नदिने । जग नमिलाई, पिल्लर नउठाई र बिमले नकसी हालिएको छानो कसरी बलियो हुन्छ ? यहीँनेर प्रश्न स्वाभाविक हुन्छ— राजनीतिको जग के हो ? जग विचार हो । जग मुद्दाहरू हुन् । जग वैकल्पिक राजनीतिको ऐतिहासिक औचित्यलाई स्थापित गर्ने आह्वान हो । मान्छेलाई अपिल गर्ने, जोड्ने र संगठित हुन उत्प्रेरित गर्ने आधारहरू नखोजी एकैपटक माथिल्ला संरचनाहरू बनाउनु पार्टी निर्माणको सुल्टो बाटो कदापि होइन ।

राजनीतिमा विचार गर्नुपर्ने अर्को महत्त्वपूर्ण विषय हो— उत्प्रेरणा । जस्तो, पार्टी निर्माणको उत्प्रेरणा व्यक्तिको लहड हो कि समय–चेतना ? अर्थात्, राजनीतिलाई भीडले उत्प्रेरित गर्छ कि समाजको वस्तुगत आवश्यकताले ? वैकल्पिक पार्टीहरू भीडबाट प्रेरित हुँदा सस्तो लोकप्रियतामा फस्ने खतरा सधैं रहन्छ । किनभने भीडले नेता खोज्दैन, सेलेब्रिटी खोज्छ । परिणामतः पार्टीमा विचार, प्रतिबद्धता, लगाव, राजनीतिक क्षमता र सुझबुझ गौण बन्छन् अनि व्यक्तिको लोकप्रियता प्रधान बन्न पुग्छ । त्यसपछि के हुन्छ ? संगठनहरू फ्यान क्लब बन्छन् । भन्न पर्दैन कि, फ्यान क्लब र दलमा फरक हुन्छ । फ्यान क्लबमा फ्यानहरू हुन्छन्, तर त्यहाँ राजनीतिक सुझबुझ, समालोचना, संकल्प र प्रतिबद्धता हुँदैन । अनेक तथ्यले भन्छन्— भीडबाट सुसंस्कृत, नयाँ र उन्नत राजनीति किमार्थ बन्दैन ।

राजनीतिक दलहरू उभिने आफ्नै आधारहरू हुन्छन् । राप्रपा, कांग्रेस र कम्युनिस्टहरूका आआफ्नै परम्परागत आधार थिए र छन् । अतः पुरानै राजनीतिक आधारमा उभिएर कसैले नयाँ पार्टी बनाउँछ भने त्यो वैकल्पिक पार्टी हुँदैन । त्यो नयाँ पार्टी मात्र हुन्छ । जस्तो, कुनै पनी मार्क्सवादी पार्टी वैकल्पिक हुँदैन । कुनै पनी माओवादी पार्टी वैकल्पिक हुँदैन । परम्परागत लोकतन्त्रको कुरा गर्ने पार्टी वैकल्पिक हुँदैन । वंशवाद, धर्म वा जातको राजनीति गर्ने पार्टी वैकल्पिक हुँदैन । सबै नयाँ पार्टी वैकल्पिक हुँदैनन् । तर सबै वैकल्पिक पार्टीहरू नयाँ हुन्छन् । वैकल्पिक राजनीति (पार्टी) एक उन्नत, सुसंस्कृत र ताजा राजनीति हो । यसका लागि दह्रो, एकताबद्ध र सुझबुझपूर्ण प्रयत्न आवश्यक देखिन्छ । अन्यथा वैकल्पिक राजनीति भ्रम हुनेछ । र, भ्रमले युगको नेतृत्व गर्न सक्दैन ।

राजनीति (पार्टी) निर्माण आफैंमा एक युगीन प्रयत्न हो । लहडमा स्थापना गरिएका पार्टीहरू सानोतिनो आँधीमा डगमगाउनु स्वाभाविक हुन्छ । किनभने मनोगत चिन्तन र आग्रहले मात्र राजनीतिक पार्टी बन्दैन । आजसम्म वैकल्पिक राजनीतिले आर्जन गरेको सबैभन्दा बलियो अनुभव र शिक्षा यही हो । निश्चय नै, वैकल्पिक राजनीति सम्भव छ । यो मर्दैन । तर त्यसलाई नयाँ विचार, नयाँ मुद्दा, नयाँ ढाँचा र नयाँ संस्कृतिले सुसज्जित गर्नुपर्छ । अन्यथा पुरानै जगमा माटो थुपारेर नयाँ घर कसरी बन्छ ?

dahal.keshab@gmail.com

प्रकाशित : भाद्र २९, २०७८ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×